काठमाडौँ- सभामुख देवराज घिमिरेले उँभौली पर्वले भावी पुस्तालाई आफ्नो संस्कार, परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
उँभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले ‘नेपालको मौलिक संस्कृतिसहितको एक प्रमुख समुदाय किराँतहरूको उभौली पर्वले नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका छन्।
वसन्त ऋतुमा बालीनाली राम्रो होस् सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनेर उँभौली पर्व मनाउने गरिन्छ। किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ।
यो पर्व प्रत्येक वैशाख पूर्णिमाका दिन भव्य रूपमा मनाउने चलन छ। सन्देशमा भनिएको छ, ‘किराँत धर्मावलम्बीहरुको पवित्र एवं महान् उँभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’