
वीरगञ्ज- पछिल्लो समस्या पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ। गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्तालगायतका कारणले कुपोषित बालबालिकाको संख्या बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा एक सय ७४ कडा खालको कुपोषित बालबालिका फेला महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिए। उनका अनुसार विभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका क्रममा फेला परेका ती कुपोषित बालबालिकामध्ये ५६ बालबालिकालाई महानगरपालिकाद्वारा सञ्चालित ओटीसी सेन्टरमा भर्ना गरी उपचार गरिएको छ।
वीरगन्ज महानगर क्षेत्रमा गत आव २०७८/७९ मा ४९ जना कुपोषित बालबालिका फेला परेका थियो, जसमध्ये ४४ जनाको उपचार गरिएको जनाएको छ। यस्तै आव २०७७/७८ मा ४३ जना कुपोषित बालबालिकामध्ये ३९ जनाको र आव २०७६/७७ मा फेला परेको २२ जनामध्ये १८ जनाको उपचार गरिएको प्रमुख कुर्मीले बताए।
जन्मेदेखि ५ वर्षमुनिका कुपोषित बालबालिकालाई आवश्यक स्वास्थ्य जाँचसहित पोषणयुक्त खानाका लागि महानगरपालिकाले गत आव २०७६/७७ देखि वीरगन्ज स्वास्थ्यचौकीसहित बगही स्वास्थ्यचौकी र सिर्सिया स्वास्थ्यचौकीमा ओटीसी सेन्टर चलाउँदै आएको छ। -रासस