दक्षिणमा फूलचोकी र उत्तरमा शिवपुरी उपत्यकावासीले बिहान उठ्नेबित्तिकै दर्शन गर्ने गरेका शैलपुरी हुन्। काठमाडौँ उपत्यकालाई चार शिखर उत्तरपश्चिममा जामाचो, दक्षिण पश्चिममा चन्द्रागिरी, दक्षिणमा फूलचोकी र उत्तरमा शिवपुरी। जामाचोर चन्द्रागिरी २५०० मिटरको हाराहारी अग्ला छन् भने शिवपुरी र फूलचोकी २७०० मिटरभन्दा पनि अग्ला। शिवपुरीको उचाइ २७३२ मिटर रहेको छ।
शिवपुरी जलाधार क्षेत्र काठमाडौँ उपत्यकाको जीवन आधार हो। यही जलाधार क्षेत्रबाट नागमती, बागमती, विष्णुमती, रुद्रमतीजस्ता नदीको उत्पत्ति भएका छन्। अरू सानासाना धोबीखोलालगायत खोल्साखोलसीको त कुरै भएन। काठमाडौँ उपत्यकाबाट दक्षिणधारमात्र देखिँदा संरक्षित क्षेत्र त्यति ठूलो देखिँदैन। तर उत्तरतर्फको भूभागमा घना जंगलले ढाकेको छ। शिवपुरीको शिरमा पुगेर हेर्दा यसको विशालताले आनन्दित तुल्याउँछ। नेपाल सरकारले यसलाई संरक्षित क्षेत्र घोषणा गरेको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत व्यवस्थापन गर्दै आएको छ। यसको संरक्षणको जिम्मा नेपाली सैनिकलाई दिइएको छ।
१४४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले काठमाडौँ, धादिङ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भूभाग समेटेको छ। यसको धेरैजसो क्षेत्र नुवाकोटतर्फ परेको देखिन्छ। शिवपुरीको शिखरमा पुगेर हेर्दा यसको विशालता अनुमान लगाउन सकिन्छ।
हिउँदमा फूलचोकी र शिवपुरीको शिरमा हिउँ परेको मोहनी लगाउने दृश्य उपत्यकावासी घरघरमा बसेर हेर्दछौँ। चुचुरोमा नै पुगेर हिउँसँग खेल्न पाए भन्ने पनि लाग्दो हो धेरैलाई। मनमोहक प्राकृतिक दृश्यले लोभिएर फुर्सदमा नारायणथानबाट माथि लाग्दै नागी गुम्बा पुगेर फर्किनेहरू पनि धेरै छन्।
१५ वर्षअघि बागद्वार जाँदाको घटना सम्झिएँ। त्यतिबेला श्रीमती र छोरोसँग नागी गुम्बा हुँदै बागद्वार जाने योजना बनाएको थिएँ। नागी गुम्बाको भ्रमणपछि जंगलको बाटो उकालो लाग्यौँ। घनघोर जंगलको बीचमा बाटोको दुवैतर्फ बँदेलले खनेर छोडेको खाल्टा देखेर हामी डरायौँ र अघि जान सकेनौँ। हातमा लौरो पनि थिएन। त्यही भेटिएको रूखको सानो हाँगोलाई बाबुछोराले समायौँ। केही परिआए त्यही लौरोको भरमा प्रतिकार गर्ने हिम्मत गरेर फर्कियौँ। फर्किँदै गर्दा नागी गुम्बाभन्दा अलि तल झरेपछि साँझ पर्यो। श्रीमती हिँड्न सकिनन्। जसोतसो फेदीसम्म आएपछि बाबुछोराले दुईतिर काँध दिएर नारायणथानसम्म ल्यायौँ। हाम्रो पदयात्रा यहीँ सकिएको थियो। यसर्थ शिवपुरी सधैँ एउटा अधुरो र अपूर्ण चुनौतीका रूपमा रहिरहेको थियो मेरा लागि।
