
काठमाडौँ- भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ। रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा परेको हो।
‘सङ्क्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्छ, कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, ‘यहाँ स्थानीयभन्दा विदेशबाट आएका बिरामी बढी छन्।’
आर्थिक वर्ष ०७९/८० को तथ्याङ्कअनुसार कञ्चनपुरमा स्थानीय लामखुट्टेको टोकाइबाट औलो लागेको वा सरेका बिरामी ५ जना र देश बाहिरका जोखिमयुक्त क्षेत्रबाट औलो लागेर आएक बिरामीको संख्या १७ छ।
‘वैशाख–जेठमा बिरामी बढी देखापर्छन्, यो सङ्ख्या अझै बढ्न सक्छ,’ उनले भने, ‘औलो निवारण गर्न कीटनाशक झूल वितरण र विषादी छर्किंदैछौँ।’ सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य राखेको छ।
स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार आव ०७७/७८ मा १६ जना स्थानीय र ३१ जना विदेशबाट आएका गरेर ४७ जना तथा आव ०७८/७९ मा ६ जना स्थानीय र ३० जना विदेशबाट आएा बिरामी गरेर ३६ जनामा औलो सङ्क्रमण देखिएको थियो।
महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा भेटिने औलोका अधिकांश बिरामी भारतबाट फर्किएका हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले बताए।
‘भारतबाट काम गरेर फर्किनेहरुमा औलोको सङ्क्रमण धेरै छ,’ उनले भने, ‘अस्पतालमा परीक्षण गर्दा त्यस्ता मानिसमा औलो सङ्क्रमण देखिएको छ।’
औलोबाट कञ्चनपुरको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, बेलौरी, शुक्लाफाँटा र कृष्णपुर बढी प्रभावित छन्। स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो वर्ष सबैभन्दा बढी संक्रमण बेदकोटमा छ, भीमदत्तमा ५, कृष्णपुरमा ४, बेलौरी र दोधारा चाँदनीमा २/२, शुक्लाफाँटा र बेलडाँडीमा १/१ जना औलोका बिरामी फेला परेका छन्।
कीटनाशक झूल र विषादीको माग बढी भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको जनस्वास्थ्य अधिकृत पन्तले बताए। ‘प्राथमिकता निर्धारण गरेर कीटनाशक झूल र विषादी छर्किरहेका छौँ,’ उनले भने, ‘माग बढी भएकाले व्यवस्थापन गर्न गाह्रो छ।’
सुरुआतमा औलो प्रभावित भीमदत्त नगरपालिकाको बाराकुण्डा, ब्रह्मदेव, कृष्णपुर, बेलौरीलगायत केही ठाउँमा कीटनाशक झूल वितरण गरिनेछ। रासस