लुम्बिनी- मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रूपमा लुम्बिनीबाट शिशु बुद्व कपिलबस्तुको तिलौराकोट लगिएको छ। सिद्वार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गसहनगर प्राचीन कपिलबस्तु लगिएको थियो।
त्यही दिनको प्रतिकका रूपमा शनिबार लुम्बिनीबाट बोधिसत्व सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो। लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यलाई शिशु बुद्व (बोधिसत्व सिद्वार्थ)को धातुको मूर्ति हस्तान्तरण गरि प्राचीन तिलौराकोट दरबार पठाइएको हो।
बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्वलाई गृहनगर तिलौराकोट फर्कदाको क्षणलाई स्मरण गरि बोधिसत्व बुद्वको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।
बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलबस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएको बौद्व धर्मग्रन्थमा उल्लेख छ। कोषले २५६७ औं वुद्धजयन्तीको अवसरमा शिशु वुद्धलाई बाजागाजा सहित २६ किमिको भव्य शोभायात्रा निकालेको हो।
राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलबस्तु (तिलौराकोट) फर्किंदाको २६ सय वर्षअघिको क्षणलाई स्मरण गराउने कोसिस गरिएको परिषद सदस्य गोपिकृष्ण शर्माले बताए। लुम्बिनीदेखि लगिएको शिशु बुद्धलाई तिलौराकोट लगेपछि कार्यक्रम गरिनेछ।
बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत देवदह जाने इच्छा गरेकी थिइन्। रमणीय बगैंचा लुम्बिनी पुगेपछि डोेलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै सालको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन्।
यो खबरले तिलौराकोट, कपिलबस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिंगो कपिलबस्तु सहर सिँगारेर चिटिक्क पारिएको थियो।
सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौं गन्यमान्य रथमा बसेर कपिलबस्तु फर्किएकी थिइन्। त्यतिबेला कपिलबस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसियालीमा घरघरबाट स्वागत एवं दीपावली गरेका थिए। सिंगो कपिलवस्तुमा कैयौं दिनसम्म खुसी भएको स्मरण गर्दै रथयात्रा सुरु गरिएको हो।
भगवान शाक्यमुुनी बुद्ध ईपू ६२३ मा लुम्बिनीको सुुन्दर र पवित्र बगैँचामा माता मायादेवीको कोखबाट वैशाख शुक्लपूर्णिमाका दिन भएको थियो।
वुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्ध जयन्ती एंव लुम्बिनी दिवसका रूपमा मनाउँदै आएको छ ।