यसै पनि शिवपुरी शिखरसम्मको पदयात्रा कठिनतम् पदयात्राको श्रेणीमा पर्छ। नेपाली सेनाले ढुंगा छापेर बाटो बनाएको छ। पदयात्री जताबाट गए पनि हुन्छ। शिवपुरीको शिखरमा पुगेर फर्कन विभिन्न पदमार्ग छन्। मूलतः तीनवटा पदमार्ग बढी प्रयाग हुन्छन्। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सैनिक चेकपोस्टमा पुगेपछि एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ। अनि पास लिनुपर्छ। ज्येष्ठ नागरिकले भने शुल्क तिर्नुपर्दैन।
निकुञ्जभित्र छिरेपछि सैनिकले पदयात्रीको झोला खानतलासी गर्छन्। प्रज्वलनशील पदार्थ, लाइटर, सलाईजस्ता वस्तु साथ लिएर जान वर्जित छ। त्यसैगरी ठूलो आवाज आउने साउन्डबक्स, म्युजिक सेट पनि लिएर जान मिल्दैन। यी सबै प्रक्रिया पूरा गरेपछि पानीमुहान हुँदै वा हेलिप्याड हुँदै वा नागी गुम्बा हुँदै शिवपुरीको शिरमा जान सकिन्छ। डाँडागाउँ, भञ्ज्याङ हुँदै पनि शिवपुरी जाने बाटो छ। हामीले चेकपोस्टभन्दा केही माथिबाट सिँढी चढ्दै जाने बाटो लियौँ।
यो पदयात्राका लागि निकै प्रसिद्ध ठाउँ हो। प्रकृतिसँगको निकटता, आध्यात्मिक एकाग्रता र अध्येताका लागि समेत शिवपुरी आकर्षणको केन्द्र रहिआएको छ।
सहज बाटो भएकाले त्यहाँ साइक्लिङ गर्ने युवा पनि त्यस्तै देखिन्छन्। गुटुङटुङ माउन्टेन बाइक कुदाएर आएका युवासँग हाम्रा पनि जम्काभेट भयो। हामी असिनपसिन भएर स्याँस्याँ गर्दै उकालो चढ्दै गर्दा ती युवा शिखर पुगेर फर्कँदै थिए। कोही हाम्रो पछि पनि हिँडिरहेका थिए। सार्वजनिक बिदाको दिन शिवपुरी प्रकृतिप्रेमीलाई स्वागत गर्न व्यस्त रहने गर्छ।
पानीमुहानबाट उकालो लाग्यौँ ढुंगाका सिँढी चढ्दै। दुरान्तरको प्रभावले हुनुपर्छ यात्राको सुरुमा नजिकै देखिएको चुचुरो झन्झन् पर देखिँदै थियो। भुइँमान्छेले हेर्ने क्षितिजमा देखिने प्रकाश न हो। त्यही प्रकाशको किरणलाई हेरेर गति, दूरी र प्रभाव नापिने न हो। रूखका छिद्रछिद्रबाट चुहिएका प्रकाशका किरण हेरेर र खुला आकाशको नील प्रभाव हेरेर अनुमान लगायो अब शिखर टाढा छैन भन्यो एउटा थुम्कोपछि अर्को थपिन्छ यात्रुको परीक्षा लिन। गनिएन। गनीसाध्य पनि थिएन। कतिवटा भर्याङ पार गरिए। जीवनमा हरेक दिनपार गरेजसरी नै सिँढी पार गरिए। एकपछि अर्को।
समूहमा भएको हुँदा हिंस्रक जनावरबाट हुने आक्रमणको भय थिएन। भय थियो त समूहबाट छुट्टिएर पछाडि परिएला। एक्लो परिएला भन्ने। एक्लो हुनुको पीडा पनि असह्य पो हुन्छ। असुरक्षित हुने भयबाट। समूहबाट एक्लिनु भनेको अनपेक्षित समस्यालाई आमन्त्रण दिनु हो। ‘यो जंगलमा चितुवा लाग्छ’ यत्ति सूचना पनि यथेष्ट हुन्छ मानिसलाई भयभीत बनाउन।
पदयात्री समूहको लस्कर लामै थियो। यहाँ पनि ‘छापडाँडा’ रहेछ। सूचनापाटीमा देखियो। उता चन्द्रगिरीमा पनि देखिएको थियो छापडाँडा, यता भञ्ज्याङमा पनि रहेछ छापडाँडा। जतिखेर यातायातका साधन थिएन, मान्छेहरू हिँडेर उपत्यका पुग्थे। यिनै भञ्ज्याङमा छाप लगाएर प्रवेशाज्ञा लिनुपर्ने रहेछ भन्ने जान्न धेरै बुद्धि लगाउन परेन। स्थानविशेषको नाम कर्मविशेषले लगाउने रहेछ, ‘छापडाँडा’ अर्थात् छाप लगाउने ठाउँ।
