काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले महाकाली करिडोरको ट्रयाक खुलाउने कार्यले गति पाउने बताएका छन्।
नेता लेखकले विगतमा सरकारको उदासिनताका कारण निर्माणमा ढिलाइ भएको बताउँदै अब डेढ बर्षभित्र करिडोरको ट्रयाक खुलिसक्ने दाबी गरेका हुन्।
करिडोरको शून्य बिन्दु कञ्चनपुरको व्रह्मदेव क्षेत्रको खल्ला मसेट्टीमा आइतबार स्थलगत अनुगमन गर्ने क्रममा उनले रुख कटान अनुमतिकै कारण योजनाको काम विगतमा प्रभावित रहेको बताए।
अहिलेको सरकारले कञ्चनपुरदेखि दार्चुलासम्म नै करिडोरको ट्रयाक खुलाउन रुख कटान लगायत अरू कामको अनुमति दिइसकेको अवस्था रहेको भन्दै नेता लेखकले कञ्चनपुरबाट आउँदो दसैँमा डडेल्धुराको जोगबुढा क्षेत्रमा यही ट्रयाकबाट पुग्ने बताए।
महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले वन कार्यालयले रुखमा टाँचा लगाउन सुरु गरेसँगै काम अगाडि बढेको बताए। उनका अनुसार नेपाल–भारत र चीनसँग जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्रयाक खुलेको छ।
करिडोरअन्तर्गत ४२५ किलोमिटर ट्रयाकमध्ये केही भाग (दार्चुलामा) नेपाली सेनाले ट्रयाक खोलिरहेको छ। करिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य बेलबहादुर राना र मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा लगायतको सहभागिता थियो।