रोल्पा- रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन्। जिल्लाका रोल्पा नगरपालिका सहित सुनिल स्मृति, रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन्।
रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ। नगर प्रहरीमा एक प्रहरी हवल्दार रहेका छन् भने नौ प्रहरी जवान छन्।
जिल्ला सदरमुकाममा रहेको रोल्पाले ट्राफिक व्यवस्थापन, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा समेत नगर प्रहरी परिचालन हुने गर्दछन्।
जिल्लामा सबैभन्दा पहिला आफ्नै प्रहरी भर्ना गर्ने स्थानीय तह रुन्टीगढी गाउँपालिका हो। रुन्टीगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ। उसले एक जना प्रमुख नगर प्रहरी र आठ नगर प्रहरी पद सिर्जना गरी भर्ना गरेको हो।
नगर प्रहरी सुरक्षा र विकास गतिविधिमा परिचालन हुँदै आएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले जानकारी दिए। ‘शान्ति सुरक्षालाई चुस्त राख्नका साथै अन्य गतिविधिमा समेत नगर प्रहरी परिचालित हुन्छन्’, उनले भने।
जिल्लाको माडीले गाउँ प्रहरीको नाम दिएर आफ्नै प्रहरी भर्ना गरेको छ । उसले दुई महिलासहित सात गाउँ प्रहरी भर्ना गरेको हो। गाउँ प्रहरीमा एक प्रहरी सहायक निरीक्षक र छ प्रहरी जवान कार्यरत छन्।
त्यसैगरी सुनिलस्मृतिले नगर प्रहरी भर्ना गरेको छ। पाँच नगर प्रहरी भर्ना गरेको सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए। ट्राफिक व्यवस्थापन, बजार अनुगमन, शान्ति सुरक्षालाई चुस्त राख्नका समेत नगर प्रहरी परिचालित गरिएको उनले बताए।
रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने सुनिल स्मृति, रुन्टीगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन्।
स्थानीय तहले भर्ना गरेका प्रहरीलाई सलामी, पिटी परेट, भीड नियन्त्रण, रेक्यु, विपद व्यवस्थापन तथा उद्धार र सामान्य हतियार सञ्चालनसम्बन्धी एक महिनासम्मको तालिम सञ्चालन गरिएको थियो। प्रहरीलाई कार्यालय सञ्चालन, ‘चेन अफ कमाण्ड’लगायतका विषयमा समेत तालिम दिइएको थियो।
राजस्व संकलन, न्यायिक समितिलाई सहयोग, सरसफाइ, पर्यटन गाइड र कार्यालय सुरक्षाको लागि उनीहरूलाई परिचालन गर्ने सोच स्थानीय तहहरूको भनाइ छ।
नगर प्रहरीलाई सञ्चार सेट, खुकुरी र लट्ठीको सहायताले सुरक्षा दिने व्यवस्था मिलाइएको छ। स्थानीय तहहरूले भर्ना गरेको प्रहरीको खर्च व्यवस्थापन आन्तरिक स्रोतबाट हुँदै आएको छ । रोल्पामा एक नगरपालिकासहित दश स्थानीय तह रहेका छन् ।