एमालेको केन्द्रीय कमिटी बैठक झापाको दमकमा बस्ने

हिमाल प्रेस १९ वैशाख २०८० ६:५५
4
SHARES
एमालेको केन्द्रीय कमिटी बैठक झापाको दमकमा बस्ने

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने भएको छ।

एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताए। उनका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्यालेसमा हुने र उद्घाटनसभा दमक पशुहाटको खुला मैदानमा गरिनेछ।

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते कार्यकर्ता भेलाबाटै बैठकको उद्घाटन गर्ने छन्। वैशाख २९ र ३० गते कश्मिक पार्टी प्यालेसमा बैठकको बन्दसत्र सञ्चालन हुने अध्यक्ष कार्कीले बताए।

बैठकमा सहभागी पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई बैठकपश्चात वैशाख ३१ गते सुखानीलगायत झापा र इलाम जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थलको अवलोकन गराइने कार्यक्रम रहेको जानकारी उनले दिए।

मुलुककै दोस्रो होचो स्थान कचनकबल, महाभारतकालीन किचकवधस्थल, झापा विद्रोहमा सहादत प्राप्त गरेको स्थल सुखानी, शहीद पार्क सालबारी, कन्यामलगायत स्थान अवलोकन भ्रमणको सूचीमा परेका छन्।

विसं २०४५ यता झापामा पहिलोपल्ट पार्टीको केन्द्रीय कमिटीको बैठक हुन लागेको जनाउँदै कार्कीले झापा बैठकले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्न योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

प्रकाशित: १९ वैशाख २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =