नेपाली कांग्रेसभित्र कुनै पनि गुटमा संलग्न नरहेर राजनीतिक घटनाक्रमको सूक्ष्म अवलोकन गरिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री एवं पूर्वराजदूत दीपकुमार उपाध्याय अचेल गाउँमै बस्न रुचाउँछन्। कुनै बेला पार्टीभित्र शेरबहादुर देउवालाई अन्याय भयो भनेर आवाज उठाउने उपाध्याय यति बेला सभापति देउवाको नेतृत्वशैलीप्रति त्यति सन्तुष्ट छैनन्। उपननिर्वाचनपछिको राजनीतिक अवस्थाका बारेमा हिमाल प्रेसले गरेको कुराकानी :
हिजोआज केमा व्यस्त हुनुहुन्छ?
म अचेल अधिकांश समय गाउँमा बिताउँछु। काठमाडौँ त कहिलेकाहीँ मात्रैँ आउँछु। गाउँमा पुर्खाको जिउनी छ। खेती कमाइ गर्छु। गाउँका मानिसलाई असहज परेमा गाँठो फुकाइदिन पहलकदमी गर्छु। जनताको सेवा गर्न राजनीतिमा ठूलो पद लिनुपर्छ भन्ने छैन। पटकपटक मन्त्री भइसकेको हुनाले पनि गाउँमा मेरो सबैसँग राम्रै उठबस छ। आवश्यक पर्दा सबैलाई सघाउने गरेको छु। यो वा त्यो पार्टी भनेर बसेको छैन।
राजनीतिलाई समाजसेवाका रूपमा लिनुपर्छ। कमाइ गर्ने भाँडोका रूपमा लिनु हुँदैन। राजनीतिमा लाग्नेहरूले आर्यघाट जाने बेलासम्म पनि पदमा रहेर कमिसन खाने सोच त राख्नै हुँदैन। अमेरिकामा राष्ट्रपति भइसकेकाहरू सामाजिक काममा संलग्न हुन्छन्। उनीहरू अकुत कमाएर राख्ने सोचबाट मुक्त छन्। हामी त अन्तिम बेलासम्म पनि पदमा रहनुपर्ने सोचबाट ग्रस्त छौँ।
अर्को कुरा, म बेथिति सुधारका पक्षमा छु। त्यसका लागि युवादेखि पाकासम्मको संगतमा छु। अब हामी संरक्षक बनेर युवालाई अघि बढाउनुपर्छ। युवाले पनि हतार नगरी परिस्थिति बुझेर एकपटकफेरि उत्साह ल्याउन लागिपर्नुपर्छ। पार्टीमा गुट निर्माण नगरी सहकार्य गरेर परिस्थितिसँग जुध्नुपर्छ।
तपाईँको घरपरिवारमा राजनीतिक बहस हुन छाडेको हो?
बहस बन्दै त भएको छैन। हामी राजनीतिक परिवारका सदस्य हौँ। सबै काम विधिअनुसार हुनुपर्छ। हामीकहाँ लोकतान्त्रिक अभ्यास भइसकेको छैन। हामी पनि भीडतन्त्रमा पुगिसकेका छौँ। नैतिक मूल्यमा ह्रास आयो भने कहिल्यै पनि समाधान गर्न सकिन्न। यतिबेला बल्ल नेतालाई करेन्ट लागेको छ। कांग्रेसमा मात्र होइन सबै राजनीतिक पार्टीहरूमा यो अवस्था छ। अहिले राजनीतिक कुराकानी सुन्न मानिस खासै रुचाउँदैनन्।
पार्टी राजनीतिको विगत फर्कंदा कस्तो लाग्छ?
