बराहक्षेत्र पुग्न दुइटा बाटा छन्। महेन्द्र राजमार्गको सुनसरी भएर जाँदा सुनसरी बजारभन्दा केही माथिबाट उत्तर लागेर जाँदा पुगिन्छ। त्यस्तै सिन्धुली-उदयपुर भएर जाने मदन भण्डारीमार्गबाट कोशी पुलसम्म पुगेर त्यहाँबाट पनि उत्तर लागेपछि बराहक्षेत्र पुग्न सकिन्छ।
बराहक्षेत्रलाई पहिलो तीर्थ भन्ने गरिन्छ। यहीँबाट सप्तकोशीको जलप्रवाह पहाडको फेदी हुँदै तराई प्रवेश गर्छ। पहाडको फेदीमा कोशी पुल बन्नुअघि यहाँसम्म पुग्ने विकल्प भनेको सुनसरीको इनरुवा भएर हिँड्नुमात्रै थियो। अहिले पहाडको फेदैमा अर्को पुल बनेपछि यात्रा सहज बनेको छ।
हामी सिन्धुलीको भिमानबाट पूर्व लागेर कटारी, उदयपुर हुँदै कोशी पुल पुगेका थियौँ। कोशीपुल कट्नेबित्तिकै कच्ची बाटो उत्तर लागेपछि केही किलोमिटर हिँड्दा बराहक्षेत्र पुगिन्छ। कोशीतटमा बराह गुफा छ भन्ने सूचनापाटी छ। तर हामी त्यहाँसम्म जान सकेनौँ।
बराहक्षेत्रमा बराहस्वरूप नारायणको मन्दिरसहित धर्मशाला र केही बस्ती पनि छन्। दुवैतर्फ पहाडको खोँचमा कोशीको विशाल जलभण्डार देखिन्छ।
नारायणको दर्शन गर्न र पितृश्राद्ध गर्न बराहक्षेत्रकोे तीर्थाटन गरिन्छ। कोशीको तटमा बालुवाले भरिएको खुला ठाउँ छ। श्रद्धालु सोही स्थानमा बसेर पितृकार्य गर्छन्। हामी कोशी तटमा पुग्दा केही श्रद्धालु पितृलाई कोशीको जलले तर्पण दिँदै थिए। श्राद्ध गर्दै थिए।
पूजा गर्दै दीप जलाएर मैले पनि कोशीमा बगाएँ। पितृको सम्झना गर्दै उनीहरूको मुक्तिको कामना गरेँ। मसँग गएका अरू साथीले भने जल स्पर्श गर्दै जलाभिषेकसहित प्रार्थना गरे।
केही नेता तथा विज्ञ कोशीमा जहाज चलाउन सकिन्छ भन्ने अभिव्यक्ति दिँदै थाक्दैनन्। तर कोशीको पुलबाट जलप्रवाहको स्तर र पानीको मात्रा हेर्दा ती कुरा कपोलकल्पित लागे। फोस्रा विद्वत्ताजस्तो लागे। सायद वर्षाको समयमा जलप्रवाह बढेर यस किसिमको सपना सम्भव भए बेग्लै कुरो हो। तर हिउँदमा कोशीमा पानीजहाज चलाउने कुरा सम्भवतः दिवासपनाजस्तो लाग्छ।
पानीजहाज भनेपछि यसमा केपी ओलीको ब्रान्ड स्थापित भएको छ। सफलता-असफलताको पूर्ण जस-अपजस उनकै हो। बराहक्षेत्रमा पुग्नेबित्तिकै एउटा मोटरबोटले हुत्तिएर कोशीमाथि रजाइँ गरिरहेको देख्यौँ। खासमा कोशीको पुलदेखि माथि मोटरबोट चल्ने रहेछ। मोटरबोट देखेर एक जना साथी लोभिए। जलयात्रा गर्न उनले हामीलाई राजी गराए।
एकजना यात्रुलाई त्रिवेणीसम्म पुर्याएर ल्याएको एक हजार रुपैयाँ लाग्ने रहेछ। यति गर्दा १५/२० मिनेट लाग्छ। चारजना यात्रु बोकेर २० मिनेटमा चार हजार रुपैयाँ कमाइ हुने धन्दा राम्रै लाग्यो।
एक साथीले सोधिहाले, ‘यो मोटरबोट किन्न कति पर्दो हो?’
‘यतै बसेर यही व्यवसाय गर्ने विचार छ कि क्या हो?’ मैले ठट्टा गरेँ। हामी मोटरबोट चढ्यौँ। जलयात्राको आनन्द लियौँ।
फर्किँदा एकजना साधु भेटिए। ‘ऐच्छिक गणितका शिक्षक थिएँ। राजनीतिले विरक्तिएका थिएँ’, उनले सन्न्यास लिनुका यी र यस्ता थुप्रै कारण बताए। गफ रुचाउने ती साधुले आफू रचित कविता पनि सुनाए।
छोटोमीठो होला भनेको त महाभारत नै रहेछ। उनीबाट छुट्टिएर नित्यपूजामा सरिक भइयो। घण्ट र भजनको तुमुल ध्वनिसहित।
मन्दिरभित्र प्रवेश गर्दा मात्र पुजारीले छोपेर राखेको मूर्ति देखाउँदा रहेछन्। भगवान्को मूर्ति किन आवरणले छोपेर राखिएको होला बुझ्न सकिएन। आवरणमा बराहको रूप प्रष्ट देखिन्थ्यो। भित्री मूर्तिको स्वरूप अवर्णित। सायद भगवान् यस्तै हुन्छन्, अवर्णित, अगोचर।
भगवान्को बराह रूपको दर्शन गर्दा अतुलनीय सन्तुष्टि प्राप्त भयो। नारायणका विभिन्न अवतारमध्ये बराह तेस्रो अवतार हो। मत्स्य र कुर्म पछिको बराह अवतार। यो फगत मनोगत धारणा नभएर तार्किक र विज्ञानसम्मत अभिमत पनि देखिन्छ। त्यसैले हामीले बराहक्षेत्र भ्रमण गरेर बराह रूपको दर्शन गर्नुपर्छ।
यही कोशीकै तटमा विश्वामित्रले तपस्या गरेको हुनाले यसलाई तपोभूमि पनि भनिन्छ। सनातनीहरूको पवित्र भूमि हो यो। विश्वामित्र गायत्रीमन्त्रका प्रवर्तक हुन्। यति कुरा नै कोशीको पवित्रताको बयान गर्न पर्याप्त छ। अतः यस्तो तपोस्थल, देवभूमि कोशीस्थित बराहक्षेत्रको दर्शन गरेर मन शान्त पारियो।