
काठमाडौँ- जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले विद्यालयमा कार्यरत कर्मचारीको श्रम शोषण नगर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद यादवले प्रश्न गरिन्, ‘उनीहरूका समस्या सुन्दा भक्कानो छाडेर रुन मन लाग्छ। यसरी श्रमशोषण कहिलेसम्म?’
सांसद यादवले विद्यालयमा कार्यरत कर्मचारीहरू न्यूनतम तलबसुविधा पाउन सडक आन्दोलनमा उत्रन बाध्य हुनुपरेको, सांसदको घरदैलोमा पुगेर हारगुहार गरिरहेको भन्दै उनीहरूको समस्यालाई बजेटमार्फत सम्बोधन गर्न सरकारसँग माग गरिन्।
‘उनीहरूले अनुदानका आधारमा विद्यालयमा काम गरिरहेका छन्। राज्यले उनीहरूको पारिश्रमिकको सुनिश्चितता गर्नुपर्छ। लामो समयदेखि अन्यायमा परेका विद्यालयका कर्मचारी सेवासुविधाको माग गर्दै आन्दोलन गर्नुपरेको छ। उनीहरूले किन सुविधा नपाउने? उनीहरूका लागि तलब छुट्टयाइयोस्।’
बजेटमा विद्यालयका कर्मचारीका लागि दरबन्दी सिर्जना गर्ने विषयलाई समेट्न उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्।
विद्यालयका कर्मचारीले न्यूनतम पारिश्रमिक र सेवासुविधा माग गर्दै आन्दोलन गर्दै आएका छन्। यसअघि गत भदौमा सरकार र विद्यालय कर्मचारी परिषद्बीच माग सम्बोधन गर्ने विषयमा सहमति भएको थियो। तर सरकारले माग सम्बोधन नगरेपछि सदनमा समेत उनीहरूका पक्षमा आवाज उठिरहेको छ।