आँगनमै पानी, दंग स्थानीय

हिमाल प्रेस १ जेठ २०८० १३:४१
4
SHARES
आँगनमै पानी, दंग स्थानीय सांकेतिक तस्बिर।

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दंग छिन्।

एक गाग्रो पानीका लागि घन्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उनी खुसी छिन्।
मैयाले भनिन्, ‘घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ अहिले हाइसञ्चो भएको छ।’

पाल्चोक खानेपानी आयोजनाले झन्डै १० वर्षभन्दा बढी समय लगाएर पाँच किलोमिटर टाढाको पहरोलाई छिचोल्दै कुँडुले खोलाबाट पानी ल्याएर पाँच सय ९९ धारा बनाउन सफल भएको समितिका अध्यक्ष जिमी तामाङले जानकारी दिए।

खानेपानी तथा सरसफाइ विकास कार्यालयको सहयोगमा तीन करोड १८ लाख रुपैयाँ सहयोगमा घरघरमा खानेपानीको धारा बनेपछि दीपबहादुर खड्का निकै खुसी देखिन्छन्।

वर्षौंदेखि पानीको ठूलो समस्या भोगे पनि अहिले घरघरमै धारा र २४ सै घन्टा पानी आउन थालेपछि उनले सबैलाई धन्यवादसमेत दिए।

चौतारा साँगाचोकगढी नगरपालिका-७ को नेपानेवासीले एक सय १९ धारा पाएका छन्। नगरको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत घरघरमा धाराको व्यवस्था गरिएको हो।

नेपाने खानेपानी उपभोक्ता समितिले निर्माण गरेको धारामा पानी आएपछि स्थानीयवासीमा खुसी भरिएको छ । सुख्खा क्षेत्रको रूपमा चिनिएको सिरुबारीको नेपानेमा धारा बनेपछि खानेपानीसँगै करेसाबारीमा पानी लगाउन सहज भएको वडाध्यक्ष डम्बरबहादुर तामाङले बताए।

चौतारा बजार नजिकै रहेको हुन्द्रुङ गाउँका स्थानीयवासीले गाग्री बोकेर पँधेरा धाउन पर्ने बाध्यता हटेको छ। यसअघि खानेपानीको लागि उनीहरू बस्ती नजिकैको छाँगाखोलामा जानुपर्ने बाध्यता थियो। अहिले घरघरमा धारा निर्माण भएपछि टाढासम्म जानुपर्ने दिन अन्त्य भएकोमा स्थानीयवासी खुसी छन् ।

स्थानीय ६५ वर्षीया बुद्धिमाया घलेले भनिन्, ‘काँधमा बच्चा र आङमा पानीको गाग्री बोकेर छाँगाखोला धाउने दिन अन्त्य भएको छ। पहिले पहिले बिहान भाले बास्ने वित्तिकै घरदेखि एक किलोमिटर परको छाँगाखोलामा पानी लिन जानेको लस्कर नै हुन्थ्यो।’, उनले भने, ‘केही दिन अघिसम्म सामुदायिक धारामा जाने गरेका थियौँ अहिले घरघरमा नै धारो बनेको छ खुसी छौँ।’

गाउँमा एक सय पाँच घरधुरी रहेकोमा एक विद्यालयसहित २१ घरधुरीलाई एक घर एकधारा वितरण गरिएको छ। आयोजना निर्माणका लागि नगरपालिकाले १० लाख २६ हजार आठ सय ८९ रुपैयाँ र सेवक नेपालले पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।

उपभोक्ताबाट तीन लाख ४० हजार दुई सय रुपैयाँ बराबरको श्रमदान गरी कूल १८ लाख ६७ हजार ९७ रुपैयाँ लागतमा घरघरमा खानेपानीको धारा पुर्‍याउन सफल भएको समितिको कोषाध्यक्ष सरोजा घलेले जानकारी दिए।

प्रकाशित: १ जेठ २०८० १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast