काठमाडौँ- कञ्चनपुरका आरक्षपीडितले सांसदहरूसँग भेट गरेका छन्। बिहीबार संसद् भवन पुगेर आरक्ष पीडितको टोलीले सांसदहरूसँग भेट्दै समस्या समाधानका लागि आवाज उठाइदिन ध्यानाकर्षण गराएको हो।
तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनर्स्थापना भएको छैन। राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन्।
राज्यको ध्यानाकर्षण गराउन अध्यक्ष कर्णबहादुर चन्दको नेतृत्वमा १० सदस्यीय आरक्ष पीडित संघर्ष समितिको टोली बुधबार काठमाडौँ आएको थियो। टोलीले बिहीबार कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद एवं प्रमुख सचेतक रमेश लेखक, एमाले सांसद तारालामा तामाङसँग भेट गरेको छ। सचिव प्रेमदत्त भट्टकाअनुसार उनीहरूले समस्या समाधानका लागि सदनमा आवाज उठाउने र सरकारसँग पहल गर्ने प्रतिबद्धता गरेका छन्।
सांसद लेखकले एक दुई दिनमा वनमन्त्री पनि नियुक्त हुन लागेको भन्दै समस्या समाधान गरेर जानुबाहेक अरू विकल्प नभएको बताए। कञ्चनपुरका सबै सांसद मिलेर यो विषयलाई निष्कर्षमा पुर्याउन आफू तयार रहेको उनको भनाइ थियो। ‘तपाईको पीडा थाहा छ। समाधान गर्न कोसिस गर्छौँ। एक दुई दिनमा मन्त्री नियुक्त हुने कुरा छ। त्यसपछि हामी तीनै जना सांसद तपाईहरूसहित मन्त्रीसँग बसेर कुरा गरौला,’ उनले भने। तामाङले पनि यो विषयलाई सदनमा जोडदाररूपमा उठाउने बताए।
पीडितहरूले माओवादी सांसद माधव सापकोटासँग भेट गरेका छन्। सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गराएर समस्या समाधानको लागि प्रयास गर्ने प्रतिबद्धता गरेको संघर्ष समितिका सचिव भट्टले बताए।
पीडितहरूले अब आयोग बनाउनेभन्दा पनि समस्या समाधान गरेर सदाका लागि टुंग्याउन माग गरेका थिए। अध्यक्ष चन्दले पीडितले जग्गा नै चाहेको र प्रतिपरिवार १० कट्टा जग्गा दिनुपर्ने अघिल्लो आयोगको सिफारिस कार्यान्वयन हुनुपर्ने माग गरे। जग्गा दिन नसके प्रतिपरिवार ६० लाख दिने सिफारिस गरिएको र त्यसलाई कार्यान्वयनमा लानुपर्ने उनीहरूले माग राखेका थिए।
पीडितहरूले शुक्रबार परराष्ट्रमन्त्री तथा कञ्चनपुर २ का सांसद एनपी साउद, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, एमाले सचेतक महेश बर्तौला, राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग भेट्ने कार्यक्रम छ।