‘पर्याप्त निद्रा। उचित खानपान, पाकाहरूलाई चाहिने यति नै हो,’ सिआओ भन्छन्। ७५ वर्षीय सिआओ आफूजस्तै एक पाका जोडीसँग एउटै कोठामा बस्छन्। ती दुई ८० कटिसकेका छन्। यी तीन जहाँ बस्छन्, यो भवन कुनै समय प्राथमिक विद्यालय थियो। तर विद्यालयको यो भवनलाई अब वृद्धाश्रम बनाइएको छ। यो रूपान्तरण खासमा आधुनिक चीनको जनसांख्यिक संकटको प्रमाण हो।
सिआओ बस्ने रुदोङ बिन्सान वृद्धाश्रम अर्पाटमेन्ट जस्तै छ। जहाँ दिनहुँ मानिस पुग्छन्। उनीहरू खाना बोकेर वृद्धवृद्धालाई भेट्न जान्छन्। तर कस्तो खाना लाने? यसको सूची छ। जस्तै : ‘स्टिकी राइस’, ‘डम्पिलिङ’ जस्ता खाना वर्जित छ। कारण? वृद्धवृद्धाको स्वास्थ्य बिगार्छ भन्ने डर।
आफन्त जेजस्ता खाना लिएर आउँछन्, वृद्धवृद्धा खुसी हुन्छन् नै। आश्रममा दिइने र आफन्तले ल्याइदिने खाना भएपछि पकाइरहनु परेन। ‘यहाँको मज्जा यही त हो,’ सिआओ भन्छन्।
कुरा सन् १९६० को दशकको हो, रुदोङ नगरमा एक सन्तान नीति लागू भयो। जनसंख्या नियन्त्रणका लागि पूरा चीनभर लागू हुनुअघि यो नीतिलाई रुदोङमा परीक्षण गरियो। परीक्षणका लागि रुदोङ छानिनुको कारण थियो, यहाँको जनसंख्या। जुन बाँकी नगरको भन्दा अत्यधिक थियो।
रुदोङमा पहिलो पटक एक सन्तान नीति लागू भएको लगभग ६० वर्ष भयो। अब रुदोङ चीनमा सबैभन्दा बढी वृद्धवृद्धा भएको नगर बनेको छ। यहाँ झन्डै ३९ प्रतिशत मानिस ६० वर्षमाथिका छन्। यो राष्ट्रिय औसतभन्दा ठ्याक्कै दोब्बर हो। समग्रमा चीनमा ६० वर्षमाथिको जनसंख्या १८.७ प्रतिशत छ।
एक सन्तान नीतिले चीनका अन्य सहरको जस्तै रुदोङमा पनि जनसंख्या नियन्त्रणमा आयो। यद्यपि यो नीति समस्यारहित हुन सकेन। यसले ल्याएको समस्या हो, बुढ्यौली उमेरका मानिसको वृद्धि। फलतः रुदोङमा धमाधम विद्यालय बन्द छन्। यहाँ हुने कपास र धानखेतीका लागि मजदुर पाइन छाडेको छ। अधिकांश वृद्धवृद्धाका लागि मुख्य सहारा सरकारबाट आउने पेन्सन भएको छ। जुन दैनिक गुजाराका लागि पर्याप्त छैन।
आखिरमा चिनियाँ सरकारले सन्तान नीति परिवर्तन गर्यो। आजका दिनमा चिनियाँले आफूलाई मन लागेको संख्यामा सन्तान जन्माउन सक्छन्। तर पुरानो नीतिले जन्माएको चुनौतीको आकार भने ठूलो बन्दै छ।
बढ्दो बुढ्यौली जनसंख्याका कारण चीन कति समस्यामा छ भनेर थाहा पाउन रुदोङको उदाहरण काफी छ। जनसांख्यिक संकटले चीनलाई भविष्यमा जापान र इटालीको नजिक पुर्याउने अनुमान छ। जापान र इटाली विश्वमा सर्वाधिक बढी बूढाबूढी भएका देशहरूको सूचीमा दोस्रो र तेस्रो स्थानमा छन्। अब त चीन विश्वकै सर्वाधिक जनसंख्या भएको देश पनि रहेन। उसलाई भारतले उछिनिसक्यो। सन् १९६० को दशकपछि पहिलो पटक चीनको जनसंख्या घट्दो क्रममा छ।
