उँभौलीले एकता थप बलियो बनाउने विश्वास छ : राष्ट्रपति पौडेल

हिमाल प्रेस २२ वैशाख २०८० ६:२६
2
SHARE
उँभौलीले एकता थप बलियो बनाउने विश्वास छ : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले उँभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धताको भावना थप सुदृढ पार्न अभिप्रेरित गर्दै सभ्य, समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।

शुभकामना सन्देशमा भनिएको छ, ‘किराँत समुदायको महान् पर्व उँभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’

सभामुख देवराज घिमिरेले उभौली पर्वले भावी पुस्तालाई आफ्नो संस्कार, परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले दिएको शुभकामना सन्देशमा उल्लेख छ, ‘नेपालको मौलिक संस्कृतिसहितको एक प्रमुख समुदाय किराँतहरूको उँभौली पर्वले नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस्।’

वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँत समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआऊन् भनेर भूमि, बाली र पितृ पूजा गर्ने गर्दछन्।

त्यसका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मिष्ठान्न परिकार खाएर आपसमा सुखशान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा छ। किराँत समुदायको बाहुल्य भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूमा यो पर्वलाई भव्य रूपमा मनाउने गरिन्छ।

प्रकाशित: २२ वैशाख २०८० ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast