
काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केही समयअघिबाट सुरु भएको छ।
एमाले मुख्यालय च्यासलमा बैठक सुरु भएको छ। बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।
उनले समसामयिक राजनीतिक विषयमा अन्य नेतालाई जानकारी दिने कार्यक्रम छ। यसपछि महासचिव शंकर पोखरलले बैठकका एजेन्डाबारे जानकारी दिने कार्यक्रम छ।
एमालेको अघिल्लो केन्द्रीय कमिटी बैठकयताका निर्णयहरूको जानकारी, अनुमोदन, प्रदेश कमिटीको वार्षिक कार्ययोजना, स्थायी कमिटीको बैठक, कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापन, समसामयिक प्रस्ताव आदि विषय छन्।
तीन दिनसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।
एमालेको भावी रणनीति तय गर्न नेताहरूलाई समूहगत छलफल गर्न लगाउने जनाएको छ। महासचिव पोखरेलका अनुसार भोलिबाट समूहगत छलफल सुरु हुनेछ।
१० समूहमा सदस्यहरूलाई विभाजित गरेर छलफल गर्ने कार्यक्रम छ।