प्रतिनिधिसभा सदस्य निर्वाचनमा रवि लामिछानेको दोस्रो र डा. स्वर्णिम वाग्लेको पहिलो जित निकै रोचक छ। तीन साताअघि सम्पन्न उक्त निर्वाचनलाई कतिपयले अभूतपूर्व भन्दै प्रशंसा गरिरहेका छन्।
निर्वाचनमा लामिछानेको पहिलोपटकको जित उनको विवादास्पद दोहोरो नागरिकताले सर्वोच्च अदालतले अयोग्य ठहर गरेको थियो। उनीमाथि जालझेल भएको भन्दै नागरिकले उनलाई चितवन २ मा पुनः निर्वाचित गरे। त्यो पनि पहिलेको भन्दा बढी मतसहित। उनको विजयलाई अदालतको निर्णयको बदलाका रूपमा बुझ्न सकिन्छ।
अर्कोतर्फ वाग्ले नेपाली कांग्रेसको नेतृत्वविरुद्ध विद्रोह गरेर बाहिर निस्केका हुन्। समाजमा शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार र अन्याय भएपछि सानो समूहले परिवर्तनका लागि विद्रोह वा क्रान्ति गर्न सक्छ भन्ने राजनीतिको एउटा सिद्धान्त छ। त्यसै सिद्धान्तका आधारमा क्यास्ट्रो र चे ग्वेराले क्युबामा सफल सशस्त्र क्रान्ति गरेका थिए।
नेपाल क्युबा हुँदै होइन। लामिछाने र वाग्ले क्यास्ट्रो र चे पनि होइनन्। नेपालमा अब सशस्त्र क्रान्तिको आवश्यकता पनि छैन। सशस्त्र क्रान्तिले परिस्थिति परिवर्तन गर्न सघाउँदैन भन्ने कुरा प्रमाणित भइसकेको छ। नेपाली नागरिकसमेत सडकमा साङ्ले जुलुससहित उत्रेर ल्याएको गणतन्त्र कसका लागि भन्ने प्रश्न उठिरहेको छ।
नक्कली कम्युनिस्ट मार्क्सवादी, लेनिनवादी र माओवादी करोडपति बनिसकेका छन् र बन्ने प्रक्रियामा पनि छन्। सामाजिक लोकतान्त्रिक कांग्रेस क्रोनी पुँजीवादमा परिणत भइरहेको छ। यही ढाँचामा अघि बढेमा नयाँ धनी वर्गको उदय हुनेछ। उनीहरूको क्रयशक्ति बढ्दै जानेछ। त्यसको प्रत्यक्ष असर सर्वसाधारणको जीवनयापनमा पर्छ। अहिल्यै उनीहरूको अवस्था दयनीय बन्दै गएको छ। जसका कारण समाजमा एक प्रकारको आक्रोश छ।
यही आक्रोशको बीचमा खेलेर वा ‘क्यास’ गरेर लामिछाने र वाग्लेले नेपालको राजनीतिमा कसरी परिवर्तन ल्याउन सक्लान्? सबैको चासोको विषय छ। त्यसका लागि उनीहरूका सामु प्रशस्त चुनौती त छँदै छन्। साथै सम्भावनाका असंख्य द्वारहरू पनि उत्तिकै छन्। केही गम्भीर भएर जिम्मेवारी पूरा गर्ने हो भने लामिछाने र डा. वाग्लेलाई स्थापित हुन धेरै समय नलाग्न सक्छ।
यसरी हुन सक्छ वैकल्पिक राजनीतिक धार
जब विचार पुराना हुन्छन्, पुनः परिभाषा चाहिन्छ। वैकल्पिक राजनीति भनेको राजनीतिक आख्यान परिवर्तन गरी जनताकेन्द्रित राजनीति पछ्याउन बाध्य पार्ने एक प्रक्रिया न हो। यसको सफलताको मापदण्ड चुनावमा निर्वाचित हुनु मात्र होइन।
चुनाव जित्नका लागि स्थानीय ज्ञान, संस्कृतिप्रतिको चासो, प्रतिनिधित्वलाई पुनः परिभाषित गर्ने क्षमता, वैज्ञानिक ज्ञानको अडान, स्थानीय बहुलवादी तहको आन्दोलनको रक्षा, प्रवद्र्धनजस्ता विषय आवश्यक पर्छन् । कतिपय अवस्थामा निर्वाचन लहडमा पनि जितिन्छ। पुराना राजनीतिक नेतत्व असफल भएको र आमनागरिकमा निराशा देखिँदा पनि जित हासिल हुनेछ। तर त्यो सबै क्षणिक हुन्छ। क्षणिक रूपमा आएको बहावलाई पनि आफ्नो पक्षमा ढाल्न सकिन्छ तर त्यसका लागि नयाँ पहलकदमी आवश्यक हुन्छ।
