हुम्लामा ‘लम्पी स्किन’ भयावह

हिमाल प्रेस २९ वैशाख २०८० ७:३८ | Friday, May 12, 2023
हुम्लामा ‘लम्पी स्किन’ भयावह फाइल तस्बिर।

हुम्ला- हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ ।

लम्पी स्किनको संक्रमणले पशु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताए। अहिलेसम्म यो रोगबाट जिल्लाको पाँचवटा गाउँपालिकामा एक सय २७ पशुवस्तु मरेका छन ।

सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकामा ६३ गाईगोरु मरेका छन् भने सिमकोटमा ४१, नाम्खा १०, अदानचुली १३ गाईगोरु मरेको निमित्त कार्यालय प्रमुख रोकायाले बताए। हाल लम्पी स्किन रोग जिल्लाभर महामारीका रूपमा फैलिएको उनले बताए।

हुम्ला जिल्लाभर लम्पी स्किन रोगबाट हालसम्म एक हजार छ सय ३९ वटा गाईगोरु संक्रमित भएका छन्। सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकाका किसानले पालेका नौ सय २० गाईगोरुमा यो संक्रमण देखिएको छ । संक्रमित पशुको शरीरका भागमा घाउ भएर पाक्ने, उच्च ज्वरो आउने लक्षण देखिएको रोकायाले बताए ।

यस्तै संक्रमण देखिएका एक हजार तीन सय ७० गाईगोरुको पशु अस्पताल तथा पशु सेवा कार्यालयले उपचार गरेको छ। लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको छ।

जिल्लाभर ४१ हजार चार गाईगोरु, तीन हजार दुई सय ३४ भैँसी, ४० हजार ४२ भेँडा, एक लाख ३८ हजार ९३ बाख्रा, चौँरी सात हजार दुई सय ४६ र एक हजार आठ सय २० कुखुरा प्रभावित छन्।

रोग नियन्त्रण बाहिर गइसकेको सिमकोट गाउँपालिका पशु शाखाका कर्मचारी विष्णु बुमीले बताए। हाल प्राथमिक उपचारदेखि औषधि प्रयोग गरिरहेको बताए । उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार भएको पाइँदैन । यो रोग निको पार्नेसम्बन्धी कुनै भ्याक्सिन नभएको बुमीले बताए।

पशुचौपायामा लम्पी स्किन रोग देखापरेपछि हुम्लाका किसान चिन्तित भएका छन्। रोगबाट पशुवस्तु बिरामी भएर मर्न थालेपछि चिन्तित भएको सिमकोट गाउँपालिका–२ का डाङ्स्या रावलले बताए।

यो रोग जिल्ला बाहिर सुर्खेत नेपालगञ्जबाट ल्याइएका दुई सय ४० वटा गाईमा पहिलो पटक देखापरेको थियो। ती गाई जिल्लाको दक्षिण अदानचुली, ताँजकोट हुँदै पैदल भएर सदरमुकाम सिमकोट ल्याइएको थियो।

प्रकाशित: २९ वैशाख २०८० ७:३८ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast