घुर्ने समस्या छ? निद्रा प्रयोगशाला जानुस्

हिमाल प्रेस २६ वैशाख २०८० १५:३०
6
SHARES
घुर्ने समस्या छ? निद्रा प्रयोगशाला जानुस्

काठमाडौँ- के तपाईंलाई निद्रामा घुर्ने समस्या छ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैनरु घुराइका कारण सँगै सुत्नेलाई पनि तपाईं ठूलै समस्या बन्नु भएको होला। तर अब यसको चिन्ता गर्नु पर्दैन। काठमाडौँको वीर अस्पतालमा सञ्चालन गरिएको स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर तपाईंको उपचार गरिनेछ।

मानिसमा आएको पछिल्लो जीवनशैलीका कारणले घुर्ने समस्या देखिने गरेको छ। मोटोपन, खानापान र फेरिएको जीवनशैलीले मानिसमा राति सुत्दा घुर्ने समस्या हुने गरेको छ। मानिसमा उच्च रक्तचाप, मोटोपना, मधुमेह, हृदयाघात कोलस्ट्रोल रोगसँगै घुर्ने रोगको समस्या पनि बढिरहेको छ।

चिकित्सकले राति एकदमै घुर्ने व्यक्तिलाई उपचारका लागि स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर उपचार गर्ने गरेका छन्। घुर्ने समस्या भएका बिरामीलाई यस प्रयोगशालामा परीक्षणका लागि राति सुताइन्छ। बिरामीसँगै कुरुवा पनि सुत्ने गर्दछन्।

वीर अस्पतालका छाती तथा निद्रा रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठले मोटोपनका कारण मानिसमा घुर्ने समस्या बढिरहेको बताए। उनले मोटोपन भएको व्यक्ति घुर्ने, घुर्दा श्वास रोकिने, आत्तिने, बेलाबेलामा उठ्ने जस्ता समस्या पनि देखिने गर्दछ।

राति बिरामीलाई राखेर निद्राको परीक्षण गरिन्छ। ‘राति बिरामीको शरीरमा लिडहरू जोड्छौँ। राति सुतेको बेला त्यो व्यक्तिको गहिरो निद्रा कति छ भनेर सफ्टवेयरमा रेकर्ड गर्दछौँ,’ उनले भने, ‘कति टक घुर्‍यो, घुर्दा कतिपटक श्वास रोकियो, कतिपटक बिउँझियो जस्ता सबै रेकर्ड गर्दछौँ। त्यो चेकजाँचमा उसको घुराइ नरम कडा के हो भनेर हामीले छुट्टाएर औषधि उपचार गर्दछौँ।’

निद्रा प्रयोशालामा घुराइको मापन गरेपछि उपचार विधि अवलम्बन गरिन्छ। कडा घुराइका सिप्याप थेरापीबाट उपचार गरिन्छ। सिप्याप थेरापीमा बिरामीलाई मास्क लगाएर सुत्छ, राति सास पनि रोकिँदैन, घुराइ पनि हुँदैन, अक्सिजन पनि कम हुँदैन। ‘सिप्याप थेरापीबाट उपचार गर्दा केही दिनमा नै बिरामीको घुराइ बन्द हुन्छ, निद्रा राम्रा पर्छ, दिउँसो निद्रा लाग्दैन। उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा हुन्छ,’ उनले भने, ‘अहिले वीर अस्पतालमा उपचारमा आउने धेरै बिरामीलाई हामीले सिप्याप थेरापीबाट उपचार गर्ने गरेका छौँ।’

नेपाली बजारमा सिप्यापको मूल्य एक लाख २० हजार रुपैयाँ पर्दछ। सबै चिकित्सकले बिरामीले सिप्याप थेरापी किन्न नसक्नेलाई डेन्टल डिभाइस प्रयोग गर्न आग्रह गर्दछन्। सिप्याप थेरापी बिरामीले घरमा नै प्रयोग गर्न सक्दछन्।

डा. श्रेष्ठ वीर अस्पतालमा आएका प्रायःजसो सबै बिरामीलाई सिप्याप थेरापी प्रयोग गर्नुपर्ने खालका रहेको बताउँछन्। ‘अस्पतालमा आएकामध्ये धेरैजसो बिरामी कडा घुराइ समस्या देखिएको छ,’ उनले भने, ‘त्यस्ता बिरामीलाई सिप्याप थेरापी प्रयोग गरेर उपचार गर्ने गरिन्छ।’ अस्पतालमा युवा अवस्थाका बिरामी धेरै आउने गरेको उनको भनाइ छ।

निजी अस्पतालमा एक रातको १४ देखि २० हजार तिर्नुपर्दछ तर वीरमा एक रातको तीन हजार शुल्क तोकिएको छ। निजी अस्पतालमा १०–१२ वर्षदेखि नै स्लिप ल्याब रहेको छ। वीर अस्पतालमा भने चार महिनादेखि सञ्चालनमा ल्याइएको छ। निजीभन्दा वीर अस्पतालमा सस्तो भएपछि धेरै बिरामी आउने गरेका छन्।

अस्पतालमा रहेको निद्रा प्रयोगशालामा उपचार गर्न बिरामीले पालो भने कुर्नुपर्ने हुन्छ। एउटा मात्र प्रयोगशाला सञ्चालनमा रहेकाले बिरामीले पालो कुर्नुपर्ने हुन्छ।