चीनका लागि जनसांख्यिक संकट साँच्चै ठूलो समस्या हो। युवा जनसंख्याको बलमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको चीन अब यस्तो स्थितिमा आइपुगेको छ, जहाँ उसले ठूलो बजेट पेन्सनमा खर्च गर्नुपर्नेछ। विद्यमान पेन्सन नीति पनि सन्तुलित बनाउनु छ। किनभने सहरी क्षेत्रका नागरिकले आप्रवासी कामदार तथा दुर्गम भेगका नागरिकभन्दा बढी पेन्सन पाउँछन्। पूर्वाधार विकासका लागि छुट्टयाइएको बजेट स्वास्थ्यमा रकमान्तर गर्नुपर्नेछ। यीभन्दा ठूलो चुनौती त उद्योगका लागि युवा मजदुरको खोजी हुनेछ।
जनसांख्यिक संकटबारे चीन सरकार गम्भीर नभएको भने होइन। ‘जनसंख्या वृद्धि आजको मुख्य एजेन्डा हो। जनसंख्या वृद्धिमा ध्यान नदिई सुखै छैन,’ चिनियाँ कम्युनिस्ट पार्टीको जनसंख्यासम्बन्धी नयाँ नीति सार्वजनिक गर्दै राष्ट्रपति सी चिनफिङले भनेका छन्। चिनियाँ दम्पतीहरूलाई उनीहरूको सन्तानको स्वास्थ्य तथा शिक्षा अनि हुर्काउँदा हुने खर्चमा सहयोग गर्ने चीनको नयाँ नीति छ।
सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसन नाम गरेको थिंक ट्यांकसँग आबद्ध हुवाङ वेनझेङ रुदोङमा देखापरेको समस्या सुरुवात मात्र भएको बताउँछन्। ‘रुदोङ कुनै दिन घोस्ट सिटी बन्नसक्छ,’ हुवाङ भन्छन्।
एक सन्तान नीतिले रुदोङको गरिबी मेटाउने अपेक्षा थियो। ‘सन् १९६० को दशकमा रुदोङमा यस्तो गरिबी थियो कि हामी आधा पेट मात्र खान पाउँथ्यौँ,’ हाल रुदोङमा आधुनिक वृद्धाश्रम चलाउने वु ऐइपिङको भनाइ छ।
रुदोङमा एक सन्तान नीति प्रभावकारी बन्यो। हरेक घरमा मान्छेको संख्या घट्यो। दम्पतीहरूले एकएक सन्तान मात्र जन्माउन थाले। पछि ती युवा सन् १९८० को दशकमा रुदोङ छाडेर ठूलाठूला सहर लाग्न थाले। किनभने त्यो यस्तो समय थियो, जब चीनको सांघाई जस्ता पूर्वी क्षेत्रका सहरमा श्रमिकको उच्च माग थियो। चीनको अर्थतन्त्रको आकार बढ्दो थियो।
सन् २०१६ आइपुग्दा चीनमा जन्मदर यसरी घट्यो कि त्यसले सरकारलाई एक सन्तान नीति त्याग्न बाध्य बनायो। यो नीति परिवर्तन रुदोङजस्ता क्षेत्रका लागि भने ढिलो भइसकेको थियो। सन् २०२० को समाप्तिमा त्यहाँको जनसंख्या १२ प्रतिशत घटिसकेको थियो। ठ्याक्कै संख्यामा भन्दा आठ लाख ८० हजार। प्रतिव्यक्ति आम्दानीको हकमा भने जियाङस प्रान्तमा पर्ने रुदोङ चीनका धेरैजसो क्षेत्रभन्दा अगाडि छ। सन् २०२२ को तथ्यांकअनुसार रुदोङमा प्रतिव्यक्ति आय ६ हजार ३ सय १५ अमेरिकी डलर छ। यद्यपि धनी प्रान्त जियाङसुका अन्य क्षेत्रका तुलनामा भने यो झन्डै १२ प्रतिशतले कम हो।
