 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            जुबा- सुडानमा युद्धरत पक्षहरूले एक हप्ता युद्धविराम गर्ने सहमति गरेका छन्। बिहीबारदेखि लागू हुने गरी एक हप्ता युद्धविरामा गर्न दुई पक्षीय सहमति भएको हो।
दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन्। दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) प्रमुखले बिहीबार (४ मे)देखि युद्धविराम गर्न सहमत भएका हुन्।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएका छन्। दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसनिम्ति वार्ता अपरिहार्य भएको बताए।
उनले दुवै पक्षलाई वार्ताको मिति प्रस्ताव गर्न आग्रह गर्नाका साथै दुवै समूहलाई मान्य हुने वार्तास्थल निर्धारण गरिने जानकारी दिए। शीघ्र वार्ताका निम्ति प्रतिनिधिका नाम पठाउन पनि उनले आग्रह गरे।
व्यापार र विकासका लागि आठ अफ्रिकी देशको अन्तरसरकारी मञ्च (आईजीएडी)का प्रमुखसमेत रहेका दक्षिण सुडानका राष्ट्रपतिलाई युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याउन तथा युद्धविराम गराउन सम्बद्ध पक्षसँग वार्ता गर्न आईजीएडीले अधिकार प्रत्यायोजन गरेको थियो।
भीषण युद्धका कारण राजधानी खार्तुमलगायत सुडानको अवस्था भयावह बनेपछि आईजीएडीले युद्धविरामको पहल गरेको हो। रासस/एएनआई

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 