किन संसद्‌मै अर्धनग्न बने अमरेश? [तस्बिरहरू]

हिमाल प्रेस २५ वैशाख २०८० १२:२३
944
SHARES
किन संसद्‌मै अर्धनग्न बने अमरेश? [तस्बिरहरू]

काठमाडौँ-  स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई भ्रष्टाचारका विषयमा बोल्न निदइएकाले संसद्‌मा अर्धनग्न भएर विरोध जनाएको बताएका छन्।  ‘मैले भ्रष्टाचारको कुरा उठाउन खोजेको थिएँ। तर बोल्न दिइएन,’ सिंहले हिमाल प्रेससँग भने, ‘यो विरोधको स्वरूप हो। मैले विरोधस्वरूप कपडा खोलेको हुँ।’

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले कपडा उतारेपछि सभामुख देवराज घिमिरेले कारबाहीको चेतावनी दिएका थिए। संसद्‌मा अमर्यादित व्यवहार देखाएको भन्दै सांसद सिंहको सदनमा पनि आलोचना हुन थालेको छ।

सिंहले भने, ‘सांसदले बोल्न नपाउनु भनेको अर्धनग्न संसद् हो’,  संसद्‌बाट बाहिर आएपछि उनले भने, ‘संसद्‌मा बसेर जनताको आवाज उठाउन सकिनँ भने के अर्थ रह्यो र?’

सांसद सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणबारेको अनुसन्धान निष्पक्ष ढंगले हुनुपर्ने र आफ्ना मान्छेलाई बचाउन नहुने बताए। शरणार्थी प्रकरणमा सत्ता पक्षका मानिस कोही फस्न नहुने प्रपञ्च चलिरहेको भन्दै आफूले विरोध जनाएको पनि प्रस्ट पारे। उनले भने, ‘करोडौँ तहको भ्रष्टाचार राजनीतिक संलग्नताबिना हुनै सक्दैन।’

उनले शरणार्थी प्रकरणमा मुछिएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले भूमिसुधार सचिव हुँदा गिरी बन्धु टी स्टेट प्रकरणमा पनि ठूलो भ्रष्टाचार गरेको आरोप लगाए। पाण्डे अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

सांसद सिंहले आफू पूरै नागिंएको नभई अर्धनग्न भएकाले कसैप्रति अममान र अमर्यादित व्यवहार नदेखाएको दाबी गरे। उनले भने, ‘म राजनीतिको विद्यार्थी हुँ। चार पटक सांसद भएको छु। मर्यादाबारे मलाई थाहा छ।’ उनले आफ्नो मानसिक सन्तुलन ठिक नभएको भनेर ‘गणतन्त्रका पम्फादेवी’ का केही झोलेहरूले आरोप लगाएको भनाइ राखे।

संसद्‍मा अमरेशकुमार सिंहले लुगा खोलेपछि‍…

सत्ता पक्षकै ठूलाठूला नेताहरू संलग्न भएको बयान दिन थालेपछि सरकारले प्रहरी र महान्यायाधिवक्तामार्फत बयान बदल्न लागि परेको उनको भनाइ छ।

सांसद सिंहले आफूलाई देशविदेशीबाट हत्याको थ्रेट भएको दाबी पनि गरे। सिंहले आफूलाई हत्याको थ्रेट आइरहेको विषयमा प्रधानमन्त्रीलाई पनि जानकारी गराइसकेको बताए। उनले यसबारे केही दिनमा पत्रकार सम्मेलन गरेर यसबारे स्पष्ट पार्ने पनि बताए।  उनले भने, ‘म नेपाली जनताको शक्तिमा विश्वास गर्छु। बाँकी समय नेपाली जनताका पक्षका लाग्छु। भ्रष्टाचारीमाथि कारबाही नभएसम्म म यसविरुद्ध लागिरहन्छु।’

उनले आफूले सभामुखलाई जानकारी गराएरै अर्धनग्न भएको जानकारी दिए।उनले भने, ‘मैले संसद् सुरु हुनुअघि नै यसबारे जानकारी गराएको थिएँ।’ उनले आफूले दुई मिनेट समय नपाउँदा विरोधको पराकाष्ठामा पुगेको दाबी पनि गरे। उनले भने, ‘म बिचौलियातन्त्रको विरुद्ध उभिएको छु। भ्रष्टाचारका विषयमा सदन पछि हट्न मिल्दैन।’

उनले अदालतले पनि भ्रष्टाचारको मुद्दा फैसलामा ढिलाइ गरिरहेको भन्दै आपत्ति जनाए। सिंहले आफ्नो निर्वाचन क्षेत्रका एउटा भ्रष्टाचार मुद्दा २०५८ देखि अहिलेसम्म फैसला हुन नसकेको बताए। उनले १० जना भ्रष्ट नेता र १० जना बिचौलियामाथि कारबाही हुने हो देशमा भ्रष्टाचार अन्त्य हुने दाबी गरे।

सभामुखको चेतावनीपछि  उनले लुगा लगाएका थिए। अहिले संसद्को नियमित गतिविधि सुरु भएको  थियो भने सांसद सिंह बाहिरिएका थिए।

 

तस्बिरहरू : दिपेश श्रेष्ठ/ हिमाल प्रेस

प्रकाशित: २५ वैशाख २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast