खलंगा- दार्चुलाको व्याँस गाउँपालिका-१ बोलिंगमा हिमपहिरो गएको छ। मंगलबार दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा संकलन गर्न त्यहाँ बस्दै आएकाहरूका त्रिपाल पुरिएका छन्।
यार्सागुम्बा संकलन गर्न त्यहाँ बस्दै आएको त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीदत्त भट्टले जानकारी दिए। आफूहरूलाई उक्त जानकारी आए पनि पुष्टि नभएको उनको भनाइ छ। उनको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली घटनास्थलतर्फ गएको छ। ‘हाम्रो टोली पुग्न अझै एक घण्टा लाग्छ,’ उनले भने, ‘अनि मात्र घटनाको वास्तविकताबारे थाहा हुन्छ।’
हिमपहिरो गएको ठाउँमा आफूहरू गइरहेको डीएसपी भट्टले बताए। अक्सिजन अभावका कारण हिमपहिरो गएको ठाउँमा पुग्न समय लाग्ने उनको भनाइ थियो।
हिमपहिरो गएको ठाउँमा यार्सागुम्बा संकलक त्रिपाल हालेर बस्दै आएका थिए। अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा संकलक केही दिनयता त्रिपालमुनि बस्दै आएका छन्। ‘केही संकलक दाउरा खोज्न गएका भन्ने खबर पाएका छौँ,’ उनले भने, ‘उनीहरूले नै हिमपहिरोबारे खबर गरेपछि घटनाबारे थाहा पायौँ।’
यार्सागुम्बा संकलक स्थानीयबाहेक अन्य जिल्लाका पनि रहेको सूचना प्राप्त भएको उनको भनाइ छ। खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए।
संकलक केही दिनअघि यार्सागुम्बा संकलनका लागि लेकतर्फ उक्लिएका व्याँस–१ का वडाध्यक्ष अशोक बोहराले बताए। ‘लगातार हिउँ परिरहेको थियो, संकलक त्रिपालमुनि नै बस्दै आएका थिए,’ उनले भने, ‘यार्सागुम्बा संकलन गर्न जान सकिरहेका थिएनन।’
व्याँसस्थित सितापुलबाट समेत प्रहरी टोली घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। रासस