राजनीतिक नेतृत्व वर्गमा इमान, जमान, नैतिकता र पवित्रसेवा कसरी जागरण गर्ने? त्यो सोच हुनुपर्छ। वैकल्पिक राजनीतिक आन्दोलनका लागि समाजको कुन कित्ता, कुन वर्ग र कस्तो स्वार्थको प्रतिनिधित्व गर्ने भनी यकिन गर्न सक्नुपर्छ । लोकवाद (पपुलिजम) छोटो दृष्टिमा आकर्षक लाग्न सक्छ। तर यो दिगो राजनीति हुन सक्दैन। यसलाई उनीहरूले बेलैमा चिन्न सक्नुपर्छ।
सीधा माथिबाट उम्मेदवार लिँदा कालान्तरमा के असर पर्छ? वडावडामा संगठन बनाएर अघि बढ्दा एक प्रकारको दिगोपना आउन सक्छ। तर त्योभन्दा माथिल्लो तहमा रहेर त्यहीँबाट टपटप टिपेर फरकफरक निर्वाचन क्षेत्रमा लैजान हरेक पटक सम्भव हुन्न। यसरी सम्भव नहुने पाटोबाट प्रक्रिया अघि बढेको देखिन्छ।
शीर्ष नेताहरूले केन्द्रबाट उम्मेदवार मनोनयन गर्नुको सट्टा स्थानीय नगरपालिकामा जनताले आफ्नो एकाइ स्थापना गर्ने व्यवस्था होस्। त्यसपछि हरेक वर्ष पार्टीले राष्ट्रिय अधिवेशन गर्नुपर्छ। अनि त्यहाँबाट उम्मेदवार तय हुँदै आउनुपर्छ। त्यसरी नेतृत्व चयन खुला र लोकतान्त्रिक हुनुपर्छ। उम्मेदवार छनोट स्थानीय तहबाट हुनुपर्छ।
नीति निर्माणका पक्षमा सबैभन्दा ध्यान दिनुपर्छ। जसमा स्थानीय ज्ञान, संस्कृतिप्रतिको चासो, प्रतिनिधित्वलाई पुनः परिभाषित गर्ने, वैज्ञानिक ज्ञानको अडान, स्थानीय बहुलवादी तहको आन्दोलनको रक्षा र प्रवद्र्धन आदि विषय पर्छन्।
पार्टी कोष खुला र पारदर्शी हुनुपर्छ। जनतालाई भन्न सक्नुपर्छ- तपाईंले निश्चित समयभित्र के हासिल गर्न सक्नुहुन्छ? यसको आर्थिक लागत के हो र पैसा कहाँबाट आउँदैछ? आमनागरिकका लागि असम्भव बाचा गर्नु हुँदैन जसले स्वयं पार्टीको चिहान खन्न सक्छ। जति गर्न सकिन्छ त्यो मात्र आमनागरिकसँग बाचा गर्ने हो। त्यो भन्दा माथि गएर बाचा गर्दा नागरिकको नजरमा गिर्नुको विकल्प हुँदैन।
आफ्नो आर्थिक नीति स्पष्ट रूपमा व्याख्या गर्नुहोस्- गरिब वर्गको बढी ध्यान दिनुहुनेछ वा अर्थव्यवस्थाको निजीकरण? ‘ट्रिकल डाउन अर्थशास्त्रको’ मिथकलाई कसरी व्याख्या गर्नुहुन्छ? राजनीतिक भाषाको सही प्रयोग गर्नुपर्छ। लोकवाद अर्थात् रिझ्याइँले मात्र हुँदैन यसले केही सीमित समय सहयोग गर्ला अरू बाँकी हुन्छ।
कम्तीमा जनतालाई भन्नुहोस् कि एक साधारण नेपालीलाई उचित अवस्थामा बाँच्न कति खर्च लाग्छ र त्यो पैसा कहाँबाट आउँछ? वर्तमान अनिश्चितता र परिवर्तनका समयमा नेपालको व्यावहारिक परराष्ट्र नीतिको व्याख्या गर्नुहोस्। व्यक्तिपरक कथन प्रयोग गर्नुको सट्टा तथ्य र अंकको साथ बोल्न आवश्यक हुन्छ।
हो, समाजमा परिवर्तन अपरिहार्य छ। राम्रो नेतृत्वले राम्रो परिणाम दिन्छ नै अनि असल नेताहरूले जनता र राजनीतिबीचको सम्बन्ध बदल्छन्। नयाँ गठित दलहरू यो भूमिका निर्वाह गर्न लाग्नुपर्छ। तिनीहरूले जनता र राजनीतिज्ञबीच विश्वास सिर्जना वा पुनर्स्थापित गर्छन् वा गर्नुपर्छ। मानिसलाई परिवर्तनका लागि प्रेरित गरेको खण्डमा मात्र सहकार्य अघि बढ्छ अनि विकासको कदममा सफलता हात लाग्छ।
समाजमा बाचा पूरा गर्न र विश्वास सिर्जना गर्न गाह्रो छ। तर यो कठिन समयमा कुनै पनि नेता र राजनीतिक दलहरूका लागि सबैभन्दा इमानदारी राजनीतिक अभ्यास गरेर विश्वास जित्ने हो। आउँदै गरेको संकट देख्नुहुन्न भन्ने राजनीतिक चरित्रको व्यक्ति हुँदै होइन। संकट परिवर्तन गरेर खतरनाक हुरीमा पर्ने हो भने लामिछानेको पहिलो जित र आमनागरिकले गरेको पछिल्लो विश्वास हुरीसँगै जानेछ।