हिँड्दै अगाडि बढ्दै जाँदा २६८० मिटरको उचाइमा विशाल ढुंगा देखिए। त्यसमध्येको एउटा ढुंगामा ‘कामधेनु गाई शिला’ लेखिएको थियो। अर्को विशाल शिलामा त्रिशूल राखेर सतरुदेश्वर महादेवको पूजा गरिएको छ।
शिवपुरीको शिर आइपुग्यो। सानो चौकुनो मिलेको चौर रहेछ। चौरको पूर्वी किनारमा शिवपुरी बाबाको सालिकलाई चारैतिर तारबारले घेरेर व्यवस्थित गरी राखिएको छ। यी अन्तध्र्यानी बाबाका नामबाट यो शिखरको नाम शिवपुरी रहन गएको होइन। शिवपुरीमा आएर कुटी बनाई कैयौँ वर्षसम्म ध्यान गरेका यी बाबाको असली नाम गोविन्दनन्द भारती हो। यिनको जन्म सन् १८२६ र समाधि १९६३ मा भएको हो। यस हिसाबले यिनको आयु १३७ वर्ष रह्यो। यिनको आध्यात्मिक साधनाको शिक्षा जीवनको तीन मूलभूत तत्त्व प्राकृतिक, नैतिक र अध्यात्मिकसँग सादृश्य राख्दछ। स्वधर्मलाई महत्त्व दिँदै मानिसले आफ्नो नित्यकर्म स्वधर्म निर्देशित हुनुपर्छ भन्ने यिनको मान्यता हो।
भन्न त भनिन्छ शिवपुरीको शिखरबाट गणेश हिमाल, लाङटाङ, लिरुङ, गञ्जला, दोर्जेलाक्वपा, आमायाङ्ग्री, गौरीशंकरलगायत हिमाल देख्न सकिन्छ। तर हामी पुग्दा तुवाँलोले ढाकेको हुँदा हिमालको दृश्य हेरेर आनन्दित हुन पाएनौँ।
त्यहाँ केही बेर बसेर हामी ओरालो लाग्यौँ। देउरालीमा ढुंगा चढाउने हामी नेपालीको संस्कार हो। एउटा ठाउँमा कलात्मक तरिकाले ढुंगालाई मिलाएर शिखर शैलीमा राखिएको देखियो। त्यो देखेर समूहमा रहेका एक ज्येष्ठ नागरिकले भन्नुभयो, ‘यी त भगवान् बुद्धलाई चढाइएका ढुंगा हुन्।’
हिँड्दा टोड्के बाबाको ध्यान गरेको ठाउँ आएछ। टोड्को परेको विशाल वृक्षको त्यही प्वालमा बसेर कुनै सन्न्यासीले ध्यान गरेको हुनुपर्छ। अनुमान यस्तै रह्यो। ध्यानस्थ सबै बाबा प्रसिद्धको शिखर चढ्न सक्दैनन्। सिर्फ टोड्के बाबा भएर अनाम मर्दछन्। यो प्राकृतिक नियम नै हो कि जतिसुकै गृहत्यागी सन्न्यासी भए पनि भोक लागि हाल्छ, घामपानीबाट बच्न छहारी चाहिन्छनै। नांगै हिँड्छु भन्दा पनि कौपिन र हातमा कमण्डलु बोक्नैपर्छ। मानिस भौतिक तत्त्वबाट विमुख हुन सक्दैन, जीवनको शाश्वत सत्य यही नै हो।
ओरालो झर्दै गर्दा दुईवटा घर देखिए। यहाँ साधुसन्त बस्ने रहेछन्। यो ठाउँलाई बागद्वार नृसिंह तीर्थ भनिन्छ। नजिकैको खुला चौरमा पुरानो शिवलिंग रहेछ। त्यसको दर्शन गरेर केही तल झर्नेबित्तिकै बागद्वार देखिन्छ। बागमतीको पानीको मुहान हो बागद्वार। यो २४९० मिटरको उचाइमा छ। चट्टानको बीचबाट पानीको धारो निस्किन्छ। मुखमा बाघको आकृति बनाइएको छ। बागमती पवित्र तीर्थसमेत भएको हुँदा घरमा गरिने पवित्र कार्यमा चढाउन भनेर एक बोतल पानी भरियो।
