ललितपुर- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउने बताएका छन्। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सोमबार अनुगमन गर्दै मन्त्री मोदीले प्रतिष्ठान सक्षम र सबल बनाउने बताएका हुन्।
‘स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अहिले कमजोर छ। यसलाई बलियो बनाउनेबाहेक हामीसँग विकल्प छैन,’ उनले भने, ‘यो संस्थालाई बलियो बनाउनका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी राख्दैनौँ।’
मन्त्री मोदीले संस्था बलियो बनाउन प्रतिष्ठानका कर्मचारीहरूबीच बलियो एकता अनिवार्य शर्त भएको बताए। प्रतिष्ठानका कर्मचारीहरूले सकारात्मक सोच र दृष्ट्रिकोण राखेर कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो। संस्थाको हित र समुन्नती चाहेर दत्तचित्तका साथ काम गर्न समेत कर्मचारीहरूलाई मन्त्री मोदीले निर्देशन दिए।




