शिक्षामन्त्री भन्छन् : अहिलेको संसद् अधिवेशनबाट संघीय शिक्षा ऐन प्रस्तुत हुन्छ

हिमाल प्रेस २९ वैशाख २०८० १५:१४
484
SHARES
शिक्षामन्त्री भन्छन् : अहिलेको संसद् अधिवेशनबाट संघीय शिक्षा ऐन प्रस्तुत हुन्छ फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्‌मा प्रस्तुत गर्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले सो कुरा बताएका हुन्। उनले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताकासाथ काम अघि बढाइरहेको बताए।

‘शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ र यो धेरै पहिला नै मस्यौदा भइकन प्रक्रियामा अघि बढेको तर सरकार परिवर्तन हुने अवस्थाले मन्त्रिपरिषदमा पुग्दै फिर्ता आउने गरेको रहेछ,’ उनले भने, ‘अहिले पनि यो प्रक्रियामा छ, यो कानुन मन्त्रालयमा छ। हामीले कानुन मन्त्रालयलाई निरन्तर अनुरोध गरिरहेका छौँ। तर्जुमाका दृष्टिकोणबाट भएका कमीहरू हटाउने सिलसिलामा कानुन मन्त्रालयले हेर्नुपर्ने त्यहाँ अलि समय लागिरहेको छ, धेरै कानुनहरु प्रक्रियामा रहेकाले हुनसक्छ।’

उनले पहिला पनि मस्यौदा तयार भइ मन्त्रीपरिषद्मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानुन, न्याय तथा संसद्‌ीय मामिला मन्त्रालयमा पुनः पठाएको बताए।

‘जारी अधिवेशनमा त्यसलाई प्रवेश गराउनुपर्छ भन्ने अठोटका साथमा काम गरिरहेका छौँ। विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्थामा अहिले समिति सचिवले दिनुभएको तथ्यांक भयावह छ,’ उनले भने, ‘यो मनोपरामर्श सम्बन्धी सामान्य कुराहरु त पाठ्यक्रममा छ तर त्यो भन्दा अलि सुधार गरेर यसलाई समाधान गर्ने ढंगले अघि लैजानुपर्ने अवस्थामा पाठ्यक्रमको पुनः मूल्यांकन गर्ने प्रक्रिया चलिरहेको छ, त्यस सम्बन्धमा हामीले आवश्यक ध्यान दिनुपर्छ।’

उनले कानुन मन्त्रालयमा धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताए। उनले विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मूल्यांकन गरेर अघि बढ्ने बताए। मन्त्री राईले विश्वविद्यालयहरुको छाता विधेयक पनि कानुनी प्रक्रियाको चरणमा रहेको बताए।

प्रकाशित: २९ वैशाख २०८० १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =