काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता एवम् पूर्वगृहमन्त्रीविरुद्ध तीनवटा कसुरमा मुद्दा दायर गरिएको छ। उनीमाथि ठगी, सरकारकी लिखत किर्ते र राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरिएको हो।
आमनेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आबद्ध भई प्रतिवेदनलगायत गृह मन्त्रालयका पत्रहरूका आधारमा विश्वास दिलाई करोडौँ रकम उठाउन लगाई ठगी गरी लाभ लिएको अभियोगपत्रमा उल्लेख छ।
यसैगरी गृह मन्त्रालयको सक्कल प्रतिवेदनका ठाउँमा नक्कली प्रतिवेदन राखी भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भने लिखत किर्ते संगठित अपराध र अकुत सम्पत्ति आर्जन गरेको अभियोग खाणमाथि लगाइएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा बुधबार दायर गरेको मुद्दामा उल्लेख छ, ‘पन्थीको प्रतिवेदन हेरफेर गरी नेपाली नागरिकताका नाममा भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाई लिखत किर्तेको कसुर समेत गरेको देखिँदा निज प्रतिवादी बालकृष्ण खाणले मुलुकी अपराध संहिता २०७४ को दफला २७६ को उपदफा १ र २ बमोजिम सरकारी किर्तेको कसुर गरेको पुष्टि हुन आयो।’
त्यसैगरी खाणले नेपाल राष्ट्रको गृहमन्त्री जस्तो शक्तिशाली र गरिमामय पदमा बसी आफूलाई लाभ पुर्याउने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्रहित प्रतिकूल काम गरेको अयिभोगपत्रमा उल्लेख छ।
उक्त कसुरले नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच आएको र नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा हेर्ने दृष्टिकोणमा समेत आँच आउने गरी राष्ट्रको साख गिराउने कार्यसमेत गरेको अभियोग खाणमाथि लगाइएको छ।
यसबाट राज्यविरुद्धको कसुर गरेको पुष्टि हुन आएको अभियोगपत्रमा उल्लेख छ। साथै उनीमाथि नीति नियम बनाउने काममा दलालहरूसँग मिलेर संगठित अपराध गरेको देखिएको अभियोग छ।
खाणले एकै बारदातमा एकभन्दा बढी कसुर गरी एकीकृत कसुर समेत गरेको देखिँदा उनले मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा १ बमोजिम कसुर गरेको सप्रमाण पुष्टि हुन आएकाले कसुर ठहर हुन अभियोग मागदाबी लिइएको अभियोगपत्रमा उल्लेख छ। दफा ४३ को उपदफा १ मा उल्लेख छ, ‘ कुनै व्यक्तिले एउटै वारदातमा एकभन्दा बढी कसूर गरेमा त्यस्तो व्यक्तिले एकीकृत कसूर गरेको मानिनेछ।’
अभियोगको विवरण
भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालिन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदल २०७६ ले तत्कालिन गृहमन्त्री राम बहादुर थापा (बादल) लाई प्रतिवेदन बुझाए पश्चात सो प्रतिवेदन सहितको प्रस्ताव मिति २०७६।०८।१८ गते मन्त्रीपरिषदमा पेश भएको र सो प्रतिवेदनको सम्बन्धमा मन्त्रीपरिषदबाट कुनै निर्णय नै नभई सरकार परिवर्तन पछि फिर्ता आएको उक्त प्रतिवेदन पुनः मन्त्रीपरिषदमा प्रस्ताव नै नगरी माथि उल्लेखित पीडितहरुलाई बिश्वासमा पार्न मिति २०७८।०६।१४ गते सचिवस्तरिय निर्णयबाट जिल्ला प्रशासन कार्यालय झापाका स.प्र.जि.अ.