स्वास्थ्य संस्थामा बालेन नजर

हिमाल प्रेस ७ जेठ २०८० ९:५२
10
SHARES
स्वास्थ्य संस्थामा बालेन नजर

काठमाडौँ- फुटपाथ र फोहोर व्यवस्थापनपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को नजर स्वास्थ्य संस्थामा परेको छ। केही दिनअघि मात्रै २४ सै घण्टा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका बालेनले अहिले स्वास्थ्य संस्था मापदण्डको कार्यान्वयनका विषयमा चासो देखाएका हुन्।

उनले स्वास्थ्य संस्थामा लक्षित वर्गाको निःशुल्क सेवा लिएको व्यक्तिहरूको विवरण टाँस गर्नुपर्ने र सो विवरण हरेक महिनाको १० गतेभित्र महानगरमा बुझाउनुपर्ने बताएका छन्। सो नगरेको पाइए नियमानुसार कारबाही हुने स्वास्थ्य संस्थाहरूलाई चेतावनी पनि उनले दिएका छन्।

‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकारसमेत स्थानीय तहलाई रहेको छ,’ उनले फेसबुकमा लेखेका छन्।

विद्यमान स्वास्थ्यसम्बन्धी ऐन, कानुन र मापदण्डहरू पूर्ण कार्यान्वयन गराउनका लागि प्रभावकारी कदम चाल्न विभिन्न क्षेत्रहरूबाट सुझाव प्राप्त भएको भन्दै उनले स्वास्थ्य सेवालाई सबैको पहुँचयोग्य बनाउनुपर्ने बताए। अस्पतालले दिने सेवा सुविधाहरूको गुणस्तरीयताको बारेमा तोकिएको मापदण्डले प्रस्ट व्यवस्था गरेको उनले बताए।

‘महानगर क्षेत्रभित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाको निर्णयअनुसार सम्बन्धित सबैलाई यो सूचना जारी गरिएको छ,’ उनले लेखेका छन्।

गत वर्षको जेठ १६ गते पदबहाली गरेका बालेनले यो बीचमा विभिन्न कामहरू गरे। कतिपय कामको प्रशंसा भयो भने कतिपयको आलोचना पनि भए। यद्यपि फुटपाथ व्यवस्थापन, अनधिकृत संरचना हटाउनु, फोहोर व्यवस्थापनलगायतका विषयहरूमा भने उनले सफलता हात पारेका छन्।

प्रकाशित: ७ जेठ २०८० ९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast