चितवन- सौराहामा एक महिनाअघि हात्तीको सुँड काट्ने व्यक्ति अझै पक्राउ पर्न सकेका छैनन्। पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको हात्तीको सुँड गत चैत २१ गते राति काटिएको थियो।
राति साढे ११ बजे हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको थियो। घटनालगत्तै चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अनुसन्धान भइरहेको बताए। ‘मानिस पक्राउ परिसकेको छैन। अनुसन्धान भइरहेकाले थप केही भन्न मिल्दैन,’ उनले भने।
निकुञ्जले नेपाल प्रहरीलाई पत्राचार गरी सहयोगसमेत लिइरहेको छ। अभियुक्त पक्राउ पर्ने भन्दै तिवारीले घटनाका अभियुक्तलाई पक्राउ गरी कारबाही गरिने बताए।
व्यवसायी खतिवडाले निकुञ्जले अनुसन्धान गरिरहे पनि नतिजा नआएको बताए। उनका अनुसार हात्तीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। ‘पानी खान सकेको छ। घाँस टिप्न सकेको छैन। घाउ ७० प्रतिशत ठिक भएको छ,’ उनले भने।
पशु प्राविधिक किरण रिजालले निकुञ्जका पशु चिकित्सकको परामर्शमा हात्तीको उपचार गरिरहेको बताए। रासस