को संयोजकत्वमा समिती बनाई छुट भएका शरणार्थीहरुको विवरणलाई पुन: Verify गरी पेश गर्ने समेतको कार्यादेश दिएको सो समितीले कुनै काम नै नगरेको अवस्थामा मिति २०७१।०२।२७ गते माननीय मन्त्रीस्तरको निर्णयबाट पुनः २ महिना म्याद थप हुँदा छुट शरणार्थीहरुको नाम समावेश गर्ने समेतको कार्यादेश थप गरेको; बुझिएका गृह मन्त्रालयका कर्मचारीहरु फणिन्द्रमणी पोखरेल, सागरमणी पाठक, चोमेन्द्र न्यौपाने, यन्तोष प्रधान समेतले पहिले UNHCR समेतको Joint Verification Team ले Verify गरेका ४२९ जना शरणार्थीहरु नै विवादित रहेको अवस्थामा थप छुट दर्ता गराउन नहुने, भुटानी शरणार्थीहरुलाई मानवीय सहायता सम्बन्धी बिषयमा निर्णय गर्दा अन्य देशका शरणार्थीहरुको हकमा समेत निर्णय गर्न दवाव पर्न सक्ने र सो गर्न अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिकोणले समेत कठिन हुने भएकोले थप छुट शरणार्थीहरु दर्ता गर्ने समेतको कार्य नगर्न तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण र गृह सचिव टेक नारायण पाण्डेलाई सुझाव दिएकोमा सो वेवास्ता गरी छुट शरणार्थीहरु सम्बन्धी निर्णय गरे गराएको भनी खुलाएको, UNHCR ले नेपालमा रहेका भुटानी शरणार्थीहरुको दर्ता प्रकृया र तेश्रो मुलुकमा पुनर्स्थापनाको कार्य 31 Dec 2016 मा नै पूर्णरुपमा बन्द भईसकेको भन्ने सार्वजनिक सूचना जारी गरी सकेको अवस्थामा समेत नेपालमा रहेका भुटानी शरणार्थीहरुको नाममा नेपाली नागरिकहरुलाई समेत भुटानी शरणार्थीको रुपमा दर्ता गराउनका लागि गृहमन्त्रालयका कर्मचारीहरु र कार्यदलका सदस्यहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष दवाव दिईएको भनी कागज गर्ने मानिसहरुले खुलाई दिएको; आफू गृहमन्त्री हुँदाका बखतको भन्दा पहिलेको मन्त्रीपरिषदबाट फिर्ता भएको प्रतिवेदन पुनः आफू सामेल तत्कालिन मन्त्रीपरिषदबाट स्वीकृत गराई सो स्वीकृत प्रतिवेदनसँग मिल्ने समानान्तर प्रतिवेदन तयार गरी गराई नेपाली नागरिकहरुलाई भुटानी शरणार्थीको सूचीमा समावेश गराइ झुक्यानमा पारेको; तत्कालिन अवस्थामा जिल्ला प्रशासन कार्यालय झापामा RCO (शरणार्थी समन्वय अधिकृत) को रुपमा शरणार्थी शिविरहरुको रेखदेख र अभिलेख राख्ने जिम्मेवारी पाएका ना.सु. सुरेन्द्र दाहाललाई नाम दर्ता हुन छुट भुटानी शरणार्थीहरुको बिवरणमा थप समेत गर्नका लागि तत्कालिन गृह मन्त्री बालकृष्ण खाँण समेतबाट दवाव दिएको र सो काम निजले गर्न आलटाल गरेकोले निजको गृहमन्त्रीकै आदेशमा तत्कालै सरुवा गरिदिएको भन्ने निजकै कागजबाट खुलेको, पक्राउ प्रतिवादी केशव प्रसाद दुलालले प्रतिवादी बालकृष्ण खाँणलाई नेपालीहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य कै लागि भनी रु.१,२४,५०,०००।- (एक करोड चौविस लाख पचास हजार) नगदै दिए पश्चात लगत्तै कार्यादेश समेत थप गरी समितीको म्याद थप गरेको, पक्राउ प्रतिवादी केशव प्रसाद दुलालको मोवाईलमा फेला परेको केशव प्रसाद दुलाल र टेक नारायण पाण्डेबीचको संवादमा (९८०११४२९९-९८६००५२१०० ( 18 Apr. 2022 ) केशवले सर पन्थी सरले कस्तो राय दिनु भयो हजुर भनी भनेको, टेकनारायणले डिटेल कुरा भो, अब UNHCR सँग मिटिङ्ग छ, अनि थप काम हुन्छ भनी भनेको। केशवले छुट भएको हकमा कसरी गर्ने हजुर भनी भनेको।
