काठमाडौँ- नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ।
संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए।
संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरंग सेवा शुल्क (ओपिडी)मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उनले बताए।
महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क नौ सय ४० रुपैयाँ देखि चार सय २० रुपैयाँ सम्म तोकिएको बताए।
नयाँ शुल्कअनुसार पाँच वर्षसम्म अनुभव भएका एमबीबीए तथा बिडिएस तहका चिकित्सकको शुल्क चार सय २० रुपैयाँ र पाँच वर्षभन्दामाथि अनुभव भएकाको पाँच सय १५ रुपैयाँ तोकिएको छ।
यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको पाँच सय ९० रुपैयाँ र त्योभन्दा बढी छ भने छ सय ७० रुपैयाँ तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडीएस तहका चिकित्सकको सात सय ५० रुपैयाँ र पाँच वर्ष बढी अनुभव भएको आठ सय रुपैयाँ शुल्क तोकिएको छ।
यस्तै पाँच वर्षसम्मको अनुभव भएका डीएम/एमसीएच तहका चिकित्सकको आठ सय ८० रुपैयाँ तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडी/एमसीएच तहका चिकित्सकको नौ ४० रुपैयाँ र दस वर्ष भन्दामाथिको अनुभव भएका एमडी/एमएस/एमडिएसका चिकित्सकको नौ सय ४० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।