घुर्ने बिरामीका लागि सञ्चालनमा ल्याइएको वीरको स्लिप ल्याब हप्ताको एक दिन मात्र सञ्चालन गरिएको इन्चार्ज बिनिता पौडेल बताउँछिन्। ‘एउटा मात्र प्रयोगशाला रहेको छ। त्यो पनि हप्तामा एकपटक मात्र चल्ने हुँदा छ बिरामीले दुई महिनासम्म पालो कुर्नु पर्ने अवस्था रहेको छ,’ उनले भनिन्। उनका अनुसार प्राविधिक पनि नभएर प्रयोगशालालाई दैनिक सञ्चालन गर्न समस्या भएको छ। दक्ष प्राविधिक नहुँदा नर्स पौडेललाई नै तालिम दिएर सिकाइएको छ।

रिपोर्टकै आधारमा कडा, मध्यम र सामान्य कस्ता खालको घुर्ने समस्या छ भनेर थाहा हुने र सोहीअनुसार उपचार गरिने उनको भनाइ छ। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले घुराईसम्बन्धी रोग बढ्दै गएपछि निद्रा प्रयोगशाला राखिएको बताए। उनले जनशक्ति थप गरेर हरेक दिन सञ्चालन गर्ने व्यवस्था मिलाइने बताए।

धेरै घुर्ने मानिसमा राति सुतेको बेला श्वासै रोकिएर ब्युँझिने, गहिरो निद्रा नपर्ने र दिउँसो धेरै निद्रा लाग्ने जस्ता समस्या देखिने गर्दछ। घुराइसम्बन्धी यस रोगलाई ‘आब्स्ट्रोक्टिव स्लिप एप्निया’ (कडाइ घुराइसम्बन्धी रोग) भनिन्छ।

यस्तै घुराइ गर्दा गहिरो निद्रा नपरेपछि दिउँसो काम गर्ने ठाउँमा निदाइदिने, गाडी, स्कुटर वा बाइक चलाउँदा चलाउँदै निदाउने हुन्छ। कडा खालको घुर्ने रोग हुँदा राति बारम्बार पिसाब लागिरहने, बिहान उठ्दा घाँटी दुख्ने, रुघा लागेको जस्तो हुने, घाँटी खसखस हुने जस्ता समस्या लिएर अस्पताल आउने गरेको उनी बताउँछन्।

डा. श्रेष्ठका अनुसार मोटो मानिसको घाँटीमा बोसो बढ्छ र हावा जाने नली साँघुरिन्छ। त्यस्ता व्यक्ति गहिरो निद्रामा हुँदा घाँटीको मसलहरू आराम गर्छन् र हावाको नली साँघुरिँदै जाँदा बन्द हुन्छ। यसले गर्दा बिरामीलाई श्वास फेर्न गाह्रो भई घुर्ने गर्छन्। उनका अनुसार कडा घुर्ने रोग ९० देखि ९५ प्रतिशत मोटो व्यक्तिलाई देखिने गरेको छ। तर पाँचदेखि दश प्रतिशतमा जन्मजात घाँटीमा र चिउडीको बनावट बिग्रिएर पनि सानैबाट घुर्ने समस्या देखिने गरेको छ।

विश्वमा ६ देखि २० प्रतिशत मानिसहरू घुराइ समस्याका बिरामी भएका छन्। नेपालमा ६ प्रतिशतमात्र मान्ने हो भने १८ देखि २० लाख मानिस कडा घुराइ रोगबाट ग्रसित गरिएको आकलन गरिएको उनको भनाइ छ।

मानिसले घुर्नेलाई सामान्य लिने गरेको पाइएको भन्दै तर अहिले घुर्ने रोगका रूपमा देखिएको उनी बताउँछन्। ‘मानिसहरूले घुर्नेलाई सामान्य रूपमा लिएका छन् तर त्यसो होइन। धेरै कमलाई मात्र घुर्ने रोग हो भनेर थाहा छ। कडा घुराइ ज्यान जान पनि सक्छ। त्यसैले घुर्ने समस्यालाई बेवास्ता गर्नु हुँदैन,’ उनले भने।

अस्पतालमा आउने प्रायःजसोमा कडा किसिमका घुर्ने रोगका बिरामी हुने गरेको उनी बताउँछन्। ‘अस्पतालमा प्रायः जसो राति धुराइका कारणले गहिरो निद्रा नपरेर दिउँसो निद्रा लाग्ने, मोटोपना, उच्च रक्तचाप नियन्त्रण गर्न नसक्ने खालका छन्,’ उनले भने। कडा घुराइका बिरामीले समयमा उपचार नगरे ज्यान जान पनि सक्ने उनको भनाइ छ।

घुर्नेसम्बन्धी कडा रोगका बिरामीलाई उच्च रक्तचाप, मधुमेह, भविष्यमा हृदयाघात, मस्तिष्काघात, अचानक सुतेको बेला मृत्यु हुने र प्यारालासिस हुने सम्भावना अन्य व्यक्तिभन्दा दुईदेखि तीन गुणा बढी हुने उनी बताउँछन्। ‘घुर्ने बिरामीमा राति श्वास र अक्सिजन रोकिने हुन्छ। कडा भएपछि अक्सिजन रोकिएपछि मुटुको चालमा गडबडी आउँछ। त्यसपछि अचानक हृदयघात, मृत्यु हुने जस्ता सम्भावना हुने गर्दछ,’ उनले भने।

गहिरो निद्राका लागि सुत्ने समय एउटै हुनुपर्दछ। सुत्नअघि चुरोट, मादकपदार्थ सेवन, कफीजस्ता वस्तुको सेवन गर्नु हुँदैन। ती पदार्थले हाम्रो मस्तिष्कलाई उत्तेजित बनाएर निद्रा लाग्न दिँदैन। यस्तै, सुत्ने कोठाको तापक्रम पनि मिलेको हुनु पर्दछ। तनावका कारणले पनि निद्रा नलाग्ने समस्या हुने चिकित्सकहरू बताउँछन्। -शरद शर्मा/रासस

प्रकाशित: २६ वैशाख २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast