
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका क्रममा देशको अहित हुनेगरी कुनै सम्झौता नगर्न सुझाव दिएको छ। सिंहदरबारमा आइतबार दिउँसो पूर्वप्रधानमन्त्री र दलका नेताहरूसँग प्रधानमन्त्रीले गरेको छलफलमा सीमा विवाददेखि, निर्यात खुलाउने विषयमा सुझाव दिइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
भारत भ्रमणको क्रममा कालापानी, लिपुलेकसहित नेपालको भूमि फिर्ता गर्ने, पञ्चेश्वर सिंचाई आयोजना, नेपालको व्यापार घाटा लगायतका विषयमा गम्भीर छलफल गर्न सुझाव दिएको ज्ञवालीको भनाइ छ। ‘नेपाललाई अहित हुनेगरी कुनै सम्झौता नगर्न भनेका छौँ,’ ज्ञवालीले भने, ‘नेपालको राष्ट्रिय हितमा दृढतापूर्वक उभिँदा प्रमुख प्रतिपक्षी दलको हिसाबमा हाम्रो समर्थन रहन्छ। अन्य कुरामा पक्ष विपक्ष होलान, तर बाह्य सम्बन्ध र परराष्ट्र नीतिमा सबै दलहरु एक ठाउँमा उभिनुपर्छ।’
भारतको कारण इपीजी प्रतिवेदन बुझ्ने काम नभएको भन्दै प्रधानमन्त्रीले त्यसमा विशेष जोड दिनुपर्ने एमालेको भनाइ छ। त्यस्तै ऐतिहासिक तथ्य, प्रमाण सबै कुराहरूले लिपुलेक, कालापानी, लिम्पियाधुरासहितका भूभाग नेपालका हुन भन्ने प्रष्ट भएकोले यी भूभागलाई नेपालले प्रयोग गर्न पाउनुपर्ने गरी टुंग्याउन पनि एमालेले सुझाव दिएको छ।
नेपाल-भारत वाणिज्य सन्धीको पुनरावलोकन गरी नेपालका चिया, अलैँची, तरकारीलगायतका वस्तुको निर्वाध प्रवेशका लागि वातावरण बनाउने बारे कुरा गर्न पनि एमालेले भनेको छ। पञ्चेश्वरको पानीको बाँडफाडको विषय अहिलेसम्म नटुंगिएकोले महाकालीको आधा पानीमा नेपालको हक लाग्ने कुराको सुनिश्चित गरेर मात्र यो विषय टुंग्याउन एमालेले प्रधानमन्त्रीलाई सुझाव दिएको छ।
त्यस्तै भारतले लामो समयदेखि होल्ड गरेर राखेको अपर कर्णाली, पश्चिम सेतीलगायत भारतलाई दिने भनिएकोमा होल्ड भएकोले नेपालले लाभ लिने गरी अघि बढाउने विषयमा चासो दिन पनि एमालेले प्रधानमन्त्रीलाई सुझाव दिएको ज्ञवादीको भनाइ छ।