रुदोङमा वृद्धवृद्धाले सरकारबाट पाउने पेन्सन भने कम छ। त्यहाँ धेरैजसोले प्रतिमहिना तीन सय आरएमबीको हाराहारीमा पेन्सन पाइरहको बताइन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले सन् २०२१ मा निकालेको तथ्यांकअनुसार त पेन्सन अझ कम थियो, १ सय ७० आरएमबी मात्र। चिनियाँ सरकारले एक महिनामा १ सय ९२ आरएमबीभन्दा कम कमाउनेलाई गरिबको सूचीमा राख्ने गरेको छ।
पछिल्लो समय चीनमा महँगी बढिरहेको छ। लामो समय लागू भएको एक सन्तान नीतिको नतिजा मान्नुपर्छ, एक युवा जोडीले आठ जना हजुरबुवा-हजुरआमा र चार जना आमा-बुवासम्मको हेरचाह गरिरहेका हुन्छन्। यस्तोमा चिनियाँ वृद्धवृद्धा आआफ्ना छोरा-छोरी वा नाति-नातिनासँग खर्च माग्न हिच्किचाउँछन्।
कतिपय वृद्धवृद्धा जीविका चलाउन सकीनसकी श्रम गरिरहेका देखिन्छन्। रुदोङको १२ सय वर्ष पुरानो गुवोकिङ मन्दिरमुनि एक ७७ वर्षीय महिला धुप बेच्छिन्। ‘सरकारबाट आउने पेन्सनले पुग्दैन। फेरि छोरामाथि बोज बन्न पनि मलाई मन छैन,’ ती महिला भन्छिन्।
त्यहीँनेर एक ६४ वर्षीय पुरुष रिक्साका लागि ग्राहक पर्खिरेहका छन्। लामो समय उनी सिकर्मी थिए। अब उनी त्यो काममा छैनन्। ‘यो उमेरमा मलाई सिकर्मीको काम कसैले दिँदैन। त्यसकारण रिक्सा चलाउनुको विकल्प छैन,’ उनी भन्छन्।
रुदोङका खेतमा अहिले पनि पाका कृषक तथा श्रमिकहरू काम गरिरहेका भेटिन्छन्। ‘बुढ्यौलीमा भए पनि उनीहरू काम गरिरहेका छन्। काम गर्नु ठिक हो। नत्र त बिरामी भइहाल्छन् नि,’ ७० वर्षभन्दा माथिका ती कृषक तथा श्रमिकका सुपरभाइजर भन्छन्। ती सुपरभाइजरका अनुसार त्यसरी खेतमा काम गर्नेलाई प्रतिघण्टा एक आरएमबी दिइन्छ।
रुदोङको स्थानीय सरकार चाहन्छ, स्थानीय खेतमा युवाले काम गरून्। बढीभन्दा बढी युवालाई रुदोङको खेतमा ल्याइपुर्याउन विभिन्न योजना अघि सारिएका छन्। घर निर्माण वा खरिद गर्न ऋणदेखि आकर्षक तलबको लोभ देखाइएको छ। रुदोङमा पेय र औषधि उद्योग चलाउने आयरल्यान्डको केरी समूहले त मेसिन अपरेटरका लागि प्रतिमहिना कम्तीमा ६५ सय आरएमबी तलबको घोषणा गरेको छ। ४० देखि ४५ वर्ष उमेर समूहका अदक्ष पुरुष कामदारलाई समेत ५८ सय आरएमबी दिने बताएको छ।
