मोरङ- विगतमा वैशाख पहिलो सातादेखि जंगलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन। जंगलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन्।
मोरङको उत्तरी भेगको जंगलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ। यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर डढेलोलेको कारण जंगलमा सिला खोज्ने पनि अवस्था नरहेको बेलबारी–१० भाउन्नेका टेकबहादुर याखा बताउँछन्।
याखा विगत पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गको चिसाङ खोला डिलमा निगुरो बेच्दै आएका छन्। ‘यो साल समयमा पानी पर्न सकेन, अझै केही समय यस्तै हो भने यो साल निगुरो खान पाइन्छ जस्तो छैन’, याखा बताउँछन्।
पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका सामुदायिक वनमा पाइने निगुरो टिप्न विगत वर्षहरूमा बिहानैदेखि साँझसम्म स्थानीयको जंगलमा भीड नै हुन्थ्यो।
सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलाउने गरेको बेलबारी–११ का मेघराज बस्नेत बताउँछन्। उनी निगुरो टिपेर ल्याउनेसँग खरिद गरेर काठमाडौँ पठाउने गरेको बताउँछन्।
मौसमले साथ दिने हो भने दैनिक दर्जनौँ गाडी निगुरो काठमाडौँ, पोखरालगायत सहरमा निर्यात हुन्छ तर यस विषयमा सरकारी निकायले नत कुनै तथ्यांक नै राखेको छ नत चासो नै।
कृषि मन्त्रालय कोशी प्रदेशका प्रवक्ता पशुपति पोख्रेलका अनुसार हालसम्म मन्त्रालयमा निगुरो निर्यातको विषयमा कुनै पनि तथ्यांक नरहेको बताए।
व्यावसायिक हिसाबले किसानद्वारा उत्पादित वस्तुको मात्र मन्त्रालयले तथ्यांक राखेको तर जंगलमा आफैँ उम्रिएको निगुरोको विषयमा कुनै पनि तथ्यांक नरहेको तर सामुदायिक वनले तथ्यांक राखेको हुनसक्ने प्रवक्ता पोख्रेल बताउँछन्।
चैत दोस्रो हप्तादेखि जंगलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिने र जति टिप्यो त्यति राम्रो निगुरो पलाउने निगुरो व्यवसायी भद्रमाया भट्टराई बताउँछिन्।
उनका अनुसार केही वर्ष पहिले यसरी निगुरो काठमाडौँ निर्यात हुँदैन थियो र बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्याउनु पर्थ्यो। ‘तर अहिले अरूले टिपेर ल्याएको हामीले सङ्कलन गछौँ र हामीसँग काठमाडौँका व्यापारीले किनेर लैजान्छन्’, उनी भन्छिन्।
जनसेवा सामुदायिक, कमलपुर सामुदायिक, सिंहदेवी सामुदायिक, सिर्जना र लक्ष्मी सामुदायिक वनमा दैनिक निगुरो टिप्न आउने धेरै भएकाले पनि यस क्षेत्र निगुरो संकलन केन्द्रका रूपमा विकसित हुँदै गएको छ। विद्यालय तथा कलेजस्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन्।