‘धोनी जादुगर हुन्, रद्दीलाई धन बनाउन सक्छन्’

हिमाल प्रेस १३ जेठ २०८० ९:२०
10
SHARES
‘धोनी जादुगर हुन्, रद्दीलाई धन बनाउन सक्छन्’

काठमाडौँ- अस्ट्रेलियाका पूर्वब्याट्सम्यान म्याथ्यु हेयडनले महेन्द्र सिंह धोनीले अर्को वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) नखेले पनि उनको विरासतमा केही फरक नपर्ने विचार राखेका छन्। धोनीकै रणनीतिक क्षमताका कारण चेन्नाई सुपर किंग्स यसपालि फाइनलमा पुग्न सकेको पनि हेयडनको भनाइ छ।

चेन्नाईले १० औँ पटक आईपीएलको फाइनलमा स्थान बनाएको हो। अरु बलिया टिमको तुलनामा कमजोर बलिङ रहे पनि त्यसले चेन्नाईलाई रोक्न सकेन। जसरी धोनीले अजिन्क्या रहाने र शिवम दुबेलाई ब्याटिङमा प्रयोग गरेका छन्, यसकोे पनि सर्वत्र तारिफ भएको छ।

घुँडाको चोट सहेर यो सिजनको आईपीएल खेलिरहेका धोनी खेलाडीका रुपमा अर्को वर्ष मैदान फर्कन्छन् कि फर्कदैनन् भन्ने सबैको चासो छ। हेयडनकाे अनुमानमा भने धोनी अन्तिम पटक आईपीएल खेलिरहेका छन्।

‘एमएस धोनी त जादुगर हुन्। अरु कसैले फ्याँकेको रद्दीलाई धन बनाउन सक्छन्। उनको क्षमताको व्याख्यागरि साध्य छैन। उनी सकारात्मक सोच भएका कप्तान हुन्। उनकै कारण चेन्नाई सुपर किंग्स र तामिलनाडु क्रिकेट संघबीच न्यानो सम्बन्ध बन्न सकेको छ। उनले लामो समय भारतीय टिमलाई नेतृत्व दिए। अब उनी चेन्नाईमा त्यही किसिमको भूमिका निर्वाह गरिरहेका छन्,’ हेयडनले भनेका छन्।

अस्ट्रेलियाको ‘युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी’ ले आयोजना गरेको एक कार्यक्रममा हेयडनले धोनी, आईपीएल र भारतीय क्रिकेटमाथि टिप्पणी गरेका हुन्। ‘उनी अर्को वर्ष खेल्छन् कि खेल्दैनन् भन्ने प्रश्न अहिलेका लागि महत्त्वपूर्ण होइन। व्यक्तिगत रुपमा मलाई लाग्छ, उनी खेल्ने छैनन्। तर उनी एमएस धोनी हुन्, खेलिहाले के अचम्म होला र?’ हेयडनको भनाइ थियो।

विश्व क्रिकेटमा टि-२० को उदयसँगै खेलाडीहरूलाई तीनवटै ढाँचा (टि-२०, एकदिवसीय र टेस्ट) मा खेल्न कठिन भइरहेको छ। हेयडनको विचारमा टि-२० का कारण खेलाडीलाई सबै ढाँचाका क्रिकेट खेल्न अप्ठ्यारो मात्र भएको छैन, ५० ओभरको अस्तित्व नै संकटमा पर्ने देखिएको छ।

‘एक खेलाडीले सबै ढाँचाका क्रिकेट खेल्ने चलन अब अन्त्य हुँदैछ। यति मात्र होइन, म त ५० ओभरको भविष्य नै खतरामा परेको देख्छु। टि-२० को लोकप्रियता बढ्दो छ। टेस्ट क्रिकेटप्रतिको मोह भने घटेको छैन। विश्व टेस्ट च्याम्पियनसिप यसको उदाहरण हो। टस्टबाहेक सबैभन्दा धेरै खेलिने त टि-२० नै हो,’ हेयडनले भने।

अचेल विश्वभरका फरक फरक टि-२० लिग खेल्न राष्ट्रिय टिमको सम्झौता त्याग्ने खेलाडीको संख्या पनि बढ्दो छ। यो मामलामा खेलाडीलाई दोष दिन नमिल्ने ५१ वर्षीय हेयडनको भनाइ छ। ‘यो चलन त भोलि झनै बढ्छ। जहाँ बढी आम्दानी हुन्छ, त्यहाँ खेलाडी पुग्छन् नै। यो क्रमलाई रोक्न सकिँदैन। आर्थिक रुपमा पछि परेको समुदायबाट आएका खेलाडी बढीभन्दा बढी टि-२० फ्रेन्चाइज लिग खेल्न चाहन्छन्। उदाहरणका लागि, वेस्ट इन्डिजबाट आउने खेलाडी। उनीहरू शारीरिक रुपमा यति बलियो छन् कि, क्रिकेटबाहेकका खेलमा पनि उनीहरू उत्तिकै सशक्त हुन सक्छन्, भइरहेका पनि छन्,’ ५० ओभरको क्रिकेटमाथि हेयडनको टिप्पणी थियो।

‘के निकोलस पुरन टेस्ट खेल्न उत्साहित हुन्छन्? उनीअघि डायने ब्राभोले केही समय टेस्ट खेले। तर उनले बढी समय फ्रेन्चाइज लिगलाई दिए। यस्तो उदाहरण त कति छन् कति। अस्ट्रेलियामै हेरौँ न। के डेभिड वारनर टेस्टमा केन्द्रित होलान्? कि बाँकी करियर टि-२० मा व्यतित गर्लान्? जता बढी आम्दानी भयो, खेलाडी त्यता लाग्दा आलोचना गर्नु पर्दैन। यो त क्रिकेटमा आएको परिवर्तन हो। यसलाई आत्मसात गर्नुपर्छ,’ ५१ वर्षीय हेयडनले थपे।

भारतीय समाचार एजेन्सी पीटीआईको सहयोगमा

प्रकाशित: १३ जेठ २०८० ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =