घाटामा चल्दैछ सरकार

हिमाल प्रेस १ जेठ २०८० १२:५५
6
SHARES
घाटामा चल्दैछ सरकार

काठमाडौँ- सरकारी खर्चको तुलनामा राजस्व संकलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो। यो अवधिमा १० खर्ब ४७ अर्ब बराबर सरकारी खर्च हुँदा राजस्व संकलन र अनुदान प्राप्ति भने सात खर्ब ९७ अर्ब बराबर मात्रै छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार १० महिनामा सरकारले वार्षिक विनियोजनको ५८ दशमलव ४१ प्रतिशत बराबर बजेट खर्च गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो। जसमध्ये हालसम्म १० खर्ब ४७ अर्ब ७६ करोड १० लाख बराबर खर्च भएको छ।

वैशाख मसान्तसम्ममा चालु खर्च ६६.४९, पुँजीगत खर्च ३३.०४ र वित्तीय व्यवस्थातर्फको खर्च ५८.७९ प्रतिशत बराबर छ।

चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड बराबरको बजेट ल्याइएकामा हालसम्म ७ खर्ब ८६ अर्ब ७४ करोड बराबर खर्च भएको छ। त्यस्तै तीन खर्ब ८० अर्ब ३८ करोड बराबरको विकास बजेट चालु आर्थिक वर्षका लागि छुट्याइएकामा १० महिनामा १ खर्ब २५ अर्ब ६७ करोड बराबर मात्रै खर्च भएको छ।

यस अवधिमा भएको बजेट खर्चको अवस्था हेर्दा पुँजीगत शीर्षकमा भन्दा वित्तीय व्यवस्थातर्फको बजेट खर्च धेरै छ। वैशाख मसान्तसम्ममा वित्तीय व्यवस्थातर्फ १ खर्ब ३५ अर्ब ३३ लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा हुने खर्च मुख्यगरी सरकारी ऋणको साँवा ब्याजलगायतमा खर्च हुने गरेको छ।

वैशाख मसान्तसम्ममा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ५४.६६ प्रतिशत बराबर छ। चालु आर्थिक वर्षका लागि १४ खर्ब ३ अर्ब १४ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको सरकारले हालसम्म ७ खर्ब ५६ अर्ब २५ करोड ३१ लाख बराबर मात्रै असुल गरेको हो।

त्यस्तै चालु आर्थिक वर्षका लागि ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा लक्ष्यको ८.६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड बराबर मात्रै अनुदान आएको छ।

गत वर्षको वैशाख मसान्तसम्मको तुलनामा यस वर्षको सोही अवधिमा आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) घटेको छ भने अन्तःशुल्क असुली बढेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १ खर्ब ५९ अर्ब पाँच करोड बराबर आयकर संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७३ अर्ब ४० करोड बराबर आयकर संकलन भएको थियो।

त्यस्तै गत वर्षको तुलनामा भ्याट पनि न्यून उठेको छ। गत वर्ष वैशाख मसान्तसम्ममा ९० अर्ब ६८ करोड भ्याट उठेकामा चालु आर्थिक वर्षको सोही अवधिमा ८८ अर्ब ६७ लाख बराबर असुली भएको छ।

गत वर्षको तुलनामा अन्तःशुल्क भने केही बढेको छ। वैशाख मसान्तसम्ममा ८४ अर्ब ११ करोड बराबर अन्तःशुल्क असुली भएको छ। गत वर्षको सोही अवधिमा अन्तःशुल्क ८३ अर्ब ८८ करोड बराबर थियो। -रासस

प्रकाशित: १ जेठ २०८० १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =