करका दर घटाएर अवैध व्यापार रोक्न माग

हिमाल प्रेस ७ जेठ २०८० २१:१५
8
SHARES
करका दर घटाएर अवैध व्यापार रोक्न माग अर्थ मन्त्रालय

काठमाडौँ- व्यवसायीहरूले करका दर घटाएर अवैध व्यापार रोक्न माग गरेका छन्। उच्च भन्सार महसुल र अन्तःशुल्क दरका कारण चोरी पैठारी व्यापक भइरहेकोले करका दरहरू उपयुक्त बनाउन व्यवसायीले माग गरेका हुन्।

आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेका बेला आयात निर्यातकर्ता व्यवसायीहरूको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले अर्थ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई पत्र लेखेर करका दरहरू कम गरी अवैध आयात निरुत्साहित हुने वातावरण बनाउन माग गरेको हो।

पछिल्ला वर्षहरूमा विदेशबाट आयात हुने वस्तुमा लाग्ने भन्सार महसुल र अन्तःशुल्कका दरहरू बढाउँदै लगिएको व्यवसायीहरूको भनाइ छ। करका दरहरू बढाउँदै लगिएका कारण व्यापक खपत हुने बिस्कुट, चकलेट, कस्मेटिक्स, मदिराजस्ता कतिपय वस्तुमा भारतीय बजारको अधिकतम खुद्रा मूल्यकै हाराहारीमा कर तिर्नुपर्ने स्थिति बनिसकेको संघको भनाइ छ।

चर्को ढुवानी भाडा र उच्च करका कारण सीमावर्ती भारतीय बजार र नेपाली बजारमा वस्तुको मूल्य अन्तर निकै फराकिलो हुँदै गएको संघले पत्रमा लेखेको छ। ‘यसले अनधिकृत आयातलाई बढावा दिइरहेकोले एकातिर नियमसंगत कारोबार गरिरहेका व्यवसायीहरू विस्थापित हुने स्थितिमा पुगेका छन्,’ पत्रमा भनिएको छ, ‘अर्कातिर सरकारले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ।’

प्रकाशित: ७ जेठ २०८० २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fourteen =