काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय कर्मचारीहरूको दरबन्दी, सेवासुविधा र स्थायित्वका लागि सदनमा आवाज उठाइदिन सांसदहरूसँग अनुरोध गरेको छ। आफ्ना मागहरूबारे संसदको ध्यानाकर्षण गराउन परिषद्ले सांसदहरूलाई पत्र लेखेर अनुरोध गरेको हो।
परिषद्ले २०७९ भदौ १९ गते सरकार र नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिबीच भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। सहमति र मन्त्रीस्तरीय निर्णयबमोजिम लेखापालको हकमा ३४ हजार ९०२ र विद्यालय सहयोगीका हकमा २६ हजार ७०२ रुपैयाँ तलब कायम गरिदिन शिक्षा मन्त्रालयबाट अर्थ मन्त्रालयमा थप रकम माग फाइल पेस भइसकेको परिषद्ले जनाएको छ।
सो रकम आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा विनियोजनका लागि र संघीय शिक्षा ऐन २०८० मा विद्यालय कर्मचारीहरूको दरबन्दी, सेवासुविधा र स्थायित्वको व्यवस्थाका लागि सदनमा आवाज उठाइदिन परिषद्ले सांसदहरूलाई अनुरोध गरेको छ।