काठमाडौँ- पाकिस्तानको राजधानी इस्लामाबाद शुक्रबार सेनाको नियन्त्रणमा रहेको सहरजस्तै देखिन्थ्यो। सहरका साना–ठूला सडकमा ‘सिपिङ कन्टेनर’ र ट्रक तेर्साइएका थिए। यसो गर्नुको मुख्य उद्देश्य थियो, आवतजावतमा अवरोध पुर्याउनु। ताकि इमरान खानको समर्थनमा कसैले सडक आन्दोलन गर्न नसकोस्।
इमरान गत मंगलबार इस्लामाबाद उच्च अदालत परिसरबाट पक्राउ परेका थिए। पाकिस्तानमा भ्रष्टचारसम्बन्धी मामला छानबिन गर्ने केन्द्रीय निकायले अर्धसैनिक बल पाकिस्तान रेन्जर्सको सहयोगमा इमरानलाई पक्राउ गरेको थियो। प्रधानमन्त्री छँदा इमरानले ‘मनी लन्ड्रिङ’ को मुद्दा खेपिरहेका एक जग्गा व्यावसायीबाट सात अर्ब बराबरको जग्गा घुसवापत लिएको र त्यसबारे छानबिन गर्न उनलाई पक्राउ गरिएको पाकिस्तानी सरकारको भनाइ थियो।
तर पूर्वप्रधानमन्त्री इमरानको गिरफ्तारीलाई पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार गैरकानुनी घोषित गरिदियो। सर्वोच्च अदालतको यस्तो फैसलापछि इमरान पुरानै पारामा मुस्कुराउँदै अदालतबाट निस्किए। अदालतले यी ७० वर्षीय पूर्वक्रिकेटरलाई आफ्ना समर्थकलाई आन्दोलन रोक्नका लागि आह्वान् गर्न पनि आग्रह गर्यो।
इमरान दुई दिनसम्म हिरासतमा बसे। इमरानलाई हिरासतमा राखिँदै गर्दा पाकिस्तानका सडकमा उनका समर्थकले आन्दोलन सुरु गरिसकेका थिए। आन्दोलनकारी र प्रहरीबीचको झडपका क्रममा पाँच जनाले ज्यान पनि गुमाए। आन्दोलनकारीले प्रहरीको गाडी त जलाए नै, सेनाका भवनमा पनि आक्रमण गरे। देशको राजनीतिभन्दा माथि रहेको पाकिस्तानी सेनाका भवनलक्षित ढुंगामुढा हुनु सामान्य घटना होइन।
इमरानमाथि मलिक रियाज नाम गरेका व्यापारीबाट जग्गा लिँदा उनको ५० अर्ब (पाकिस्तानी रुपैयाँ) लाई वैधानिकीकरण गरिदिएको आरोप छ। रियाजबाट लिएको जग्गा इमरान र उनकी श्रीमतीले स्थापना गरेको अल कादिर विश्वविद्यालय ट्रस्टको नाममा दान गरिएको बताइन्छ। यो ट्रस्टले हाल अल कादिर विश्वविद्यालय निर्माण गरिरहेको छ।
इमरानलाई पक्राउ गर्ने ‘नेसनल एकाउन्टिबिलटी ब्युरो (एनएबी)’ सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री तथा सेना प्रमुख जेनर परभेज मुसरफको पालामा स्थापना भएको संवैधानिक निकाय हो। जसले सन् २००८ यता मात्रै हालका प्रधानमन्त्री शेहबाज शरिफ, पूर्वराष्ट्रपति आशिफ अली जरदारीलगायत शीर्ष नेताहरूमाथि छानबिन गर्ने र उनीहरूलाई जेल हाल्ने काम गरेको छ।
एनएबीमाथि विपक्षी दलका नेताहरूलाई झुटो मुद्दा लगाउने आरोप लाग्दै आएको छ। एक फरक मुद्दाको तारेखका लागि अदालत पुगेका बेला एनएबीले इमरानलाई नियन्त्रणमा थियो। इमरानलाई आखिरमा उच्च अदालतले धरौटीमा रिहा गरेको हो।
इमरान थुनामा रहुन्जेल पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का कार्यकर्ताले यसरी आन्दोलन गरे कि त्यसले प्रधानमन्त्री शेहबाजलाई सेनासँग सहयोग माग्न बाध्य बनायो। शेहबाजले सेनालाई पन्जाब र खाइबर पख्तुनख्वासँगै राजधानी इस्लामाबादलाई नियन्त्रणमा लिन आग्रह गरे। यी तीन क्षेत्रमा पाकिस्तानको दुई तिहाइ जनसंख्याको बसोबास छ। अनलाइनमा इमरान खानका समर्थकले सरकारविरोधी माहोल सिर्जना गर्ने डरले सरकारले इन्टरनेट, सामाजिक सञ्जालमाथि आंशिक प्रतिबन्ध लगायो।