लामिछानेको पहिलो पटकको जित साँच्चै सानदार थियो भने दोस्रो पटक पनि कम थिएन। किनकि विवादास्पद दोहोरो नागरिकताले बदलाको निर्णय भएको भन्ने आमबुझाइ हुँदा त्यहाँ मत ओइरिएको हो। यसरी मत ओइरिँदा लामिछाने झन् बलियो भएर आएका छन्। यस्तै पहिलो पटक नै कांग्रेस गढ मानिने स्थानमा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले जित्नु भनेको पुरानासँग भन्दा युवासँग नयाँ सम्बन्ध र सम्पर्क छ भन्ने प्रमाण हो।
तनहुँको भोटको ‘प्याट्रन’ अध्ययन गर्दा कांग्रेस आफ्नो मतमा सही छ। एमालेले आफ्नो उम्मेदवारभन्दा कांग्रेस छोडेर स्वतन्त्र पार्टीमा गएकालाई मत ओइराइदिएको भनिन्छ। नयाँ पार्टीले पुरानो नेतृत्वप्रतिको आशा कम भएको भन्दै विद्रोह गर्दै आएको छ। विश्वमा अहिले सामाजिक सञ्जालको प्रयोग बढेको छ। नेपाल त्यसमा अछुतो छँदै छैन। जसले गर्दा यहाँ पनि कतिपय काम सामाजिक सञ्जालका कारण भएको छ। उपनिर्वाचनका दुवै उमेदवार सामाजिक सञ्जालमा सक्रिय भएको कतै छिप्दैन। सायद त्यहाँको डाटा लिएर त्यो अध्ययन पनि गरेको हुनुपर्छ। पहिले जस्तो भोज गरेर वा अन्य प्रलोभनमा होइन अहिलेको पुस्ता डाटामा चल्छन्।
कतिपय ह्विममा भएको होला तर पुरानो प्रचलन र नेतृत्वको पाराले वाक्कदिक्क बनेका आमनागरिकले आगामी निर्वाचनमा यस्ता दललाई झन् ठूलो झड्का नदेला भन्न सकिन्न।
पछिल्लो चरणमा नेपाली डायस्पोरा पनि नेपाल केन्द्रित हुन थालेको छ। जब समाजमा शक्तिको दुरुपयोग र अन्याय हुन्छ, विद्रोह वा क्रान्तिको सिद्धान्तका आधारमा सबैको ध्यान त्यसतर्फ खिच्छ र नयाँलाई मन पराउने चरित्र बाहिर ल्याउँछ। त्यो समय ‘युनिक’ मानिन्छ। कम्युनिस्ट पार्टीहरू ‘नक्कली’ बन्दै भएको र लोकतान्तिक समाजवादी कांग्रेसले पनि आफ्नो संकल्प छोडिरहँदा नयाँले स्थान पाउनु स्वाभाविक पनि हो।
यस्तो अवस्थामा कुनै एउटा सानो समूहले वास्तविक वा लोकप्रिय नारा दिएर राजनीतिक माहोल सिर्जना गर्न सक्छन्। त्यही खेतीमा नयाँ दल आएको छ। नेपालमा केही वर्षयता वैकल्पिक राजनीतिको भाष्य निर्माण भएको छ। धेरैले असफल प्रयास पनि गरेका छन्। जस्तै- बाबुराम भट्टराईदेखि उज्ज्वल थापा। केही वैकल्पिक राजनीति गर्ने नाममा पुरातनवादी पनि भएका छन्।
उपनिर्वाचनबाट आएका दुई जना सांसदले राजनीतिलाई कसरी प्रभावित गर्न सक्छन्? मुख्य विषय त उनीहरुको कन्साइन्स (विवेक) र इमानदारीमा भर पर्छ। त्यसको अभावमा उनीहरू पद्मरत्न तुलाधर र रूपचन्द्र विष्ट हुन पनि सक्छन्। (पञ्चायतकालमा उनीहरू क्रान्तिकारी भएर उदाएका थिए।) फरक यत्ति छ पहिलेका मजदुर मसल चलाउँथे, अहिले कम्युटर चलाउँछन्। आर्थिक व्यवस्था कसरी चलाउने भन्ने विषय पनि महत्त्वपूर्ण छ।
अहिले लामिछाने र वाग्लेलाई शंकाको सुविधा दिनुपर्छ। केही गर्छु भन्ने मानिसलाई प्रोत्साहन पनि गर्नुपर्छ। जे भएको छ सुरुवात राम्रो भएको छ। डा. वाग्लेका चाहिँ अर्थव्यवस्थाको निजी ट्रिकल डाउन बजार व्यवस्थामा कसरी व्याख्या गर्ने भन्ने महत्त्वपूर्ण छ।