काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने र बैंकको ब्याजदर घट्ने बताएका छन्। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे राष्ट्रिय सभाको छलफलमा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो जानकारी दिएका हुन्।
उनले भने, ‘मलाई विश्वास छ– राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि ब्याजदर घट्छ, घटेपछि लागत कम हुन्छ। व्यापारका लागि ऋण लिनेहरुको लागत कम हुन्छ।’
उनले बैंकको ब्याजदर घटेसँगै व्यापारका लागि ऋण लिनेहरुको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने विश्वास गरे। सरकारका तर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको उनको भनाइ छ।
महतले भने, ‘अहिले राजस्व घटेको छ। अवश्य पनि अहिले पुँजीगत खर्च कम छ। त्यसले हाम्रो लक्ष्यअनुसारको आर्थिक वृद्धि भएन, अब पुँजीगत खर्चको प्रभाव बढाउनुपर्छ।’ मन्त्री महतले संयन्त्रमा रहेको ढिलासुस्ती स्वीकार गर्दै भने, ‘अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्ति छ त्यसलाई अन्त्य गर्नुपर्छ। खर्चको मनिटरिङ पहिलो दिनदेखि नै गर्नुपर्छ।’
अर्थमन्त्री महतले आगामी वर्षको बजेट सीमित वर्गलाई मात्रै समेटेर नल्याउने स्पष्ट पारे।