समर्थकका लागि इमरान राष्ट्रवादी नेता हुन्। जसको हत्या प्रयाससमेत भएको छ। विरोधीका लागि भने इमरान अस्थिरताका मुख्य कारक हुन्। इमरान अप्रिल, २०२२ मा सत्ताबाट बाहिरिन बाध्य भएका थिए। उनको सरकार ढलेपछि शेहबाज प्रधानमन्त्री बनेका थिए। तर यही वर्ष हुने भनिएको निर्वाचनमा इमरानको पार्टी पीटीआईले सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग एन (पीएमएल–एन) लाई पराजित गर्ने अनुमान छ।
एक वर्षअघि विश्वासको मत नपाएर सरकारबाट बाहिरिनु परे पनि इमरान फेरि एकपल्ट पाकिस्तानको सबैभन्दा शक्तिशाली नेताका रुपमा स्थापित भएको बताइँदैछ। उनको गिरफ्तारीपछि इस्लामाबाद र देशका अरु मुख्य सहरमा देखिएका दृश्यका कारण यस्तो तर्क गरिएको हो। उनी यो उचाइमा पुगेको हो वा होइन, भविष्यमा प्रमाणित हुने नै छ।
‘आउँदा दिनमा इमरानको नेतृत्व क्षमताको कडा परीक्षा हुनेवाला छ,’ कुनैबेला संयुक्त राष्ट्रसंघमा पाकिस्तानी प्रतिनिधी रहेका मालिहा लोधी भन्छिन्, ‘अब उनले गर्नुपर्ने दुईवटा काम छन्। पहिलो, उनले आफ्ना समर्थकलाई एकत्रित गर्दै यसबीचमा भएका हिंसाको विरोध गर्नुपर्छ। दोस्रो, यदि उनलाई अदालतत र छानबिन निकायले प्रश्न गर्छन् भने उनले जवाफ दिनुपर्छ।’
इमरान सन् १९५२ मा लाहोरको एक सम्पन्न परिवारमा जन्मिएका थिए। भलै उनी आफूलाई सामान्य मानिस दाबी गर्छन्। पाकिस्तानी राजनीतिमा व्याप्त परिवारवादलाई छिचोलेर आफू स्थापित भएको उनको जिकिर छ। लाहोरमा धनीमानीका छोराछोरी पढ्ने विद्यालयबाट औपचारिक अध्ययन सुरु गरेका इमरान अक्सफोर्ड विश्वविद्यालयसम्म पुगे। जहाँ उनले दर्शन, राजनीति र अर्शशास्त्र पढे।
पाकिस्तानमा इमरानको उदय भने क्रिकेटले गराएको हो। उनी सन् १९८२ मा पाकिस्तानी राष्ट्रिय टिमको कप्तान बने, १९९३ मा विश्वकप विजेता नै बनाए। त्यसपछि त उनी प्रत्येक पाकिस्तानीका लागि नायक भइहाले। विश्वकप विजेता बनेको तीन वर्षपछि उनले विवाह गरे। बेलायती पत्रकार तथा चलचित्रकर्मी जेमिना गोल्डस्मिथसँगको उनको जोडी धेरै टिकेन। सन् २००४ मा यी दुई छुट्टिए।
यसबीचमा इमरान राजनीतिमा होमिइसकेका थिए। पाकिस्तानी राजनीतिमा स्थापित हुन उनले क्रिकेट खेलेर कमाएको लोकप्रियतालाई त उपयोग गरे नै, त्यसबेला स्थापित परिवारवादको पनि चर्को आलोचना गरे। पाकिस्तानको राजनीतिमा सक्रिय ती विभिन्न परिवारबाहेक प्रभावशाली उद्योगपति तथा व्यापारी पनि उनको निशानामा परे।
सन् १९९६ मा स्थापित उनको दलले २००१ को निर्वाचनमा जम्मा एक सिट जित्न सक्यो। त्यसको १० वर्षपछि उनले जे गरे, त्यसले उनलाई आम पाकिस्तानी नागरिकमा मात्र होइन, सेनाभित्र पनि लोकप्रिय बनायो। उनले अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानी गाउँ गाउँमा अभियान चलाए। जसको एकमात्र उद्देश्य थियो, अमेरिकाले ड्रोनमार्फत गरिरहेको आक्रमणको चर्को विरोध।
