माओवादी आन्दोलित नहुँदा स्यालहरू कराउन थाले : प्रचण्ड

हिमाल प्रेस १८ वैशाख २०८० १७:१६
4
SHARES
माओवादी आन्दोलित नहुँदा स्यालहरू कराउन थाले : प्रचण्ड

काठमाडौँ- माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी आन्दोलित नहुँदा स्यालहरू कराउन थालेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ महाधिवेशन उद्घाटन समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै यस्तो बताएका हुन्।

प्रचण्डले भने, ‘हामी नजाग्दा, हामी आन्दोलित नहुँदा, हामी नगर्जिँदा स्यालहरू कराउन थालेका छन्। स्यालहरूले रजाइँ गर्ने जस्तो गर्न थालेका छन्।’ उनले आफूले त्यस्तो प्रवृत्तिलाई छुट नदिने दाबी गरे। प्रधानमन्त्री दाहालले परिवर्तन उल्टयाउने गरी स्यालहरू कराउन थालेको भन्दै त्यसको प्रतिरोध गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले भने, ‘त्यसलाई छुट दिन सकिँदैन।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन बलिदानपूर्ण संघर्ष गर्नेमाथि अपमान गर्ने प्रयास भइरहेको आरोप लगाए। प्रधानमन्त्रीले बहिर्गमित लडाकुलाई दुई लाखका दरले राहत दिने निर्णय आफूले नगरेको पनि दोहोर्‍याए। अघिल्लो सरकार र सर्वोच्च अदालतको फैसलाअनुसार आफूले उनीहरूलाई राहत दिन लागे पनि स्याल हुइँया मच्चाउन खोजिएको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो युद्धमा त्याग र बलिदान गरेका सबै योद्धाहरूलाई सम्मानित गर्नुपर्छ। त्यसमाथि पनि मैले प्रधानमन्त्रीका रूपमा गरेको निर्णय होइन। सर्वोच्च अदालतले ती बहिर्गमित लडाकुलाई दुई लाख दिनू भनेर फैसला गरेपछि मैले त्यही फैसला कार्यान्वयन गर्दा अहिले स्याल हुइँया मच्चाउन खोजिएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =