रुपन्देही- बुटवलको पुरानो नाम बटौली हो। आधुनिक बुटवलभित्र पुरानो बटौली बजार जीवितै छ। साँघुरा गल्लीसहितको यो ऐतिहासिक बजार अहिले सुनसान प्रायः हुन्छ। यद्यपि ऐतिहासिक महत्त्व बोकेको यो बजारलाई व्यवस्थित र पर्यटकीय गन्तब्य बनाउन सरकारी र निजी क्षेत्रले विभिन्न प्रयास भने गरेकै छन्।
नेपालीले अंग्रेजसँगको युद्ध जितेको जितगढी किल्लासँग जोडिएको ऐतिहासिक बटौली बजारको शिरमा नुवाकोटगढी किल्ला छ। किल्लाको नजिकै ऐतिहासिक भैरव मन्दिर पनि छ। बुद्धकालीन सभ्यतासँग जोडिएको नुवाकोटगढीको नजिकै राजा शुद्धोधनका गुरु ऋषि कालदेवल (आशुतोष) को ध्यान केन्द्र थियो भन्ने मान्यता छ।
तिनाउ नदीको पश्चिमी किनारामा रहेको इतिहास, संस्कृति, सभ्यता र पुरातत्वसमेत जोडिएको बटौली र यसको शिरमा रहेको नुवाकोटगढीको एकीकृत विकास गर्नुपर्ने धारणा एकथरीको छ। बटौली र नुवाकोटगढीको एकीकृत विकास र यसको पर्यटकीय महत्त्व भएका कारण यसको विकासमा सबै एकमत छन्।
तिनाउ नदीको पूर्वी किनारामा हुर्किंदै गरेको आधुनिक बुटवल वा पुरानो खस्यौली बजार गुल्जार हुँदैछ। फराकिला सडक, अग्ला भवन, व्यवस्थित सहर र बस्तीसहित बुटवलले पश्चिम नेपालको सुविधासम्पन्न ब्यस्त बजारको पहिचान पाएको छ। मुलुकको मध्यभागमा रहेको र सुनौली नाकासँग नजिक रहेका कारण बुटवलमा बसाइँ सरेर आउनेको घुइँचो लाग्दैछ।
बुटवलदेखि भैरहवासम्म व्यवस्थित र सुविधासम्पन्न सहरको विकास भइसकेको छ। पाल्पा, पोखरा, मुक्तिनाथ र ढोरपाटनजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यतर्फ जाने प्रवेशद्वारका रुपमा रहेको आधुनिक बुटवलको शीरमा बसन्तपुर नामक जैविक विविधतायुक्त चुचुरो छ।
पारिपट्टीको नुवाकोटगढीभन्दा उच्च भागमा रहेको यो शिखरमा पनि पुरानो सानो गाउँ छ। बुटवलको गर्मी हावापानीले हैरान भएका स्थानीय र घुम्न आउने पर्यटकलाई केन्द्रित गरी व्यवसायीले यहाँ पनि केबलकार सञ्चालनको तयारी थालेका छन्।
ऐतिहासिक बजार बटौलीको विरासत तथा आधुनिक र विकसित सहर बुटवलको भव्यतालाई बेच्न यहांँका दुई ठूला कम्पनीले अलगअलग केबलकार सञ्चालनको अन्तिम तयारी गरिरहेका छन्। केबलकार सञ्चालनसँगै भारतीय पर्यटकको आकर्षण बढ्ने अनुमान गर्दै ठूलाठूला होटल तथा रेष्टुरन्ट खुलिरहेका छन्।
बटौली बजार धेरै पुरानो भए पनि २०१६ फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखियो। पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल–खस्यौली नगर पञ्चायत भन्न थालिएको हो। इतिहासका अध्येता देवेन्द्रराज शाक्यकाअनुसार करिब ६०० वर्ष पुरानो बटौलीमा सेनवंशीय राजाले बस्ती बसालेका थिए। विगतमा अहिलेको मुख्य बजारभन्दा तिनाउ पश्चिममा थियो– बटौली बजार। बिस्तारै तिनाउको पूर्वतर्फ खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले।
खस्यौलीमा पूर्वाधार थपिँदै गएपछि बजारले बुटवल सहरको रुप लियो। बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो। विसं २०४६ पछि बुटवल नगरपालिका उल्लेख भयो। विसं २०७१ मंसिरमा साविक सेमलार र मोतीपुर गाविसलाई समेटेर उपमहानगरपालिकामा स्तरोन्नति भएको हो।
अहिले बुटवल पश्चिम नेपालकै प्रमुख सहर बनेको छ। पछिल्लो समय पूर्वाधारयुक्त सहरका रुपमा स्थापित भएको छ, बुटवल। ६ लेनको सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनीस्थलजस्ता राष्ट्रिय स्तरका संरचना रहेको बुटवलमा केही दिनमै लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार एकसाथ सञ्चालनको तयारीमा छन्।
