काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले लुगा फुकालेका छन्। उनले लुगा खोलेपछि सभामुख देवराज घिमिरेले चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा अनुशासित व्यवहार नदेखाएको भन्दै घिमिरेले चेतावनी दिएका हुन्।
सांसद सिंहले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ सम्बोधन गर्न पाउनुपर्ने माग गरेका थिए। तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले सर्ट र भित्री गन्जी खोली विरोध जनाएका हुन्। सभामुख घिमिरेले बैठक कार्य सञ्चालनसम्बन्धी नियमावली स्मरण गराउँदै बैठकको नियमित सञ्चालनका लागि सघाउन आग्रह गरेका थिए।
सोही क्रममा सांसद सिंहले लुगा फुकालेर विरोध जनाएका हुन्। सभामुखको चेतावनीपछि उनले लुगा लगाएका थिए। अहिले संसद्को नियमित गतिविधि सुरु भएको छ।