काठमाडौँ- नेकपा एमालेका सचिव तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दा गरेको प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ। बुधबार काठमाडौँ प्रहरीले जिल्ला अदालत काठमाडौँबाट उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
यसअघि आज (बुधबार) मात्रै यही प्रकरणमा मुछिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि पक्राउ गरिसकेको छ।
त्यस्तै यो प्रकरणमा इन्द्रजितका छोरा निरज र बादलका छोरा प्रतीकविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ।
प्रहरीले ललितपुर महानगरपालिका-२३ का वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।