२०४८ यताका सबै भ्रष्टमाथि कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १८ वैशाख २०८० १६:५७ | Monday, May 1, 2023
२०४८ यताका सबै भ्रष्टमाथि कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०४८ सालयताका सबै भ्रष्टमाथि कारबाही गर्ने दाबी गरेका छन्। प्रधानमन्त्री दाहालले पार्टीको चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानबिन गरी ती भ्रष्टमाथि कारबाही गर्ने दाबी गरेका हुन्।

अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको आठौँ महाधिवेश उद्‌घाटन कार्यक्रममा प्रचण्डले भने, ‘हाम्रो निर्वाचन घोषणापत्रमा आयोग बनाएर २०४८ सालयताका सबै भ्रष्टमाथि छानबिन सुरु गर्नेछौं भनेर भनेका छौँ। म तपाईँहरुलाई भन्न चाहन्छु– छिट्टै त्यो आयोग बनाउनेतिर मेरो पहलकदमी हुनेछ।’

सबैभन्दा बढी भ्रष्टहरु नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको प्रचण्डले बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुंगुरमा फालिएकाहरु फेरि बाहिर निस्कने प्रयास गरेको आरोप लगाए।

उनले भने, ‘प्रत्येक भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइनेछ। तर यो सरकारले र यो पार्टीले भ्रष्टचारविरुद्ध पनि अलि कडा वक्तव्य दियो। कामको सुरुवात पनि सामाजिक न्याय, सुशासन र विकासलाई केन्द्रित गर्न थाल्यो भनेपछि इतिहासको कुँडाकर्कटमा मिल्काइएका सामन्तका छाउराहरु बाहिर आएको देख्नुभएको छ।’

प्रधानमन्त्री दाहालले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गरिरहेको दाबीसमेत गरे। उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट श्रमिकमुखी बनाउन आफूले विशेष ध्यान दिएको पनि बताए।

उत्पादन वृद्धि र रोजगारी सृष्टि हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने जानकारी प्रधानमन्त्रीले दिए। उनले भने, ‘आउने नीति, कार्यक्रम र बजेट श्रमिक जनसमुदायमुखी होस् भन्नेतिर मेरो ध्यान छ। मेरो पूरै ध्यान छ। उत्पादन वृद्धि र रोजगारी सृष्टिमा केन्द्रित होस् भन्ने मेरो ध्यान छ। म त्यहाँ लडाइँमा छु भन्ने बुझ्नु होला। म लडिराखेको छु, लड्छु।’

प्रकाशित: १८ वैशाख २०८० १६:५७ | Monday, May 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast