
काठमाडौँ- सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा गरिरहेको कारबाहीमा पूर्वराजदूत नीलाम्बर आचार्यले समर्थन जनाएका छन्। टंकप्रसाद आचार्य प्रतिष्ठानले आयोजना गरेको नक्कली शरणार्थीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपस्थित वक्ताहरूले भुटानी शरणार्थी प्रकरणमा सरकारको समर्थन गरेका हुन्।
आचार्यले सिद्धान्त नमिल्ने पार्टीहरूले एकअर्कासँग गर्ने एकता भ्रष्ट र अपराधकर्महरू ढाकछोप गर्नका लागि गरिने बताए। भूटानी शरणार्थी प्रकरणमा वर्तमान सरकारले सक्षमता प्रदर्शन गर्न आवश्यक रहेको उनले बताए। नक्कली भुटानी शरणार्थी प्रकरण एउटा घनिभूत संगठित अपराध भएको उनको भनाइ थियो।
नक्कली शरणार्थी मात्रै नभएर मानव तस्कर र राज्यविरुद्धको राज्यलाई खोक्रो पार्ने अपराध भएको टिप्पणी उनको थियो। अपराधमा संलग्न हुनेहरू धेरै शक्तिशालीहरू हुने र उनीहरूलाई संरक्षण दिनेहरू महाशक्तिशालीहरू रहेको बताए।
नक्कली भूटानी शरणार्थी प्रकरणले नेपालको शासन व्यवस्था कता गइरहेको छ भन्ने देखाउने उनको भनाइ थियो। त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले प्रहरीले आफ्नै पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु शाहसीपूर्ण काम भएको बताए।
उनले सरकार दृढतापूर्वक लाग्दा कुनै पनि काम गर्न सकिने कुरा नक्कली भुटानी शरणार्थी प्रकरणले देखाएको बताए। भ्रष्टाचार विरुद्धमा सबै एक जुट हुनसके देशलाई परिवर्तन गर्न सकिने उनको भनाइ थियो।
त्यस्तै ,स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालमा सम्पूर्ण पार्टी नीतिगत भ्रष्टाचारमा लिप्त रहेको बताए। सांसद सिंहले नेपालमा भ्रष्टाचार विभिन्न रूपमा हुने गरेको बताए। नेपालका १ हजार मानिसहरूको पैसा दुबईमा क्यापिटल फ्लाइटमार्फत गएको दाबी गरे।