काठमाडौँ- अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (आईएफआरसी)को महासचिवमा जगन चापागाईं पुनः नियुक्त भएका छन्। थप ४ वर्षका लागि चापागाईंले आइएफआरसीको महासचिवको जिम्मेवारी पाएका हुन्।
जेनेभामा बुधबार बसेको आईएफआरसीको ‘गभर्निङ बोर्डले’ उनलाई अर्को कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो। ‘हालैका वर्षहरूमा जगनले गरेका काममा गर्व गर्छौं र उहाँसँग भविष्यमा काम गर्न पनि हामी तत्पर छौ,’ आईएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काले पुनः नियुक्तिपछि भने, ‘चापागाईंले महासचिवका रूपमा फेरि ४ वर्ष काम गर्नुहुनेछ। उहाँ अहिले भन्दा पनि शसक्त भएर काम गर्नुहुनेछ।’
पुनः आफूलाई नै महासचिव नियुक्त गरेलगत्तै चापागाईंले आफूले आईएफआरसीको गभर्निङ बोर्ड र अध्यक्ष फ्रान्सेस्कोको विश्वास पाउँदा सम्मानित भएको अनुभूति गरिरहेको बताए। ‘यो ठूलो जिम्मेवारी हो र चुनौतीका चाङ पनि छन्,’ उनले भने, ‘तर म र मेरो टिम समाधान खोज्न र सेवा गर्ने समुदायबीच निष्ठाका साथ काम गर्नेछौँ।’
महासचिव चापागाईं नेपाली नागरिक हुन्। उनले यसअघि अन्तर्राष्ट्रिय रेडक्रसमा लामो समय काम गरेका छन्। उनी यसअघि पनि महासचिव भएका र अन्तर्राष्ट्रिय समुदायसँग घुलमिल व्यक्तिका रूपमा चिनिन्छन्।