१० दिन मेलम्चीको पानी नआउने, उपत्यकामा पानी वितरणको तालिका फेरियो

हिमाल प्रेस १ जेठ २०८० १९:३१ | Monday, May 15, 2023
१० दिन मेलम्चीको पानी नआउने, उपत्यकामा पानी वितरणको तालिका फेरियो मेलम्ची खानेपानी आयोजनाको सुरुङ

काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म पानी नआउने जानकारी गराएको छ।

विभिन्न संरचनाहरू निर्माण तथा सुधारका काम गर्नुपर्ने भएकाले १० दिन आयोजनाको सुरुङबाट पानी पथान्तरण नहुने केयूकेएलले जानकारी गराएको हो। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केयूकेएलले १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द गरिने बताएको हो।

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले मेलम्ची खानेपानी विकास समितिले आयोजनाको अम्बाथानस्थिति हेडबक्सका गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडानलगायत संरचनाको निर्माण तथा सुधार कार्य गर्न लागेकाले सुरुङ बन्द गर्न लागिएको बताए।

वर्षा याममा हुनसक्ने सम्भवित प्राकृतिक प्रकोपका कारण आयोजनामा थप क्षति हुन नदिन विषम परिस्थितिबाहेक १२ महिना पानी सञ्चालन गर्ने उद्देश्यले समितिको रहेको उनको भनाइ थियो।

संरचना निर्माण तथा सुधारका काम सकिएपछि वर्षा याममा पनि आयोजनाको प्रतिकुल अवस्थाबाहेक अन्य अवस्थामा सुरुङबाट पानी आपूर्ति गर्नेगरी काम हुने आशा रहेको प्रवक्ता राईको भनाइ थियो।

सुरुङबाट पानी पथान्तरण बन्द हुने भएसँगै काठमाडौँ उपत्यकामा खानेपानी वितरणको तालिका पनि परिवर्तन हुने भएको छ। पानी वितरणको दिन अन्तर बढाएर तालिका हेरफेर गरिएको प्रवक्ता राईले बताए।

२०७९ मंसिरदेखि आजसम्म मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको निरन्तर पानी आपूर्तिले काठमाडौँबासीमा सहजता आएको थियो।

प्रकाशित: १ जेठ २०८० १९:३१ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast