काठमाडौँ- ७० मिनेट पुग्दै थियो, टोनी क्रुस निकालिए। सात मिनेटअघि मात्र लुका मोड्रिचले पनि मैदान छाडेका थिए। यी दुईको सट्टामा आएका खेलाडीले रियल म्याड्रिडलाई केही हदसम्म चलायमान बनाए। विगतमा रियललाई कयौँ पटक च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण योगदान पुर्याएका क्रुस र मोड्रिचसमेत परिवर्तन हुनुको सन्देश थियो, सिटीविरुद्ध फरक रणनीतिको आवश्यकता छ।
तर अब प्रस्ट भइसकेको थियो, यो सेमिफाइनल सिटीले जित्दैछ। रियललाई खेलाडी परिवर्तन वा नयाँ रणनीतिले जोगाउनेवाला छैन। त्यतिन्जेलसम्म रियल आफैँले पनि महसुस गरिसकेको हुनुपर्छ, अब जित्न सकिँदैन। दुई गोल मात्र खाएको भए पनि रियल पूर्ण रुपमा थाकिसकेको थियो। डराएको थियो। रियलका खेलाडी दौडिन त दौडिन्थे तर आखिरमा सिटीका खेलाडीसँग ठोक्किन्थे, रोकिन्थे।
यस्तो लाग्थ्यो भिनिसियस जुनियरलाई थाहा छैन, अब के गर्ने भनेर। उनी सिटीका फुलब्याक कायल वाल्करलाई छिचोल्न नसकेर वाक्क भइसकेको थिए। तब त उनले प्रयासै गर्न छाडिसकेका थिए। उनी बस् ड्रिबल गरिरहेका थिए, जसरी साना बच्चा आँगनमा एक्लै ड्रिबल गरिरहेका हुन्छन्।
खेल उत्तरार्द्धमा पुग्दै गर्दा फाउलको संख्या बढ्यो। धेरैजसो फाउन जानेरै गरिएको थियो। रियल हारको नजिक पुगेको छ भन्ने निर्क्याेल गरेरै होला, स्पेनी रेडियोका कमेन्टेटरहरूमा उत्साह बाँकी थिएन।
च्याम्पियन्स लिग रियलका लागि प्रिय प्रतियोगिता हो। यो प्रतियोगिता इतिहासको सर्वाधिक सफल क्लब रियलले यसरी हारिएला भनेर सायदै सोचेको थियो। सिटीले यतिबिघ्न दबाब देला, गोल गर्ला भनेर पनि रियलले पक्कै कल्पना गरेको थिएन।
आखिरमा सिटी ४-० ले विजयी भयो। यो गोल अन्तरमा रियलले चित्त दुखाएन। किनभने थिबाउट कोर्टुवाका कारण रियलले थप गोल खानु परेन। यदि अरु गोल भएको भए हार ऐतिहासिक हुने थियो। विकिपेडियामा यो हारको भिन्नै पेज बन्ने थियो।
उता सिटीले भने पेप ग्वार्डिओलाको प्रशिक्षणमा आजसम्मकै सबैभन्दा गतिलो प्रदर्शन गरेको हो। यो दाबी गर्न हिच्किचाउनै पर्दैन। सिटीको खेलमा कहिँ कतै दाग लगाउन मिल्ने ठाउँ थिएन।
यो यस्तो रियल हो जसले चार पटक च्याम्पियन्स लिग जितेको छ। सन् २०१५ देखि २०१८ सम्म त लगातार च्याम्पियन बन्यो। यत्तिको महान् टिममा अब बाँकी के छ? सायदै थोरै अंश मात्र। सबैलाई थाहा थियो, रियलमा परिवर्तनको आवश्यकता छ। तर यो परिवर्तन एकरातमा हुने खालको होइन।
सिटीविरुद्ध मोड्रिच असाध्यै खराब देखिए। त्रुसले पनि मोड्रिचभन्दा गतिलो खेल देखाउन सकेनन्। करिम बेन्जेमा त निकै थकित देखिए। के यी तीन फेरि रियलको टिममा देखिनेछन्? देखिएलान्। तर सँगै होइन। जब रियलले सिटीलाई ‘प्रेस’ गर्न आवश्यक थियो, यी तीन त्यो जिम्मेवारीमा थियो। तर पूर्ण रुपमा असफल भए। फेरि यस्तो असफलता असामान्य होइन। किनभने युरोपेली क्लब फुटबलमा सिटी जत्तिको पास खेल्ने टिम अर्को छैन।