रुदोङको सहरी क्षेत्रमा घर बिक्री बढाउन अनौठा ‘अफर’ राखिएका छन्। विद्यावारिधि, स्नाकोत्तर गरेका, प्राविधिक शिक्षा पढेका र दुई सन्तान भएका दम्पतीलाई छुटको घोषणा गरिएको छ। यस्ता अफर साना साना नगरमा मात्र होइन सांघाई जस्ता ठूला महानगरमा ल्याइन्छन्।
चिनियाँ सरकारले युवालाई विवाह र सन्तानप्रति आकर्षित पार्न योजना लागू गरेको छ। विवाह खर्च घटोस् भनेर दाइजो लिनेदिनेलाई कारबाही गर्ने घोषणा गरेको छ। अनावश्यक भोजभतेर नगर्न पनि आह्वान गरेको छ। कतिपय सहरमा त तेस्रो सन्तान जन्माउनेलाई नगद पुरस्कार दिइन्छ।
विश्लेषकहरू यस्ता कार्यक्रम तथा योजनाले चीनको जनसांख्यिक संकट टार्न पर्याप्त नहुने बताउँछन्। जनसांख्यिक संकटकै कारण देशको जीडीपी सन् २०३५ सम्म लगातार एक प्रतिशतको दरले घट्न नछाड्ने अनुमान गर्छन्। अहिलेको स्थिति रहिरहे सन् २०२० को दशक सकिँदै गर्दा चीनमा अवकाश पाउने एक श्रमिकलाई प्रतिस्थापन गर्न जम्मा एक जना मात्र उपलब्ध हुनेछन्। जबकि हाल अवकाश पाउने एक श्रमिकलाई प्रतिस्थापन गर्न चार युवा उपलब्ध छन्। यो स्थितिबाट मुक्ति पाउन तत्कालका लागि अवकाश उमेर बढाउनुपर्नेछ। हाल चीनमा ६० वर्ष पुगेपछि पुरुष र ५० वर्ष पुगेपछि महिलाले अवकाश पाउँछन्।
यस्तै नीति निर्माताले निजी क्षेत्रलाई पेन्सन बढाउन निर्देशन दिन आवश्यक छ। चीनमा वृद्धवृद्धाका लागि स्वास्थ्य सेवा पनि सपार्न जरुरी छ। यसो भए मात्र रुदोङ जस्ता अर्धसहरी क्षेत्रमा युवा दम्पतीले आआफ्ना अभिभावकको भनेजस्तो हेरचाह गर्न पाउँछन्।
अहिलेका लागि भने रुदोङमा आधुनिक वृद्धाश्रमको माग घट्नेवाला छैन। रुदोङमै आधुनिक वृद्धाश्रमकी सञ्चालक ऊ स्थानीय मात्र होइन सांघाई र नानयिङ जस्ता ठूला सहरबाट समेत वृद्धवृद्धा ल्याउने क्रम बढेको बताउँछिन्। ती सहरमा रुदोङमा भन्दा बढी पेन्सनको सुविधा छ।
ऊले सञ्चालन गर्ने वृद्धाश्रम हेर्न प्रत्येक दिन नयाँ नयाँ मान्छे आउँछन्। ऊ झर्को नमानी वृद्धाश्रमका कोठा देखाउँछिन्। जहाँ राष्ट्रपति सी र उनकी श्रीमती पेङ लियुयान्का ठूलाठूला तस्बिर झुन्ड्याइएका छन्। ‘माग बढ्दो छ। अब त कोठा थप्नुपर्ने स्थिति आएको छ,’ ऊ भन्छिन्।
व्यापार बढ्दै जाँदा ऊ एउटा समस्या झेलिरहेकी छन्। त्यो हो कामदारको अभाव। यसको कारण हो, जनसांख्यिक संकट। ‘युवाहरू वृद्धाश्रममा काम गर्न चाहँदैनन्। वृद्धवृद्धालाई नुहाउन सहयोग गर्नु उनीहरूका लागि तल्लो स्तरको काम हो,’ ऊ भन्छिन्। फाइनान्सियल टाइम्सबाट