अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा ४ जनाको ज्यान जाने गरी वनमा आगो लगाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
भूमिकास्थान-२ ढाकाबांगको बेल्वासे गाउँमा वनमा काँडामा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो। आगो लगाउने भूमिकास्थान-२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरेको हो।
जंगली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। आगलागीमा गरेर गत वैशाख २६ गते २ जना र २७ गते २ जना गरी चार जनाको मृत्यु भएको थियो। आगलागीमा परी घाइते भएकी एक महिलाको अझै उपचार भइरहेको छ।
पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्य्राइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ।
सोअनुसार ६ महिनादेखि २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्नेछ। अदालतबाट ५ दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
त्यस्तै सन्धिखर्क-७ खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। सन्धिखर्क-३, खाँचीखर्कमा आगो लगाउने ५० वर्षीया मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ। रासस