विगतमा सबै जिम्मेवार रहन्थे। फट्याइँ गर्ने विरलै हुन्थे। कसै न कसैको डर थियो। अहिले जस्तो काम अरूलाई जिम्मा लगाउने होइन, त्यतिबेला जति सकिन्छ आफैँ गर्न लागिन्थ्यो। अहिले त हारेकाले पनि नेतृत्वलाई औँला देखाएर हिँड्न थालेका छन्। नेतृत्वमा लोभ र लालच बढेर गएको छ। यस्तालाई दैनिक पशुपति लगेर जलिरहेका शव देखाउन आवश्यक छ। अनि अर्को कुरा पहिले सबैले घरमूलीले भनेको मान्थे। अहिले चाहेर-नचाहेर पनि एक घरका कम्तीमा एकजना देशबाहिर छन्। मिडिया र प्रविधिको पहुँच बढ्दो छ। जसले गर्दा विदेशमा रहेका पनि चिन्तित छन्। ‘पुरानाले केही गरेनन्, नयाँलाई भोट दिनु है’ भनेर कल आउँदा उनीहरू पनि नयाँप्रति आकर्षित छन्। रवि लामिछाने त्यसको केन्द्रविन्दुमा परेका हुन्।
उपनिर्वाचन नतिजालाई कसरी लिनुभएको छ?
चितवन-२ र तनहुँ-१ को नतिजा अस्वाभाविक छैन। अस्वाभाविक त बारामा भयो। त्यहाँ पनि रास्वपा वा जनमतले जित्छ भन्ने अनुमान थियो। दुई क्षेत्रका जनताले भने राष्ट्रिय स्वतन्त्र पार्टीमा मत हालेर घण्टी बजाएका छन्। यसलाई मैले कांग्रेसभित्र बजेको खतराको घण्टी भन्ने गरेको छु। तर स्थापित दलहरूले त्यो घण्टी हाम्रा लागि बजेको हो भन्ने महसुस नगरेसम्म हामी कराएर केही हुँदैन। बेलैमा चेत खुलेन भने यो एकोहोरो शंखकै पूर्वअभ्यास पनि हुन सक्छ, विरासत बोकेका दलका लागि। व्यक्तिको राजनीतिक भविष्यभन्दा पनि पार्टी निर्माण लोकतन्त्रका लागि विशेष रहन्छ। सामाजिक क्षेत्र र सार्वजनिक जीवनमा महत्त्वाकांक्षा बोकेर राजनीति गर्ने नेता निकै माथि पुग्न सक्छन् यदि पार्टी निर्माण राम्रो भएमा। त्यसका लागि दल चयन महत्त्वपूर्ण हुन्छ भने नयाँ दल निर्माण पनि अर्को पक्ष हो। पछिल्लोपटक पुराना दलभित्र माथिसम्म निर्वाचनमा समेत गठबन्धन संस्कृतिले गर्दा आफ्नो राजनीतिक यात्रा कसरी अघि बढाउने भन्नेमा युवापुस्ता चिन्तित छन्। लोकतन्त्रमा विश्वास राख्ने दलमा लागेर माथि पुग्छु भन्ने सोचका साथ राजनीतिमा युवा आकर्षण हुन्छ। पहिलेझैँ यो वा त्यो संघर्ष भन्ने छैन। त्यही कारण उनीहरूले रास्वपा रोजेका हुन सक्छन्। विगतमा गगन/गगन दाइ भन्नेहरू रवि/रवि दाइ भन्न थाले। गगन वा गगन दाइहरूले यस्तो किन भइरहेको हो भनेर बुझ्न जरुरी छ।
शीर्ष नेताहरूले निर्वाचनमा आमनागरिकलाई दासझैँ व्यवहार गरेर बेवकुफ बनाउने काम गरेका छन्। तालमेल गर्ने भन्ने कुरा लोकतन्त्रको उपहास हो। यही उपहास हुँदा नयाँ शक्तिको उदय भएको छ। यसलाई कम आकलन गरेर नेतृत्व वर्ग सच्चिएनन् भने पुराना पार्टी इतिहास बन्नेछन्।
पुराना पार्टीबाट निराश भएपछि यस्तो लहर आएको भनेर चिन्ता गर्नेहरू पनि पनि छन्। यसलाई कसरी बुझ्ने?