टेकनारायणले मिलाउछन् भनी भनेको। केशवले क्याम्पमा नभएकाको हकमा भनी भनेको। टेकनारायणले ठिक छ मिलाउने हो भनी भनेको। केशवले भोलि UNHCR सँगको मिटिङ्ग पछि भेटौन हजुर भनी भनेको। टेकनारायणले हस भनी भनेको। टेकनारायणले छलफल हुँदै छ भनी भनेको। (31 May 2022) केशवले प्रमोद शर्मा मन्त्रीसँग नजिक छन हजुर, • टेकनाथ रिजाललाई हाम्रो डिसिजन बिना हुन्न भन्दै थिए रे भनी भनेको। टेकनारायणले प्रमोद चिन्छु, मन्त्रीज्यूको सामान रेडी भएन भनी भनेको। केशवले भोली रेडी हुन्छ जस्तो छ हजुर भनी भनेको। टेकनारायणले मन्त्री ज्यूलाई म भेट गराउछु भनी भनेको। केशवले भोली Financial arrange भएपछि हजुर मार्फत् भेट्ने हो हजुर भनी भनेको। टेकनारायणले हस भनी भनेको। (02-jun 2022 ) केशवले सर नमस्ते मन्त्री ज्यूसँग कति बजे टाईम भयो हजुर भनी भनेको। टेकनारायणले मन्त्रीज्यूको गिफ्ट ल्याएनौ भनी भनेको। केशवले ओके, गेटमा हजुर तल भन्दिनु भनी भनेको। टेकनारायणले, मन्त्रालय गेट हो नी भनी भनेको। केशवले हजुर भनेको टेकनारायणले ल भन्या छु, गिफ्ट माथि लिएर आउनु, गिफ्ट कहाँ छ सँगै लिएर आउनु भनी भनेको देखिदा बालकृष्ण खाँणलाई केशव प्रसाद दुलालले रकम दिने, गिफ्ट दिने, भेट्ने लगायतका संवादहरुबाट बालकृष्ण खाँड समेतको आपराधिक समूहमा संलग्नता रहेको पुष्टि भएको।
पक्राउ पर्नु भन्दा पूर्व बालकृष्ण आफ्नो निजी मोवाईल विवरणहरु मेटाउने उद्देश्यले Factory Reset गरेको, टेक नारायण पाण्डे पक्राउ परी सके पश्चात हिरासतबाटै निजले मन्त्री बालकृष्ण खाँणलाई कसूरबाट जोगाउनका लागी प्रधानमन्त्री समेतलाई भनेर निज उपरको अनुसन्धान प्रकृया अगाडी नबढाउन दवाव दिनु पर्ने, प्रतिवादीहरु केशव प्रसाद दुलाल र सानु भण्डारीले दिएको रकम फिर्ता गरी बालकृष्ण खाँणको नाम नलिने गरी ईन्कारी बयान गर्न लगाउनु भन्ने समेत व्यहोराका लिखित सूचनाहरु दिएको र सो सूचनाहरु निजै प्रतिवादी बालकृष्ण खाँण र निजका स्वकीय सचिव नरेन्द्र के.सी.को साथबाट बरामद भएको उक्त लिखित सूचना परीक्षणका लागि पठाउँदा प्रतिवादी टेक नारायण पाण्डेको हस्त लिखत रहेको भनी खुल्न आएको, प्रतिवादी बालकृष्ण खाँणले आङटावा शेर्पालाई सानु भण्डारी र केशव प्रसाद दुलाललाई हिरासतमै भेट्न पठाई पहिले लिएको रकम फिर्ता गर्ने र बयानमा आफु समेतलाई पोल नगर्न भनी पठाएको र सो कुरा हिरासतमा रहेका प्रतिवादीहरु सानु भण्डारी र केशव प्रसाद दुलालले आङटाव शेर्पाले भने पछी सहमत भै सहमति गरे बमोजिम रु.१,००,००,०००/- (एक करोड) निजका स्वकीय सचिव नरेन्द्र के.सी. मार्फत आङटावा शेर्पाले लिई सो मध्ये रु. ३०,००,०००/- (तीस लाख) सानु भण्डारीको दाजु राजु भण्डारीलाई भरपाई गरिदिएको घटना विवरण कागज र भरपाई कागज समेतबाट खुलेको देखिन्छ। यहि अवधीमा आङटावा शेर्पा र नरेन्द्र के.सी. बीच मोवाईल फोनमा ४९ पटक कुराकानी भएको, नरेन्द्र के.सी.सँग भेट भएको र प्रतिवादीहरु सानु भण्डारी र केशव प्रसाद दुलाललाई मुद्दा मिलाउन हिरासतमा भेट्न गएको अडियोबाट र आङटावा शेर्पाको मुद्दा मिलाउन गएको बयान समेतबाट पुष्टि हुन आउँछ।