तथ्यांकले पनि बोल्छ, इत्तिहादमा सिटी रियलमाथि कुनस्तरमा हाबी भयो भनेर। पहिलो गोल गर्दा सिटीले १९६ पास खेलिसकेको थियो। जबकि त्यही अवधिमा रियलले खेलेको पास संख्या थियो, ३०। रियलका रोड्रिगोले १४ मिनेट बितेपछि मात्र पहिले पटक बल छोएका थिए। पहिलो हाफभरी सिटीले ‘फाइनल थर्ड’ मा १९६ पटक टच लिएको थियो। रियलले भने जम्मा १० टच मात्र लिन सक्यो। कर्नर वा फ्रिकिक लिँदा पनि सिटी हतारिन्थ्यो। आफ्नो बक्समा रियलल व्यवस्थित हुनुअघि नै त्यहाँ बल पुर्याउने उद्देश्य सिटीको हुन्थ्यो।
च्याम्पियन्स लिग उपाधिका लागि सिटीले इन्टर मिलानको सामना गर्नेछ। टर्कीको राजधानी इस्तानबुलमा हुने यो फाइनल जित्न सिटी आतुर छ। नहोस् पनि किन, यतिबेला सिटी युरोपकै सबैभन्दा बलियो क्लब हो। सिटी एक्कासी योस्तरमा आइपुगेको होइन।
विश्वकै धनी देशमध्येको एकले चलाएको क्लबमा विश्वकै उत्कृष्ट प्रशिक्षकमध्येको एकलाई प्रशिक्षणको जिम्मा लगाइएको छ। ती प्रशिक्षकले मागेजति स्रोत उपलब्ध गराइएको छ। भनेजस्ता खेलाडी अनुबन्ध गर्ने छुट छ। जबकि पेरिस सेन्ट जर्मेन पीएसजी लाई छाडेर विश्वका कुनै पनि क्लबमा यस्तो छुट छैन।
अरु क्लब आफ्ना टिममा देखिएका समस्या एकैपटकमा हल गर्न सक्दैनन्। उनीहरु सही समय पर्खन्छन्। तर सिटी फरक छ। सिटी जतिबेला चाहन्छ उतिबेला जस्तोसुकै समस्या पनि हल गर्न सक्षम छ। ग्वार्डिओलाले राख्ने हरेक माग पूरा गर्न सिटीलाई ग्राहो छैन।
सिटीबाहेक कुनै पनि क्लबले एर्लिङ हालान्डलाई आराम दिन युलियान अल्भारेज खरिद गर्न सक्दैनन्। चार करोड ५० लाखमा अनुबन्ध गरिएका काल्भिन फिलिप्सिलाई बेन्चमा सीमित गर्ने सुविधा अर्को क्लबसँग छैन। फिल फोडन खेल्ने स्थानमा अर्को खेलाडी चाहियो, ज्याक ग्रिलिस आइपुगे। यसरी लगातार महँगा खेलाडी अनुबन्ध गर्न स्रोत हुनु सामान्य होइन।
सिटीको अनुबन्धन क्षमता खेलाडी बजारमा मात्र सीमित छैन। वित्तीय अनुशासन उल्लंघन गरेको आरोप लाग्दा, त्यस्तो आरोपलाई निस्तेज पार्न महँगा महँगा वकिल खटाउन पनि सिटी पछि पर्दैन। यसरी हेर्दा सिटी पूर्ण क्लब हो। किनभने सिटीसँग असीमित धन र राजनीतिक शक्ति छ।
रियलसँगको खेलमा सिटी एकेडेमीका खेलाडी पहिलो एघारमा थिएनन्। न त स्थानीय खेलाडी नै थिए। तर के यसले कुन अर्थ राख्छ? यसले मात्र होइन सिटीले गरेका अरु कयौँ कार्यले केही अर्थ राख्छ?
सिटी समर्थक अहिले रमाएका छन्। यो खुसीयालीमा कसैले प्रश्न उठाउने ठाउँ छैन। सिटीले लामो यात्रा तय गरेको छ। सिटीले त्यसै सफलता पाएको होइन। मैदानमा सिटीका खेलाडीले त्यत्तिकै मेहनत गरेका छन्, जति मेहनत रियल वा अरु सफल क्लबका खेलाडीले गरेका छन्। फरक यत्ति हो, सफल हुन निर्माण गरिएको जग असीमित धनले बनेको छ।
च्याम्पियन्स लिग सेमिफाइनल :
म्यानचेस्टर सिटी ४-० रियल म्याड्रिड (समग्र ५-१)
गोलकर्ता : बर्नादो सिल्भा (२३ र ३७ औँ मिनेट), म्यानुएल अकान्जी (७६ औँ मिनेट), युलियान अल्भारेज (९० औँ मिनेट)