पक्कै, चाहिने भन्दा बढी चिन्ता छ। नेतृत्वका लागि जो मुलुकको सेवामा सक्रिय छ ऊ बढी चिन्तित देखिन्छ। यो सामान्य लहड होइन। त्यसमा आममानिसदेखि धार्मिक क्षेत्रका व्यक्तिको प्रयास र संलग्नता छ। राष्ट्रिय स्वतन्त्र पार्टीमाथि इसाईकरण बढाउने काम गरेको आरोप पनि छ। यस विषयमा युवा जमातले बढी बुझेको होला। उनीहरूले पुराना दल खत्तम हुन् भन्ने गलत प्रचार गरिरहेका छन्। तर नयाँ दलका नेता पनि दूधले नुहाएका छैनन्। केही समय मन्त्रालय चलाउँदा गरेका कार्य आमनागरिकसामु आइसकेको छ। अझ बढी दिमाग हल्लाउने कुरा के छ भने नेपाली कांग्रेसमा कहिले पालो आउने-आउने बरु रवि दाइसँग लगेपछि अहिल्यै सांसद हुन्छु भन्दै गएका पनि छन्। यो अवसरवादको नयाँ रूप हो। कांग्रेस भनेर हिँड्नेहरूले कांग्रेसलाई भोट नदिनु अर्को निराशा हो। कतिपयले पार्टीमा आफ्नो भविष्य नदेखेपछि अर्को विकल्प खोजेकोे देखिन्छ। झट्ट हेर्दा र सोच्दा ठिकै पनि होला तर वास्तविकता बुझ्नुपर्छ। चितवनको परिणाम आएपछि पराजित भएका कांग्रेस उम्मेदवारले भने, ‘सच्चिने कि सक्किने?’ यो धारणा आफैँमा कत्तिको उपयुक्त छ? तपाईँ सच्चिनु नभए म पो सक्किने हो भन्ने शैलीमा उनी प्रस्तुत भएका छन्। यसबाट के देखिन्छ भने पार्टीमा नेतृत्व गरिरहेका व्यक्तिसमेत दोषजति अर्कालाई पन्छाउन व्यस्त छन्। अनि कसरी पार्टी बन्छ?
नेतृत्व सच्चिन सकेमा घण्टी समस्या होइन भन्न खोज्नुभएको हो?
व्यक्तिगत रूपमा त के भन्नु र! मलाई त मेरो पार्टीले पहिले नै घण्टी बजाइसकेको छ। त्यसैले म तटस्थ छु। कुनै गुटमा छैन। म कतै गएको छैन। पार्टीमा कैयन् निर्णय भए, निर्वाचन भए तर नेतृत्वबाट दीपको चाहना के छ, छिमेक पनि बुझेको छ छलफल गरौँ भनेर कसैले भनेन। भारततर्फको सम्बन्ध पार्टीपार्टीबीचको सम्बन्ध विस्तारमा समेत भूमिका हुन सक्थ्यो। तर ध्यान दिएनन्। यस्तो प्रवृत्ति नसच्चिँदासम्म नेपाली कांग्रेस कार्यकर्ताको विकल्प रास्वपा बनिसक्छ। म यस्तो खतरा देखिरहेको छु। भाँडो नबजेसम्म कत्तिको दरिलो भन्ने हुन्छ भन्ने हो। तर बजिसकेपछि त्यसमा चिन्ता गर्न थाल्नुपर्छ।
नेपाली कांग्रेसलाई बीपीले परिकल्पना गरेजस्तै बनाउने केले रोकेको छ?
कांग्रेसले आफ्नो सिद्धान्त छाडेर हिँडेको छ। बीपीको लयमा कांग्रेस छैन। त्यो लयमा फर्कने संकेत पनि देखिन्न। नेतृत्वले आफ्नो स्वार्थका लागि मिलेर सरकार बनाउने/चलाउने गरेकाले आगामी साढे चार वर्ष यस्तै अवस्था खेप्नुपर्ने हो कि भन्ने छ। मतदाताले छाप लगाएको ‘घण्टी’ कांग्रेस नेतृत्वको हृदयमा बजिसकेको छ। त्यसलाई महसुस गरेर यो मन्दिरको घण्टी होइन भन्ने बुझेमा सुधार होला। मन्दिरको घण्टीका रूपमा लिएर आफ्नो कारोबारमा लाग्ने हो भने नेताहरू त सकिन्छन् दललाई पनि सक्छन्। यही भएर अहिलेदेखि नै कुनै विकल्पमा छलफल आवश्यक छ। गडबडी मिलाएर अघि बढ्न सकेमा सहज हुने देखिन्छ। अन्यथा मुलुक सबै पक्षबाट असजिलोमा पर्नेछ।
पार्टीलाई यही नेतृत्वले बलियो बनाउने आधार के हो?