नरेन्द्र के.सी. को मोवाईल परीक्षण गर्दा 15 mar 2023 11 PM Factory Reset गरेको उक्त मोवाईल फोनसेटमा आर्थिक लेनदेन सम्बन्धी म्यासेज रहेको, उक्त मोवाईल फोनसेटमा शरणार्थी समन्वय ईकाई बेलडाँगी झापाको सूचना, गृहमन्त्रालयको निर्देशन, र भुटानी शरणार्थी समन्वय सम्बन्धी पत्र, Fake-Bhutani refugee document शरणार्थी परिचयपत्र विवरण मेटेको, whats app Account Narendra KC बाट News share फोनसेटको email मा भुटानी शरणार्थी शिर्षक भएको Word document Narendra sir docx भएको बिभिन्न नागरिकता, भुटानी शरणार्थी सम्बन्धी document रहेको देखिन्छ।
प्रतिवादी टेक नारायण पाण्डेले थप बयान गर्दा भुटानी शरणार्थीहरुको सम्बन्धमा प्रतिवादी केशव प्रसाद दुलालले तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणकै कार्यकक्षमा निजलाई रकम दिएको भन्ने समेत खुलाएको कारण यी प्रतिवादी बालकृष्ण खाँणले तत्कालिन गृह सचिव टेक नारायण पाण्डे, प्रतिवादी केशव प्रसाद दुलाल, नरेन्द्र के.सी., आङटावा शेर्पा समेतलाई प्रत्यक्ष रुपमा परिचालन गरी प्रस्तुत संगठित ठगी लिखत किर्ते एवं राष्ट्रहित प्रतिकुल काम गरी आपराधिक समूहका अन्य प्रतिवादीहरुलाई परिचालन गरी जाहेरवालाहरु समेतबाट संकलन गरिएको ठगीको रकम, लिनेखाने काममा संलग्न रहेको देखिन आएकोले प्रतिवादी बालकृष्ण खाँणले गैर भुटानी शरणार्थी अर्थात आम नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने समूहमा आवद्ध भई प्रतिवेदन लगायत गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करोडौं रकम उठाउन लगाई ठगी गरी लाभ लिई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसूर गरेको पुष्टि हुन आयो।
यी प्रतिवादी बालकृष्ण खाँणले बालकृष्ण पन्थी संयोजक रहेको भुटानी शरणार्थी समस्याको स्थायी र दिर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन २०७६ मा ४२९ जना छुट भएका भुटानी शरणार्थी भनी उल्लेख भएकोमा सो प्रतिवेदनका आधारमा गैर भुटानी शरणार्थीलाई अमेरिका पठाउन सम्भव नभएको हुँदा करौडौ रकम ठगी गरी लिनका लागि आपसमा मिलोमतो गरी बालकृष्ण पन्थी संयोजक रहेको सक्कली प्रतिवेदनलाई गृह मन्त्रालयका तत्कालिन सचिव प्रतिवादी टेकनारायण पाण्डे मार्फत सो प्रतिवेदनको पृष्ठ १३ को ६ नं. बुँदामा अन्तिम वाक्यको व्यहोरा थप गरेको, पृष्ठ १० को २.५ नं. बुँदामा फरक व्यहोरा देखिएको, पृष्ठ नं. १३ को क्र.नं., (क.अ.) नं. १४ को ग.नं. को दोश्रो Para, पृष्ठ १६ को ३.६, ३.६.१ र ३.६.२ पृष्ठ नं.१७ र पृष्ठ नं.१८ को निष्कर्षमा व्यहोरा फेरबदल गरी गृहमन्त्रालयमा सक्कल प्रतिवेदनका ठाउँमा नक्कली प्रतिवेदन राखी भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी लिखत किर्ते संगठित अपराध र ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको र पन्थीको प्रतिवेदन हेरफेर गरी नेपाली नागरिकताको नाममा भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाई लिखत किर्तेको कसूर समेत गरेको देखिदा निज प्रतिवादी बालकृष्ण खाँणले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम सरकारी लिखत किर्तेको कसूर गरेको पुष्टि हुन आयो।