लुम्बिनी केबलकारका व्यवस्थापक गोकुल साउदका अनुसार बुटवल र पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माणको काम करिब सम्पन्न भएको छ। तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर निर्माण गरिएको लुम्बिनी केबलकारको अहिले प्राविधिक परीक्षणको काम भइरहेको छ। यही महिनाभित्रै वसन्तपुरमा निर्माण गरिएको कामाक्षा देवी मन्दिरमा महायज्ञ सञ्चालन गरिने र महायज्ञकैबीचमा औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ।
साउदका अनुसार २५ वटा गोन्डुला (बाकस) रहने लुम्बिनी केबलकारमा प्रत्येक बाकसमा आठ यात्रु सवार गर्न सक्नेछन्। प्रतिघन्टा ६०० जना यात्रु ओहोरदोहोर गर्न सक्ने बताइएको छ।
अहिले वसन्तपुर डाँडामा होटल तथा रिसोर्टको काम भइरहेको छ भने जीर्ण रहेको वसन्तपुरको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ। त्यस्तै चिल्ड्रेन पार्क, रेस्टुरेस्ट, भ्यूप्वाइन्टसहितका पूर्वाधार बनिरहेका छन्।
बुटवल बमघाटदेखि पाल्पा वसन्तपुरसम्मको तीन किलोमिटर क्षेत्रमा निर्माण भइरहेको केबलकारले ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ। केबलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउने गरी सरकारले स्वीकृति दिएको छ।
बुटवलबाट झण्डै साढे दुई किलोमिटरको केबलकारबाट १० मिनेटमा वसन्तपुर पुगिन्छ। यो परियोजनाअन्तर्गत केबलकार सञ्चालनका लागि डेढ अर्ब रुपैयाँ लगानी भएको छ भने रिसोर्टलगायत अन्य संरचना निर्माणमा पनि सोही बराबरको लागत लाग्ने अनुमान रहेको कम्पनीले जनाएको छ।
यता बुटवलको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि–मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर–पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबलकार लिमिटेड पनि सञ्चालनको तयारीमा छ। सरकारले यो केबलकार परियोजनाभित्र पर्ने ६.२९ हेक्टर वन क्षेत्र ३० वर्षका लागि भोगाधिकारको स्वीकृति दिएको छ।
पाँचतारे होटल, पार्क र रिसोर्टसहित निर्माण भइरहेका यो केबलकारमा निजी क्षेत्र र समुदायको गरी रु एक अर्ब लगानी रहेको कम्पनीका अध्यक्ष राजेन्द्रसिंह गुरुङ बताउँछन्। ‘यो लगानीले पुरानो बटौली गुल्जार हुनेछ,’ उनले भने, ‘खस्यौलीजति पुरानो बटौलीको विकास हुन सकेन, त्यसैले यो क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनका लागि यो परियोजना सुरु गरिएको हो।’
यो केबलकारसँगै नुवाकोटमा कालभैरवको मन्दिर निर्माण, ठूलो बुद्धको मूर्ति, मणिमुकुन्द सेन उद्यान, सांस्कृतिक सङ्ग्रहालय, ऋषि कालदेवलको मन्दिर निर्माणको काम भइरहेको छ। नुवाकोटमै भ्यु–टावर निर्माण गरिएको छ भने बालाजी मन्दिरको शिलान्यास गरिएको छ। भारतको बालाजी मन्दिरका गुरु बोलाएर यो मन्दिरको शिलान्यास गरी काम अघि बढाइएको छ।
शिखर देउरालीमा रहेको बेस स्टेसनमा अहिले विभिन्न पूर्वाधार निर्माणको काम अन्तिम चरणमा छ। नुवाकोट डाँडामा रहेको टप स्टेसनमा सात मिनेटमा पुग्न सकिने १.९४ किमी लम्बाइको केबलकारमा एउटा गोन्डुलामा आठ यात्रु सवार गर्न मिल्ने २५ वटा गोन्डुला हुनेछन्।
नियमितरूपमा केबलकार सञ्चालनमा आउँदा प्रतिघण्टा ५०० व्यक्तिलाई ओहोरदोहोर गराउन सकिने गरी संरचना निर्माण भइरहेको इन्जिनियर सृष्टि गुरुङ बताउँछिन्।
केही वर्षअघिसम्म व्यापार र रोजगारिका लागि पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत, अर्घाखाँची आदिबाट मानिस बसाइसराई गरी यहाँ आउँथे, तर विसं २०४० पछि आर्थिक, शैक्षिक र पर्यटनको केन्द्रका रुपमा बुटवलले पहिचान बनाएको छ। -नीरा गौतम, रासस