शैल शिखरमा बाबा भोले शिव व्याघ्रचर्ममा ध्यानमा बस्ने र त्यही व्याघ्रचर्मको बाघको मुखबाट बागमती निस्कने हुँदा नदीको पवित्र मानिएको हो।
चट्टानको गर्भबाट फुत्त बाहिर निस्केको पानीको जलधारालाई बोतलमा भरेर ल्याइयो। चट्टानबाट बाहिर निस्केको केही मिटर परदेखि नै पवित्र बागमतीलाई फोहर बनाउने काम सुरु हुन्छ। देवाधिदेव महादेवको पशुपतिनाथसम्म आइपुग्दा बागमती दूषित र प्रदूषित भइसकेकी हुन्छिन्।
काठमाडौँलाई हामी बागमती सभ्यता भनेर पनि भन्दछौँ। तर बागमतीको अवस्था देख्दा विरक्त लाग्छ। बागमती सफाइ अभियान थालेको वर्षौँ भइसक्दा पनि कहिल्यै सफा हुँदैन। सहरवासीको मलमूत्र, सिनु, प्लास्टिकका बोतल सबै यही नदीमा विसर्जन गर्दा नदीले सास फेर्न पनि नसक्ने भइसकेकी छिन्। मान्छेका आनीबानी बागमती पनि दिक्क भइसकेकी होलिन्। एकातिर नदीलाई देवीका रूपमा पूजा गरिन्छ। अर्कोतिर फोहर फाल्ने ठाउँ बनाएका छौँ।
एक बोतल बागमतीको पानी झोलामा बोकेर हिँडेपछि ठूलो देउराली, सानो देउराली हुँदै नागी गुम्बा आइपुग्यौँ। नागी गुम्बालाई नाङ्की गुम्बा पनि भन्दा रहेछन्। नागी गुम्बालाई उत्तर पारेर हेर्दा तरेली परेको पहाडको हरियाली जंगल सुन्दर देखिन्छ। वातावरण शान्त। एक किसिमको आनन्दको अनुभूति हुने।
नागी गुम्बाबाट तल बाटोमा ओर्लेर पानीमुहानसम्म आउँदा एक गोलचक्कर पूरा भएछ। हिँडाइको हिसाबले १४ किलोमिटर पदयात्रा। सैनिक चेकपोस्टबाट पनि अझै तलसम्म हिँडेर बसमा चढ्दा अँध्यारो भइसकेको थियो। बिहान ९ बजे सुरु गरेको पदयात्रा साँझ ६ बजे पूरा भयो।
शिवपुरीको शिखर र बागद्वारसम्म सातआठ घण्टाको परिश्रमपूर्ण उकाली र ओराली सहज छैन। समुद्री सतहबाट १३५० मिटरको उचाइमा रहेको उपत्यकाबाट २७३२ मिटर उचाइमा रहेको शिवपुरीसम्मको पदयात्रा साहसिक पदयात्रामा गनिन्छ।
दैनिक नहिँडेका र शारीरिक अवस्था कमजोर भएकाहरूले त यो पदयात्राको रहर नगरे उत्तम हुन्छ। जंगलमा हिंस्रक जंगली जनावरसमेत हुने भएकाले बीचबाटोबाट फर्कन पनि कठिन हुन्छ। चितुवा, बँदेललगायत यो पार्कमा २४ प्रकारका हिंस्रक जनावर पाइने कुरा यसको आधिकारिक पेजमा उल्लेख गरिएको छ।
नागी गुम्बासम्मको पदयात्रा त्यति कठिन छैन। तर यहाँभन्दा माथि शिवपुरीको शिखरसम्म हिँड्न निकै परिश्रम पर्छ। पदयात्रामा अभ्यस्त भएकाको लागि भने यो पदयात्रा रोमाञ्चक र स्मरणीय हुनेछ। विभिन्न प्रजातिका वनस्पति र चरा हेर्न यो ठाउँ निकै उपयोगी छ। यहाँ १२५० किसिमका वनस्पति पाइन्छन्। शिवपुरीमा मात्र करिब ३२५ प्रजातिका चरा भएको आधिकारिक तथ्यांक निकुञ्जले प्रकाशित गरेको विवरणमा छ। यस हिसाबले विभिन्न चराको आवाज सुन्न र तिनको रूपरङ हेर्न शिवपुरी निश्चित उत्तम गन्तव्य हो।