यही नेतृत्वले बाटो खोलेर पुरानो अवस्थाको राजनीतिक दलमा पुर्याउन सक्नुपर्छ। हामीले कुनै पनि व्यक्तिलाई कम आँक्नु हुँदैन। पार्टीमा लाग्छु समाजसेवा गर्छु भनेर कोही आउँछ र ऊ स्थापित हुन खोज्छ भने स्थान दिनुपर्छ। अस्वाभाविक गठबन्धन गरेर आमकार्यकर्तादेखि सबैलाई हतोत्साही गर्ने काम गरेपछि अर्को पार्टीमा जानुको विकल्प हुँदैन। पार्टीमा लाग्नेले पनि एउटा योजना बनाएको हुन्छ। यहाँबाट निर्वाचन लड्छु, यस्तो नेतृत्वदायी भूमिका निर्वाह गर्छु भन्ने हुन्छ। हामीले अग्रजको प्रतिबद्धता र चाहनालाई बोक्ने हो। कांग्रेस भनेर लागेकालाई अवसर दिँदै जानुपर्छ। अनि फेरि बीपीको सोचअनुरूपकै जस्तो पार्टी बनाउनेछौँ भनेर आमजनतामा जानुको विकल्प छैन। तर अहिलेको नेतृत्वले यस्तो गर्छ जस्तो लाग्दैन।
कांग्रेस नेताहरू मिलेर अघि बढ्छन् त?
उनीहरू मिलेर अघि बढ्न सक्दैनन्। आफ्नो स्वार्थका लागि मिल्न पनि सक्छन्। सुधार हुने र आफू सुध्रिने कुरामा नेतृत्वले ध्यान दिनुपर्छ। यहाँ पढेँ, यसो गरेँ, उसो गरेँ भनेर कसैले नजिक हुन खोज्छ भने त्यो व्यक्ति स्वार्थी हुन्छ। आदर्श त सबै सकियो। अहिले कांग्रेस जिरोमा पुग्यो। राजनीतिलाई तुरुन्तै फाइदा हुने व्यवसाय बनाएका शीर्ष नेताहरूले यसमा साँच्चै ध्यान दिनुपर्छ। राजनीतिक खेलमा पहिले नै हारजितको टुंगो लगाएजसरी नागरिकलाई बेवकुफ बनाउने नेता हुँदा समस्या आएको हो। यसमा कांग्रेस र एमाले गठबन्धनको पनि जिम्मेवारी छ।
यसरी नै चल्ने हो त अबको राजनीति?
यसरी त चल्दैन। किनकि यो लहड देखिए पनि यसको कमजोरी खोतल्नुपर्ने हुन्छ। नेपाली कांग्रेसको विशेष अधिवेशन बोलाएर दुई महामन्त्रीको समीक्षासहित काम गर्न आवश्यक छ। ठूला दलको कमजोरीमा टेकेर रास्वपा अघि बढेको छ। स्टन्टबाजी गर्नेहरूलाई ठूलो दल मान्नु भन्दा पनि परिस्थिति मूल्यांकन गरेर अघि बढ्न आवश्यक छ। किनकि निःशुल्क स्वास्थ्य, निःशुल्क शिक्षा कहाँ गयो? के स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच छ? छलफल गरेर कांग्रेसको गन्तव्य र पहिला गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ। कांग्रेसले छद्मशैलीमा होइन, सबैको अगाडि आफ्नो कार्य देखाउन आवश्यक छ।