शक्तिमा पुग्दै गर्दा इमरानले आफ्नो छवि पनि परिवर्तन गरे। कुनैसमय ‘प्लेब्वाई’ का रुपमा परिचित इमरान अब पाकिस्तानी नागरिकमाझ सच्चा मुस्लिम बनिसकेका थिए। सन् २०१८ मा बु्रसा बिबीलाई तेस्रो श्रीमती बनाएका इमरानको ध्यान अब भ्रष्टचारविरोधी आन्दोलनमा थियो। पारम्पारिक दललक्षित आन्दोलनले उनलाई सेनासँग थप नजिक बनायो।
इमरान सन् २०१८ मा प्रधानमन्त्री बने। सरकार चलाउन थालेको दुई वर्ष नबित्दै उनीविरुद्ध विपक्षी दलले मोर्चा बनाउन थालिसकेको थिए। सडक आन्दालेन नै थालेका उनीहरुको आरोप थियो, इमरान सेनाको बलमा प्रधानमन्त्री बनेका हुन्, सेनाले जे भन्यो त्यही मान्छन्। उनको राजीनामा समेत माग्न थालियो। सन् २०२१ बाट भने इमरान र सेनाबीच नै सम्बन्ध बिग्रन थाल्यो। आफूले चाहेको जेनरललाई सेना प्रमुख बनाउन नसकेपछि इमरान सैन्य नेतृत्वको आलोचक बने।
सेनासँग मात्र होइन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) जस्ता दातासँग पनि इमरानले सम्बन्ध बिगारे। सन् २०२२ आइपुग्दा त पाकिस्तानको अर्थतन्त्रमा संकटमा परिसकेको थियो। त्यसमाथि रुस–युक्रेन युद्धका कारण आयात हुने खाद्यवस्तु तथा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो। मूल्यवृद्धि नियन्त्रण हुन नसकेपछि आम नागरिकले इमरान नेतृत्व सरकारको आलोचना गर्ने नै भयो। विस्तारै उनीविरुद्धको मोर्चा संसद्मा समेत बलियो भयो। जसकारण उनले विश्वासको मत पाउन सकेनन्। सरकारबाट बाहिरिँदै गर्दा इमरानले अमेरिका र आफ्नै देशको सेनामाथि गम्भीर आरोप लगाए। यी दुईका कारण आफ्नो सरकार ढलेको उनको दाबी थियो। अमेरिका र सेनाले इमरानले लगाएको आरोपको खण्डन गरे।
पछिल्ला महिनाहरुमा पाकिस्तानको अर्थतन्त्र झनै बिग्रिएको छ। महंगी यति बढेको छ कि त्यसले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिलाई तहसनहस बनाइदिएको छ। पाकिस्तानी अर्थ व्यवस्थामा कमजोर बन्दै जाँदा इमरानको राजनीतिक छवि फेरि एकपल्ट उकालो चढिरहेको छ। तुरुन्त निर्वाचन गर्न माग राख्दै उनले देश दौडाहा गरेका छन्। उनले नागरिकमाझ आफ्नो विश्वसनीयता बढाउन सकेजति प्रयास गरेका छन्। रामादानको बेला उनी लाहोरस्थित आफ्नो निवासबाहिर कार्यकर्तासँग खाना खाइरहेका थिए। कार्यकर्तालाई सम्बोधन गर्दा उनले पाकिस्तानमा बढ्दो महंगीका विषय उठाउने गरेका छन्।
निर्वाचन लक्षित विभिन्न गतिविधि गरिरहेको इमरानले निर्वाचनमा प्रतिस्पर्धा नै गर्न नपाउने हुन् कि भन्ने शंका छ। अल कादिर मामलामा उनलाई जेल पठाउन सत्ता पक्ष हरसम्भव कोशिस गरिरहेको छ। घुस खाएको प्रमाणित भएमा उनी जेल चलान हुने नै छन्। जसले उनको राजनीतिक करियर संकटमा पार्नेछ।
सम्पन्न परिवारबाट आएको भए पनि इमरानले आफ्नो छवि सडकबाटै निर्माण गरेका हुन्। पटक पटकको आन्दोलन र अभियानका कारण पाकिस्तानी राजनीतिमा स्थापित भएका इमरानको आगामी दिन भने सहज छैनन्। एक त कानुनी चुनौती पार गर्नुछ भने निर्वाचनमा नेतृत्वदायी क्षमता फेरि एकपटक प्रमाणित गर्नुछ। र, यो बीचमा पाकिस्तानी नागरिकको मन शान्त रहने छैन। किनभने पाकिस्तान हिंस्रक आन्दोलनको संघारमा छ।
रोयटर्स र फाइनान्सियल टाइम्सको सहयोगमा