फाइल तस्बिर: आजतक
झापा- नेपालकाे पूर्वीसीमा काँकडभिट्टाबाट ९ सय ७० किलोमिटर टाढा पूर्वमा रहेको भारतको मणिपुर राज्यमा जातीय दंगाले चरम रूप लिएको छ। ३ मेदेखि सुरु भएको जातीय दंगामा परी ५४ जनाको ज्यान गएको र हजारभन्दा बढी घाइते भएका भारीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
मणिपुरको स्थानीय रैथाने जाति कुकी र मैतेयीबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो। मणिपुरको प्रान्तीय राजधानी इम्फाललगायत प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कर्फ्यु लगाएको छ। दुई जातिबीच भड्किएको द्वन्द्वमा नेपाली भाषी भारतीय नागरिक सुरक्षित छन्। नेपाली भाषी हिंसामा नपरेको इम्फाल निवासी एसके विश्वकर्माले टेलिफोनमार्फत जानकारी दिए। ‘चौबिसै घण्टा कफ्र्यु लगाइएको छ, यहाँको सडकमा सुरक्षाकर्मीहरूले गस्ती गरिरहेका छन्,’ उनले भने, ‘हाम्रो नेपाली भाषी दाजुभाई, दिदीबहिनीहरू कोही पनि सडकमा निस्कनुभएको छैन।’
उनका अनुसार उत्तरपूर्वी भारतको पहाडी राज्य मणिपुरमा ५० हजारको संख्यामा नेपाली भाषीको बसोबास छ। उनीहरू अधिकांश खेतीपाती र केही व्यापार गर्छन्। थोरैले राज्यको जागीर पनि गरिरहेका छन्। नेपालबाट घुम्न वा आफन्त भेटघाटका लागि मणिपुर आउजाउ हुने गर्छ।
पूर्वीनाका काँकडभिट्टाबाट मणिपुरका लागि यातायातको टिकट काट्ने काम गर्दै आएको नेपाल यात्रु सेवाका सञ्चालक सुशील प्रधानले सीमावर्ती पानीट्यांकीबाट इम्फाल जाने कुनै पनि सवारी साधन नचलेको बताए।
उनका अनुसार भारतीय नाका पानीट्यांकीबाट आसामको राजधानी गुवाहाटी हुँदै र सिधै इम्फाल जाने यात्रुवाहक सवारी साधनको नियमित सेवा छ। साताको दुई पटकमात्र इम्फालका लागि पानीट्यांकीबाट यात्रुवाहक गाडी पाइने गरेको छ।
पूर्वोत्तर भारतको आसाम, मेघालय र नागालेन्डमा रोजगारी र घुमफीरका लागि नेपालीहरू जाने गर्छन्। तर, मणिपुर जानेको संख्या अत्यन्त न्यून हुने गरेको काँकडभिट्टास्थित ओम आशिष ट्राभल्सका सञ्चालक नेत्र कार्कीले बताए। मणिपुरको चारहजारे, कांगलतुम्बी, सेकमाईलगायत राजधानी इम्फालका केही बस्तीमा नेपालीको बाहुल्य छ।
काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले मणिपुरको हिंसाका कारण नेपालीहरू त्यहाँ अप्ठेरोमा परेको भन्ने कुनै जानकारी नआएको बताए।
नाकामा चेकजाँच हुँदा आधारकार्ड देखाएर भारतीय नागरिकहरूले नेपाल प्रवेश गर्न पाउँछन्। ‘चेकजाँचका क्रममा अहिलेसम्म कसैले पनि मणिपुरमा समस्या परेर आएको भनेका छैनन्,’ उनले भने, ‘भारतीय सीमावर्ती सुरक्षा निकायका प्रमुखहरूसँग पनि सम्पर्क भइरहेकै छ।’
मणिपुरको मैतेयी जातिले अनुसूचित मान्यतका लागि विगतदेखि नै माग गर्दै आएको थियो। गत १९ अप्रिलमा मणिपुर राज्य सरकारका नाममा आदेश जारी गर्दै मणिपुर उच्च अदालतले उनीहरूको माग जायज रहेको ठहर गरेको थियो। माग जायज रहेकाले अनुसूचित जातिको दर्जाका लागि केन्द्रिय जनजाति मामिला मन्त्रालयमा सिफारिस गर्न आदेशमा भनिएको थियो।
मैतेयी जातिको उक्त मागको कुकी जातिले विरोध गर्दै आएको थियो। सोही विषयमा दुई पक्षीय झडप चर्किएको हो। ३६ लाख जनसंख्या रहेको मणिपुरमा २८ लाख हाराहारी मैतेयी रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। राससको सहयोगमा