त्यसै गरी प्रतिवादी बालकृष्ण खाँणले नेपाल राष्ट्रको गृहमन्त्री जस्तो शक्तिशाली र गरिमामय पदमा बसी आफूलाई लाभ पुऱ्याउने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्रहित प्रतिकूल काम गरेको र निजहरुले गरेको उक्त कसूरले नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच आएको र नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा हेर्ने दृष्टिकोणमा समेत आँच आउने गरी राष्ट्रको साख गिराउने कार्य समेत गरेकोले निज प्रतिवादी बालकृष्ण खाँणले राष्ट्रहित प्रतिकूल काम गरेको देखिदा मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) र उपदफा (७) बमोजिम राज्य विरुद्धको कसूर गरेको पुष्टि हुन आयो।
प्रस्तुत मुद्दामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी योजना बनाई भुटानी शरणार्थीको नक्कली कार्ड समेत बनाई बहालवाला गृहमन्त्री, गृह सचिव, सुरक्षा सल्लाहाकार, गृहमन्त्रीका निजी सचिव समेतलाई करोडौं रुपैयाँ नगद उपहार दिई सो क्षेत्रका विशेषज्ञहरुलाई अपराधिक समूहको संगठनमा मिसाई श्रेणीबद्ध संरचना तयार गरी संगठित अपराधिक क्रियाकलापमा लागेका सदस्यहरुको कामको जिम्मेवारी बाँडफाँड गरी तहगत आधारमा सबै भन्दा माथि अपराधको नाईकेका रुपमा प्रतिवादीहरु सानु भण्डारी र केशव दुलाल, ईन्द्रजित राई, सन्दिप रायमाझी, प्रतिक थापा बसेर त्यसपछिको Layer मा सो कार्यलाई कार्यान्वयन गर्ने प्रतिवादीहरु सन्देश शर्मा, आङटावा शेर्पा, निरज राई, टंक कुमार गुरुङ, सागर राई रही त्यस मुनी कार्यदल बनाउने नीति नियम बनाउने प्रतिवादीहरु टेक नारायण पाण्डे, नरेन्द्र के.सी., टोप बहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनाथ रिजाल र शम्सेर मियाँ समेतले नीतिगत रुपमा प्रभाव पार्ने कार्य गरी संगठित रुपमा ठगीको रकम उठाउने अपराधिक कार्यमा प्रतिवादीहरु रामशरण के.सी., राजेश अर्याल, बिक्रम भन्ने गोविन्द चौधरी, सुनिल बुढाथोकी, निरन्जन कुमार पोखरेल, धिरेन राई, मोहन राज राई, अशोक पोखेरल, सागर राई, दिपा हुमागाञी, विनिता साङदेन लिम्बु, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल समेतले ठगीको रकम संकलन गरी आपराधिक लाभका लागी रकम उठाउने कार्य गरी तहगत संरचनाको आधारमा गोप्य ढंगले आ-आफ्नो भूमिका निर्वाह गरी संगठित अपराध समेत गरेको देखिदा निज प्रतिवादी बालकृष्ण खाँणले संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२), (३) को खण्ड (क) तथा दफा ५ बमोजिमको संगठित अपराधको कसूर गरेको पुष्टि हुन आयो।
प्रतिवादी बालकृष्ण खाँण समेतले नियोजित र संगठित रुपमा समूहमा आवद्ध भई एकै वारदात एकभन्दा बढी कसूर गरी एकिकृत कसूर समेत गरेको देखिदा निज प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिम कसूर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कसुर ठहर हुन अभियोग मागदावी लिईएको छ।