
काठमाडौँ- चर्चित गीत ‘सिमसिमे पानीमा’को नयाँ अडियो र भिडियो सार्वजनिक गरिएको छ। २०४९ सालमा गायिका रेखा शाहले रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा गाइएको उक्त गीत प्रथम भएको थियो।
त्यसयता चर्चित रहेको गीत करिब तीन दशकपछि पुनः सार्वजनिक गरिएकाे हाे। तीन दशक पुगेको अवसरमै गीन पुनः सार्वजनिक गरिएको गायिका शाहले बताएकी छिन्।
मुम्बईस्थित यसराज स्टुडियोमा रेकर्ड गरिएको नयाँ अडियोमा रिकेश गुरुङ ‘कि’को संगीत संयोजन र उत्पादन छ। भारतीय सिनेमाका चर्चित गीतहरूको रेकर्डिङ र ध्वनि मुद्रण गर्ने विजय दयालले सिमसिमे पानीलाई नयाँ स्वरूपमा उतारेका छन्। ‘आधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ,’ गायिका शाहले भनिन्, ‘यसले मलाई थप हौसला प्रदान गरेको छ।’
सिमसिमे पानीमाको लयलाई सहनाईले ध्वनिमा उतारेको गीतले नयाँ स्वाद दिने उनको भनाइ छ। सो गीतका दुईवटा म्युजिक भिडियो पनि एकैसाथ सार्वजनिक गरिएको छ। गीतलाई कथानकसँग बुनेर बनाइएको भिडियोमा गायिका शाहले अभिनेता महेश त्रिपाठीसँग अभिनय गरेकी छिन्।
रुपेश थापाको छायांक्न र निर्देशन रहेको सो गीतमा मिलन विश्वकर्माको सम्पादन छ। नेपाली कलाकारिता क्षेत्रको एउटा कथालाई सो भिडियोमा प्रस्तुत गरिएको छ।