मजदुर दिवसले स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् : प्रदेश प्रमुख शर्मा

हिमाल प्रेस १८ वैशाख २०८० १३:००
4
SHARES
मजदुर दिवसले स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् : प्रदेश प्रमुख शर्मा

काठमाडौँ- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको अन्तराष्ट्रिय मजदूर दिवसले संसारभरका सम्पूर्ण श्रमजीवीलाई एउटै सूत्रमा बाँधी आफ्नो हक, अधिकार र स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

प्रदेश प्रमुख शर्माले आज मनाइँदै गरिएको १३४औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनका साथै विभिन्न श्रमिक संघर्षमार्फत मजदुरले अधिकार पाएको दिनका रूपमा आजलाई लिइने गरिएको बताएका छन्।

नेपालको विराटनगरमा २००७ सालमा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको सन्दर्भ उल्लेख गर्दै प्रमुख शर्माले आफ्नो अधिकारका लागि लड्ने मजदूरको विशेष दिनलाई स्मरण गरिरहँदा उनीहरूले देश निर्माणका लागि पुर्‍याएको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बताएका छन्।

‘हाम्रो देश नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा लैजानका लागि श्रमिकको अमूल्य योगदान रहेको छ’, शुभकामना सन्देशमा भनिएको छ,‘नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चितता प्रदान गरेको छ।’

प्रमुख शर्माले शुभकामना सन्देशमा श्रमिकका अधिकारका सवालमा सबै पक्ष जिम्मेवार बन्नुुपर्नेमा जोड दिएको छ। सन्देशमा भनिएको छ, ‘आज यो दिवस मनाइरहँदा श्रमिकका लागि अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, क्षमताबमोजिम रोजगारीको ग्यारेन्टी, सामाजिक सुरक्षालगायतका अधिकार प्राप्त गरी अघि बढ्न सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्दछ।’

प्रकाशित: १८ वैशाख २०८० १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast