काठमाडौँ- इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा घर निर्माण गर्ने क्रममा चारजना मजदुरको ज्यान गएको छ। स्थानीय विनोद श्रेष्ठको घर निर्माणका लागि जग खन्दै गर्दा माथिबाट ढिस्को खस्दा पुरिएर चारजनाको मृत्यु भएको हो। मृतक सबै भारतीय नागरिक हुन्।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चारैजनाको ढिस्कोले पुरेर मृत्यु भएको जानकारी दिए। उनका अनुसार सूर्योदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरूलाई पुरेको थियो।
घर निर्माण पनि शुक्रबार नै सुरु गरिएको थियो। मृत्यु हुनेमा भारतको किसनगन्ज डिगल बैंकका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। घर निर्माणका ठेकेदार ममत अलामसहित चारजना भागेर बाँच्न सफल भएका छन्।
शव फिक्कल अस्पतालमा राखिएको छ। शनिबार पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।